डा. शेखर सभापति र प्रकाश प्रधानमन्त्रीको भित्रि प्रस्ताव !
काठमाडौं । आगामी चार वर्षका लागि पार्टीको नेतृत्व हाँक्ने भनेर नेपाली कांग्रेसका ५ जना नेता शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ चुनावी मैदानमा उत्रिएका छन् ।
शेरबहादुर देउवा र विमलेन्द्र निधि संस्थापन पक्षबाट नै सभापतिको उम्मेद्वार बनेका छन् भने यसैगरी संस्थापना इतर पक्षबाट डा.शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको चुनावी मैदानमा छन् ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष कल्याण गुरुङ भने स्वतन्त्र हैसियतबाट सभापतिको उम्मेद्वारमा लडिराखेका छन् । उनले युवा र जनजातिको भोट काट्दा डा। शेखरलाई नोक्सान र देउवालाई फाईदा पुग्ने आंकलन गरिएको छ ।
१४औं महाधिवेशनको अन्तिम चरणमा आज मंसिर २७ गते विहान ९ बजेबाट नयाँ नेतृत्वको लागि मतदान शुरू हुनेछ । मतदान भृकुटीमण्डप,राष्ट्रिय सभागृह र महेन्द्र पुलिस क्लव तीन ठाँउमा हुने व्यवस्था मिलाईएको छ।
१३५ जनालाई मत दिनुपर्ने हुँदा मतदान गर्न ढिला हुने भएकाले तीन स्थानमा मतदान मिलाउने व्यवस्था गरिएको छ। नयाँ नेतृत्वको मामिलामा विगत ६ वर्षदेखि संस्थापना इतर पक्षको नेतृत्व रामचन्द्र पौडेलले गरिराखेका थिए ।
तर, नेतृत्व चयनको अन्तिम समयमा आइपुग्दा रामचन्द्र पौडेलले आफ्नो समूहलाई एक राख्न सकेनन् भने संस्थापन इतर पक्षको तर्फबाट आफू एकल उम्मेद्वार पनि बन्न सकेनन् ।
नेतृत्वको मामिलामा असफल सावित भएपछि नेता रामचन्द्र पौडेल सभापतिको मात्र होइन, केन्द्रीय सदस्यको उम्मेद्वारीबाटसमेत बाहिरिएका छन् ।
यसैगरी, संस्थापन इतर पक्षबाट सभापतिमा उम्मेद्वारी दिएर पार्टीको भावी नेतृत्व लिन भनेर तम्सिएका डा। शेखर कोइराला र प्रकाशमान सिंह कसैको पक्षमा पनि हिजो मंसिर २६ गते बेलुकासम्म नेता पौडेल खुलेका छैनन् ।
यसैगरी १३औं महाधिवेशनको क्रममा सभापतिमा अगाडि बढाउने भनेर शेरबहादुर देउवाले गरेको वाचा पालना नगरेको भन्दै उपसभापति विमलेन्द्र निधि सभापतिका लागि उम्मेद्वारी दिएर चुनावी मैदानमा उत्रिएका छन् ।
१३औं महाधिवेशनमा पूर्णरुपले सहयोग गरेका विमलेन्द्र निधिले नै विद्रोह गरेर सभापतिमा उम्मेद्वारी दिँदा शेरबहादुर देउवालाई मधेसका केही भोट घटेको छ ।
निधिको विद्रोहबाट पुगेको राजनीतिक हानीलाई शोधभर्ना गर्नका लागि शेरबहादुर देउवाले १३औं महाधिवेशनमा तेस्रो गुटको नेतृत्व गर्दै उदाएका कृष्णप्रसाद सिटौला पक्षकालाई महामन्त्री र सहमहामन्त्री पद दिएर आफ्नो पक्षमा पारेका छन् । देउवा प्यानलबाट सिटौलाले महामन्त्रीमा प्रदीप पौडेललाई र सहमहामन्त्रीमा उमाकान्त चौधरीलाई अगाडि बढाएका छन् ।
चुनावका लागि समर्थन प्राप्त गर्न सभापति देउवाले कृष्ण सिटौलासँग गरेको यो सहमतिप्रति भने देउवा निकटका महामन्त्रीका आकांक्षी विश्वप्रकाश शर्मा रुष्ट बनेर प्रकाशमान प्यानलमा पुगेका छन् ।
