राप्रपामा थापा हराउन चलखेल

काठमाडौं । २०७८ को मंसीर–पौष महिना महाधिवेशनमय भएको छ । ठूला दलहरू नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) सँगै पूर्वपञ्च सम्बद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि चुनावी चटारोले छोपेको छ । गत शनिवार र आइतवार नेपाल परिवार दलको महाधिवेशन सम्पन्न भइ नेतृत्व चयन र नीति पारित गरेको छ।
राजावादी र हिन्दुराज्य पक्षधर पुर्व पञ्चहरूको पार्टी राप्रपाले यही २०७८ मंसिर ११ देखि १३ सम्म महाधिवेशन मिति तय गरेकोमा कार्यसूची अनुसार काम नभएपछि एक साता पर यही मंसिर १६–१८ गतेका लागि महाधिवेशन मिति सारेको छ ।
यो मितिमा भने महाधिवेशन गर्ने भएको छ। काठमाडौं जिल्लामा आज मंसीर ६ गतेदेखि ८ गतेसम्म १० वटै क्षेत्रमा महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ। राप्रपाले हालसम्म ७६ जिल्लामा अधिवेशन सम्पन्न गरिसके पनि भक्तपुरमा आन्तरिक द्वन्द्वका कारण अधिवेशन हुन सकेको छैन । सातै प्रदेशको नयाँ नेतृत्व चयन टुंगिएको छ ।
राप्रपामा विगतमा चार खेमा देखिएका थिए– पशुपतिशमशेर राणा, कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र नयाँ शक्ति भनेर चिनिएका राजेन्द्र लिङ्देन–धवलशमशेर राणा समूह । यीमध्ये संगठानात्मक रूपले सबैभन्दा कमजोर डा.प्रकाशचन्द्र लोहनी समूह रहेकोमा महाधिवेशनको मिति नजिकिएसँगै यो समूह पशुपतिशमशेर तर्फ मिसिएको छ ।
राप्रपामा एक्लै अघि बढ्दा परिणाम अपेक्षित नआउने भयले डा. लोहनी राणा समूहमा अघोषित रूपमा विलय भएको छ ।
राप्रपाको जनाधार भएको युवा पुस्ता जसलाई सांसद राजेन्द्र लिङ्देन– नेपालगन्जका मेयर धवल शमसेर राणाले नेतृत्व गरिरहेका छन्। यो समूहलाई पनि पशुपति शमसेर कै जनाधार भएको अर्को उपसमुहका रूपमा राप्रपाभित्र लिने गरिएको छ । तथापि, यो समूह भने अलग्गै अस्तित्वका साथ महाधिवेशनमा होमिने व्यापक चर्चा रहेको छ ।
प्रारम्भमा राप्रपाको नयाँ जन्मिएको गुटको तर्फबाट धवलशमशेर राणा र राजेन्द्र लिङ्देन दुवैले अध्यक्षमा आकांक्षा देखाएका थिए ।
तर बाँकेका राणा पछाडि सरेर झापाका लिङ्देनलाई अगाडि सारेका छन् । यो समूहले भोली मंसिर ७ गते मंगलबार आफ्नो प्यानल उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेको छ । राप्रपाभित्र नयाँ शक्तिका रूपमा उदाएका र चिनिएका धवल शमसेर–लिङ्देन समूहले मंसिर ७ गते मंगलबार राजधानीको एलो प्यागोडा होटलमा आफ्नो उम्मेदवारी घोषणा गर्दैछ।
राप्रपाका हस्ती तथा प्रभावशाली नेता कमल थापालाई अध्यक्ष बन्न नदिने रणनीतिका साथ नाति जर्नेलको चलखेल भैरहेको छ। राप्रपाले ७७ जिल्लामध्ये एउटा भक्तपुरमा अधिवेशन गर्न सकेको छैन । राप्रपाको ७६ वटै जिल्ला कमिटीले नयाँ नेतृत्व पाएको छ । जिल्लामा निर्वाचित कतिपय अनुहार कुनै समूहमा नखुलेकाले दुवैले आ–आफ्नो दाबी गर्न थालेका छन् ।
अहिले जिल्ला नेतृत्वमा कमल थापा निकै कमजोर देखिएको चर्चा चलाइएको छ। तर थापा त्यति कमजोर नभएको देखिन्छ । पशुपति शमसेर समूहले ४२ जिल्लाको नेतृत्वमा जित हात पारेको दाबी गरिरहेको छ । बाँकी ३५ जिल्लामा २० मात्र थापा समूहको नेतृत्व आएको र नयाँ शक्ति धवल शमसेर( लिङदेल समुहले १० देखि १५ जिल्लामा पकड बनाएको राप्रपामा चर्चा हुने गरेको छ ।
नयाँ समूहको दूरी पशुपति शमसेरसँगै खासै टाढा छैन । त्यसैले यो खेमाले धवल शमसेर–लिङ्देल अन्तिमसम्म आफूतिरै ओत लाग्न आइपुग्ने पशुपती शमसेर राजाको आंकलन गरेको छ ।
राप्रपामा अहिले तीन धार भए पनि दुई धार (पशुपति र धवल शमसेर–लिङ्देन) को मुख्य मिसन कमल थापा हराउनु रहेको देखिन्छ ।
टार्गेट एकैतिर भएकाले अन्तिममा यी दुई मिल्ने र कमलका लागि महाधिवेशन महँगो पर्ने देखिने राप्रपाभित्र अहिले नेता–कार्यकर्ताले विश्लेषण गर्न थालेका छन् । पशुपति शमसेर,डा. लोहनी र धवल शमसेर– राजेन्द्र लिङदेल मिल्दा थापाले सजिलै हार्ने स्थिति देखिन्छ।