सभामुख घिमिरेसँग जर्मनीका सांसदहरूको भेट
काठमाडौं । सभामुख देवराज घिमिरेसँग जर्मनीको संसदको साउथ एसिया समूहका सदस्यहरू र नेपालका लागि जर्मनीका राजदूतले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित सभामुख कार्यालयमा भएको भेटमा दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध, नेपालको दिगो आर्थिक विकासलगायतका विषयमा छलफल भएको छ । भेटमा सभामुख घिमिरेले नेपाल र जर्मनीबीचको लामो कूटनीतिक सम्बन्ध र सन् २०१७ मा जर्मनीका उपसभामुखको नेपाल भ्रमण स्मरण गराएका थिए ।
नेपालको संक्रमणकालीन न्यायका केही विषय सम्बोधन गर्न बाँकी रहेको उल्लेख गर्दै उनले सो विषयलाई संसद्ले यथाशीघ्र टुंगोमा लगाउने बताए ।
जर्मनीका संसदको साउथ एसिया समूहका नेपाल भ्रमणमा रहनुभएको टोली नेता रिनाटे कुनास्टाले सभामुख घिमिरेलाई पदभार ग्रहण गरेकोमा शुभकामना दिँदै कार्यकाल सफलताको कामना गरेका थिए ।
उनले नेपालमै युवालाई रोजगार तथा आय आर्जनमा संलग्न गराउन सूचना प्रविधिको क्षेत्रमा व्यापक सम्भावना रहेको बताएको सभामुखको सचिवालयले जनाएको छ ।