कांग्रेसमा देउवा–पौडेलको कडा टक्कर !
काठमाडौं । नेपाली कांग्रेसको ५२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ। सम्पन्न भएका जिल्ला अधिवेशनको नजिता हेर्दा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कडा टक्कर हुने देखिएको छ।
हिमाली जिल्लाहरूमा दसैंअघि र एक निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा गत मंसिर ६ देखि १० गतेसम्म र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा गत मंसिर १० देखि १२ गतेसम्म जिल्ला अधिवेशन भएको थियो।
प्रदेश २ का ८ जिल्ला, रसुवा, धनकुटा, बागलुङ लगायतका २५ जिल्लामा भने अझै जिल्ला अधिवेशन हुन सकेको छैन। कतै अधिवेशन स्थगन गरिएको छ भने कतै प्रदेश क्षेत्र र क्षेत्रीय अधिवेशन सम्पन्न भए पनि जिल्ला अधिवेशनका लागि समय अपुग हुने अवस्था देखिएको छ।
प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएर पनि जिल्ला अधिवेशन नहुँदा १४ ओैं महाधिवेशनलाई असर नहुने भएपनि जिल्ला नेतृत्व चयन नहुँदा कांग्रेस कार्यकर्ता खिन्न भएका छन। निर्वाचन समिति सदस्य जगन्नाथ श्रेष्ठले भने– ‘प्रदेश र क्षेत्रिय अधिवेशन हुँदासम्म जिल्लाको पनि सबै ठाउँमा अधिवेशनको प्रक्रियामा जान्छ होला। यद्यपि, अब हामी प्रदेश समिति निर्वाचनतिर फोकस भएका छौं।’
जिल्ला निर्वाचन अन्तर्गत मोरङमा भने पहिलो निर्वाचनमा सभापतिले ५१ प्रतिशत मत नल्याउदा सभापति पदमा दोस्रोपटक मतदान भएको छ । कांग्रेसमा जिल्ला,प्रदेश र केन्द्रीय सभापति जित्न ५१ प्रतिशत मत नल्याए दोस्रोपटक मतदान गर्नुपर्ने विधानमा व्यवस्था रहेको छ।
काठमाडौं कांग्रेसको जिल्ला सभापतिमा कृष्ण सबजु बानियाँले निर्वाचन जितेका छन्। बानियाँ यसअघि पनि काठमाडौं जिल्ला सभापति थिए। उनलाई कांग्रेसका वरिष्ठ केन्द्रीय सदस्य प्रकाशमान सिंह र युवा नेता गगन कुमार थापाको साथ रहेको थियो।
उनका निकटतम प्रतिस्पर्धी उपेन्द्र कार्कीले ८८६ मत अन्तरले पराजित हुन पुगेका छन। कार्कीलाई पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको सहयोग रहेको थियो।
उपसभापतिमा राजकुमार नकर्मी,गोकर्ण केसी,सचिवमा गोविन्द पुडासैनी, इन्द्र बहादुर थापा,सहसचिवमा प्रा।डा। अमिता प्रधान र रोमेल श्रेष्ठ निर्वाचित भएका छन। जिल्ला सदस्यहरूमा पनि अधिकांश बानियाँ समुहकै निर्वाचित भएका छन्।
काभ्रेमा पनि देउवा–सिटौला पक्ष मिलेको थियो। काभ्रे सभापतिमा तिर्थ लामाले जितेका छन। त्यहाँ पनि पदाधिकारी र सदस्यमा पुरै तिर्थ प्यानलले चुनाव जितेका छन्। झापामा प्रवक्ता विश्वप्रकाश शर्मा र सिटौला पक्षबीच चुनाव हुँदा सिटौला पक्षका नेता देउमान थेवेले सभापतिमा जितेका छन्।
झापामा विश्वप्रकाश एक्लै र बाँकी समूह सबै सिटौलातिर थियो। प्रदेश १ का इलाम, पाँचथर, ताप्लेजुङ र ओखलढुंगामा देउवा समूह र भोजपुर, संखुवासभा, खोटाङ र तेह्रथुममा पौडेल–कोइराला समूहका नेता सभापति निर्वाचित भएका छन् ।
