citizens life insurance long ad
stcnepal long ad

काठमाडौं ५ मा प्रदीपको पक्षमा लहर सुरू

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको चुनावी लहर सुरू भएको छ। अहिले उम्मेदवारहरूले घरदैलो कार्यक्रम र नागरिकसँग उम्मेदवार कार्यक्रम गरिरहेका छन। यो कार्यक्रमसँगै नेपाली कांग्रेसका पक्षमा चुनावी लहर देखिन थालेको छ।

काठमाडौं क्षेत्र नं ५ मा नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघका पुर्व अध्यक्ष प्रदीप पौडेलका पक्षमा प्रारम्भिक जनलहर देखिएको छ।

प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ मा पहिलो प्रत्यासी पौडेल, दोस्रो नेकपा( एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बीच कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । पोखरेल एमालेका वरिष्ठ उपाध्यक्ष हुन् भने पौडेल कांग्रेसका केन्द्रीय सदस्य हुन् । पोखरेल यस क्षेत्रका निर्वाचित जनप्रतिनिधि हुन ।

गत बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको मत परिणामले पोखरेल यस क्षेत्रमा केही मतले बलियो अवस्थामा देखिन्छन् । तर, यी तथ्यलाई मात्रै आधार बनाएर पोखरेलेको जित सुनिश्चित भन्न सकिने अवस्था छैन । सत्ता गठबन्धन दल मिल्दा पौडेलको मत अगाडि हुन्छ।

आपूर्ति, रक्षा मन्त्री र उपप्रधानमन्त्री भैसकेका र यस क्षेत्रबाट निर्वाचित भएका पोखरेल यो निर्वाचनमा प्रश्न गर्ने ठाउँमा नभइ जवाफ दिने ठाउँमा छन् । त्यसैले पोखरेलको विगतमाथि प्रतिस्पर्धी उम्मेदवारले प्रश्न उठाउन थाली सकेका छन् ।

अर्कोतर्फ कांग्रेस उम्मेदवार पौडेल अहिलेसम्म संसदीय भूमिकामा पुगिसकेका छैनन् । त्यसैले सत्ता सञ्चालनको भूमिकामा उनले अवसर पाएकै छैनन् । पोखरेल परीक्षण भइसकेको व्यक्ति हुनु तर प्रदीप अहिलेसम्म कुनै विवादमा परेका छैनन ।

पोखरेलसँग राज्य सत्तामा बसेर काम गरेको लामो अनुभव छ । उनी २०५१ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार थिए । २०६१ सालमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए।

पोखरेल २०६९ मा उपप्रधानमन्त्री सहित परराष्ट्र, कृषि विकास र युवा तथा खेलकुद मन्त्री बनेका थिए । २०७४ को निर्वाचन पछि बनेको ओली नेतृत्वका सरकारमा उनी रक्षा मन्त्री थिए ।

पछिल्लो कार्यकालमा उनी नेपाल ट्रष्ट ऐन संशोधनको विवादमा तानिएका थिए। यसैगरि ‘कोभिड १९ रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति’मा प्रभावकारी नेतृत्व दिन नसकेको आरोप उनलाई लागेको छ । तर राजनीतिक आग्रहका आधारमा यी आरोप लागेको एमालेको गुनासो रहि आएको छ ।

पोखरेलकै बलमा कोभिड परीक्षणको ल्याब देशभर बनेका थिए । अमेरिका र युरोप कोभिडको चपेटामा पर्दा समेत नेपालमा तुलनात्मक रुपमा प्रभाव कम परेको उनको दाबी छ ।

पोखरलेकै बलमा नेपाल ट्रष्टको जग्गा अभिलेखिकरण सम्भव भएको उनको भनाइ छ । नेपाल ट्रष्टको सम्पत्ति देशभर कति थियो भन्ने एकिन थिएन । उहाँ मन्त्री हुँदा नै नेपाल ट्रष्टको सम्पत्ति यति छ भनेर थाहा भएको पोखरेलको दावी छ। अत्तोपत्तो नभएको सम्पत्तिको हामीले अभिलेखीकरण गरेको थियो ।