यसरी सभापति देउवासँग रुष्ट हुनेहरुमा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गृह मन्त्री बालकृष्ण खाँणसँगै एनपी साउद र रमेश लेखक समेत रहेका छन् । नयाँ पुस्ताका यी चार नेताको असन्तुष्टीले सभापतिको निर्वाचनमा शेरबहादुर देउवाको स्थितिमा के प्रभाव पार्छ भन्ने विश्लेषणको विषय मात्र रहेको छ ।
सभापति निर्वाचित भएर आगामी ४ वर्ष पार्टीको नेतृत्व गर्न ५ जना नेता चुनावी मैदानमा उत्रिरहदा देउवा र उनीसँग प्रतिस्पर्धा गरिराखेका बलिया उम्मेद्वारले भने आआफ्नो रणनीति बनाएका छन् ।
देउवा तथा उनी पक्षका अन्य नेताहरु पहिलो चरणमा नै देउवाले ५० प्रतिशत मत नघाएर दोस्रो चरणको निर्वाचन नहोस् भन्नेतिर आफ्नो रणनीति केन्द्रित गरेका छन् ।
सभापतिमा देउवासँग प्रतिस्पर्धामा उत्रिएका बलिया मानिएका डा.शेखर कोइराला, प्रकाशमान सिंह तथा विमलेन्द्र निधिको रणनीति भने पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई ५० प्रतिशत समर्थन कटाउन नदिने र दुई शीर्ष उम्मेद्वारका बीचमा दोस्रो चरणको निर्वाचन गराउने रहेको छ ।
नेपाली कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुनका लागि ५० प्रतिशत मत कटाउनु पर्दछ । यदि कुनै उम्मेद्वारले ५० प्रतिशत मत कटाउन नसके सबैभन्दा बढी मत ल्याउने दुई उम्मेद्वारका बीचमा दोस्रो चरणको निर्वाचन हुन्छ ।
पार्टी विधानको यही प्रावधानअनुसार आज हुने निर्वाचनको मतदानमा देउवालाई ५० प्रतिशत मत कटाउन नदिनेतिर अन्य उम्मेद्वारहरु कोइराला, निधि र सिंहको प्रयास समेत रहेको छ ।
पहिलो चरणमा देउवाले ५० प्रतिशत मत नघाउन नसकेर दोस्रो चरणको निर्वाचन हुने अवस्थामा कम मत ल्याएर बाहिरिनुपर्ने अवस्थामा पुगेका उम्मेद्वारले दोस्रो बढी मत ल्याउने नेतालाई समर्थन गर्ने समझदारी समेत भएको छ ।
देउवा पक्ष यही सहमतिले निर्वाचनको परिणाम विपक्षमा जानसक्ने विश्लेषण गरेर जसरी भएपनि पहिलो चरणमा नै ५० प्रतिशत मत नघाउने रणनीतिमा लागेको छ ।
१३औं महाधिवेशनमा गतिलो समर्थन दिएका विमलेन्द्र निधि स्वयं प्रतिस्पर्धामा उत्रिएका भएपनि यसको राजनीतिक शोधभर्ना लिनका लागि नै देउवाले महामन्त्री र सहमहामन्त्री दिएर कृष्ण सिटौलालाई आफ्नो पक्षमा पारेका छन् ।
सिटौलाको स्थिति निर्णायक बन्न थालेको विश्लेषण गरेर देउवाले सिटौलालाई बढी महत्व दिएको भनेर उनीनिकटका नेताहरु बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की तथा एनपी साउदहरु सभापति देउवासँग रुष्ट भएको स्थिति छ ।
चुनावी परिणामलाई विश्लेषण गर्नेहरु पहिलो चरणमा सिटौलाको समर्थन प्राप्त गरेको अवस्थामा उनका बलिया समर्थक विमलेन्द्र निधि स्वयम् प्रतिस्पर्धामा गएको स्थितिमा अवस्था बराबरीको विश्लेषण भएको छ ।
कांग्रेसमा सामेल भएका र देउवाको पक्षबाट नै उपसभापतिमा उम्मेद्वार रहेका विजय गच्छदारसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका सुनिल बहादुर थापाले कुनै पदाधिकारी पद नपाएका कारण असन्तुष्ट छन। यसले पनि सभापतिको निर्वाचनमा देउवाको स्थिति सुदृढ नरहेको रहेको बताइन्छ ।