वरिष्ठ नेता पौडेलको क्षेत्र गण्डकी प्रदेशमा स्याङ्जा, लमजुङ, मनाङ, म्याग्दी र पर्वतमा देउवा समूहका सभापति निर्वाचित भएका छन्। गोरखा र मुस्ताङमा पौडेल समूहले जितेको छ। कास्कीमा भने देउवा समूहले जितेको छ।
तनहुँमा पौडेल समूहका वैकुण्ठ न्यौपाने र देउवा समुहका जितप्रकाश आलेबीच प्रतिस्पर्धा भएको थियो। अन्ततः देउवा पक्षका नेता आलेले जितेका छन्।
बागलुङमा प्रदेश अधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुने भएको छ। लुम्बिनीमा भने पौडेल समूह अगाडि आएको छ। नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, प्यूठान र रोल्पामा पौडेल समूह तथा रूपन्देही र रुकुमपूर्वमा देउवा समूहबाट जिल्ला सभापति चुनिएका छन्।
५२ जिल्लाको नतिजा आउँदासम्म सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। सिटौला पक्षले भने झापामा एक सभापति मात्रै जितेका छन्। देउवाले २६ र पौडेल पक्षले २५ जिल्लामा सभापति जितेका छन् भने जाजरकोट सभापति कुनै पक्षतिर पनि खुल्न चाहेका छैनन्।
सर्वसम्मत भएका कतिपय जिल्लामा भने देउवा र पौडेल दुबै पक्षले आ–आफ्ना पक्षधरले जितेको दाबीसमेत गर्दै आएका छन्। १४औं महाधिवेशनमा कर्णालीका १० जिल्ला मध्ये ८ जिल्लामा देउवा समूहले जितेको छ भने २ जिल्लामा मात्र पौडेल समूह विजयी भएको छ।
निर्वाचन कार्यतालिका हेरफेर
प्रदेश अधिवेशनमा मंसिर १५ गते मनोनयन दर्ताको कार्यक्रम थियो। तर, यसलाई मंसिर १७ गते सारिएको छ। मंसिर १६ गते प्रदेश अधिवेशन उदघाटन हुने र त्यसको भोलिपल्ट मात्र मनोनयन दर्ताको कार्यक्रम रहेको निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठले बताएका छन्।
सोमबार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशन कार्यतालिकाको विषयमा निर्वाचन समितिसँग छलफल गरेका थिए। छलफलमा नेताहरूले महाधिवेशन उदघाटन हुनुअघि नै मनोनयन दर्ता गर्नु व्यवहारिक नभएको भन्दै संशोधन गर्न आग्रह गरेका थिए।त्यसपछि निर्वाचन समितिले महाधिवेशनको कार्यतालिकामा सामान्य संशोधन गरेको छ ।
जस अनुसार निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। शीर्ष नेताहरूसँगको परामर्शअनुसार महाधिवेशन उदघाटन पूर्व नै उम्मेदवारी दर्ता गर्ने योजना स्थगित गरिएको छ। कांग्रेस महाधिवेशन २४ मंसिरदेखि हुनेछ।
२४ गते नै मतदाता नामावली प्रकाशित हुनेछ भने उम्मेदवारी दर्ता २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ। दाबी विरोध लगायतका प्रक्रिया पूरा गरेर २६ गते साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुने जनाइएको छ। २७ गते बिहान ८ बजे मतदान हुनेछ। कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४–२७ सम्म काठमाडौंमा हुँदैछ।
सर्लाहीमा गोली नै चल्यो
सर्लाहीको बलारा नगरपालिकास्थित गडहियामा कांग्रेसको वडा अधिवेशनका क्रममा मतदान अधिकृतलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो। घटनामा ३ सुरक्षाकर्मी, १ मतदान अधिकृत र १ कांग्रेस कार्यकर्ता घाइते भएको निर्वाचन समितिले बताएको छ।