एमाले नेताहरुले पोखरेल विजयी हुने दाबी गरिरहेका छन। कांग्रेस पनि यस पटक यो क्षेत्रमा पौडेललाई जित निकाल्न अनुकूल भएको बताइरहेको छ ।

कांग्रेसमा प्रायस् हरेक जसो क्षेत्रमा गुटगत राजनीति हुने गरेको छ । तर, यहाँ सबै समूहले पौडेललाई साथ दिने अवस्था बनेको देखिन्छ ।

यो क्षेत्रमा अहिलेसम्म पौडेलले टिकट पाउँदा कोही असन्तुष्ट देखिएको छैनन्। सबै समूहकोे साथ पाउनु उनको सकारात्मक पक्ष हो ।

यो क्षेत्रमा यसपटक स्वतन्त्र उम्मेदवार धेरै छन । काठमाडौं ५ मा मात्रै विभिन्न दल र स्वतन्त्र गरि ३० जनाको उम्मेदवारी परेको छ । त्यसैले यी स्वतन्त्र उम्मेदवारहरु पोखरेल र पौडेलका लागि चुनौती बन्न सक्छन् ।

किनकि स्वतन्त्र भनिए पनि उम्मेदवारी घोषणा गरेका डा. प्रणयशमसेर राणा विगतमा कांग्रेसमा र सुशान्त श्रेष्ठ एमालेमा सक्रिय थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा गएर भाषण गरेको भन्दै राणालाई कांग्रेसले कारबाही गरेको थियो । यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्व भएर सो दलको घण्टी चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्दै छन् । विगतमा कांग्रेसमा रहेकाले उनले त्यही दलको मत बढी काट्ने विश्लेषण हुने गरेको छ ।

राणा यही क्षेत्रमा हुर्के बढेका हुन । धेरै समयदेखि यस क्षेत्रका समस्यामा उनी परिचित छन। राणा धेरै मतदाताकहाँ पुगिसकेका छन । सबैतिरको मत ल्याएर जित्ने उनको दावी छ।

तर, कांग्रेसका स्थानीय नेताहरु नयाँ अनुहारले तात्विक असर नगर्ने बताउँछन् । युवापुस्ताको लहर आइरहेको बेला कांग्रेसले यहाँ युवा नेता पौडेल नै अघि सारेकोले कांग्रेसको मत सहजै बढ्ने दाबी छ ।

युवाहरुको चाहना अनुसार उपयुक्त पात्र प्रदीप पौडेल दाई देखिएको मतदाताहरूको भनाई छ । शालिन र भिजन भएको व्यक्तिलाई कांग्रेसले उम्मेदवार बनाएको छ।

एमाले निकट सुशान्त श्रेष्ठले पनि यसै क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । ईश्वर पोखरेलले यहाँबाट जित्दै आएका छन, तर यस क्षेत्रका लागि पोखरेलले केही योगदान गरेका छैनन् ।

त्यसैले मलाई एमाले र कांग्रेस समर्थित सबैको मत आउँछ भनी जर्मनीबाट पढेर फर्केका आइटी विज्ञ श्रेष्ठले दावी गरिरहेका छन ।

स्वतन्त्रले केही मत काटे पनि पोखरेललाई हराउन नसक्ने एमाले नेताहूको दावी छ । अहिले स्वतन्त्र भनेर उठेकाहरु कुनै न कुनै दल छोडेर आएका हुन् । तिनको विगत सबैलाई थाहा छैन ।साँच्चै स्वतन्त्र कोही पनि छ‌ैनन।

स्वतन्त्रबाट उम्मेदवार बनेकी रञ्जु दर्शना न्यौपाने प्रचारमा लागेकी छन् । उनी जन्मेको, हुर्केको तथा अध्ययन गरेको क्षेत्र काठमाडौं ५ भएकोले उनका लागि यो क्षेत्र सहज भएको दावी छ। रञ्जु निर्वाचनका लागि नयाँ अनुहार पनि होइनन् ।

२०७४ मा उनी काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर २३ हजार ४ सय ३९ लोकप्रिय मत प्राप्त गरेकी थिइन । त्यसैले स्वतन्त्रले जित्ने अवस्था नभएको दाबी गर्दा गर्दै पनि स्थानीय एमाले र काग्रेस कार्यकर्ताको ध्यान रञ्जुतिर पनि गएकोछ ।

रञ्जु अन्य दलहरुका विरुद्धमा आरोप प्रत्यारोप नगरी आफ्ना चुनावी एजेण्डा सहित प्रचारमा लागेकी छिन। धेरै उम्मेदवारहरु हावा गफ गर्ने, एक अर्काको कुरा काट्ने गर्छन्।

तर रञ्जु साधारण परिवारको व्यक्ति निष्ठावान भएर काम गर्न आएको बताउछिन। उनले सबैले खोजेको र रोजेको आफू जस्तै नै उम्मेदवार भएको भन्दै मतदाताले आफ्नो एजेण्डा र प्रतिवद्धता दिएर भोट दिएर जिताउने बताउदै आएकी छिन ।

यसै क्षेत्रमा राप्रपाबाट प्रा. रामप्रसाद उप्रेतीले उम्मेदवारी दिएका छन् । उनलाई पनि राजावादी र हिन्दुराज्य पक्षधर जनताको समर्थन देखिन्छ। तर यश क्षेत्रमा राप्रपाको संगठन कमजोर रहेकाले राप्रपा का उम्मेदवारले चार अंकको मत ल्याउन कठिन हुने राजनीतिक विश्लेषकको भनाई छ।

२०५६ र २०७४ सालमा यस क्षेत्रबाट पोखरेल निर्वाचित भएका थिए । दुबै संविधानसभा निर्वाचनमा कांग्रेस नेता नरहरी आचार्यले जितका थिए ।

२०७४ सालमा पोखरेलले कांग्रेस नेता डा. प्रकाशशरण महतलाई पराजित गरेका थिए । पोखरेलले २३ हजार २९ मत पाउँदा डा।महतले १३ हजार १६९ मत पाएका थिए ।

गत बैशाख ३० गतेको स्थानीय तहको मतको आधारमा अहिले पनि यो क्षेत्रमा एमाले पहिलो शक्तिका रूपमा देखिएको छ ।

गठबन्धनका अन्य दलको मत जोड्दा समेत एमाले पहिलो बन्छ । स्थानीय तहमा एमालेले १९ हजार २२९ मत पाएको छ । कांग्रेसले १४ हजार ५३२, राप्रपाले २ हजार ७३९, एकीकृत समाजवादीले १ हजार ५५३, माओवादी केन्द्रले १ हजार १३९ मत पाएका थिए । तर अहिले कांग्रेसका युवा नेता पौडेलका पक्षमा माहोल बनेको छ। एमालेका उम्मेदवार पोखरेललाई हराउनु पर्छ भन्ने जनअभिमत देखिन थालेको छ।

काठमाडौं– ५ मा काठमाडौं महानगरको वडा नं २, ३, ४, ५, बूढानीलकण्ठ नगरपालिकाको वडा नं ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाको वडा नं २, ३, ४, ५, ६, ७ पर्छन् । प्रधानमन्त्री तथा पार्टी सभापति  शेरबहादुर देउवा, उपसभापति  पूर्ण बहादुर खडका,प्रवक्ता डा. प्रकाशशरण महत, पुर्व सहमहामन्त्री  तथा पुर्व अर्थ मन्त्री डा. राममशरण महतको  निजी निवास समेत यो क्षेत्रमा रहेको छ ।

IME Life
kumari