कांग्रेसको १४ ओैं महाधिवेशन मंसीर २४–२६ मा हुने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन २४, २५ र २६ मंसिरमा हुनेछ ।
केही जिल्लाका स्थानीय तहहरूमा क्रियाशील सदस्यता विवादका कारण अधिवेशन रोकिएको र केही आन्तरिक तयारी पनि गर्नुपरेका कारण पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन सिमितिलाई महाधिवेशन मिति संशोधन गर्न निर्देशन दिएका थिए । सोहीअनुसार हिजो निर्वाचन समितिले नयाँ तालिका सार्वजनिक गरेको हो ।
हिजो सार्वजनिक तालिकाअनुसार अधिवेशन रोकिएका १२ वटा जिल्लाका वडा तहको अधिवेशन आगामी २७ कात्तिक २७ गते हुनेछ भने गाउँरनगर अधिवेशन कात्तिक ३० गते हुनेछ ।
यसरी नै प्रदेशसभा क्षेत्रीय अधिवेशन मंसिर ३ गते, एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका प्रतिनिधिसभा क्षेत्रको अधिवेशन मंसिर ६ गते, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका प्रतिनिधिसभा क्षेत्रको अधिवेशन मंसिर १० गते हुनेछ ।
सोलुखुम्बू, दार्चुला र म्याग्दीको प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २७ गते र एक मात्र क्षेत्र भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मंसिर १ गते हुनेछ । उता जुम्लाको जिल्ला अधिवेशन मंसिर १ गते हुने केन्द्रीय निर्वाचन समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै विभिन्न ४६ वटा जिल्लाको प्रदेशसभा क्षेत्रीय अधिवेशन मंसिर ३ गते, एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका प्रतिनिधिसभा क्षेत्रको अधिवेशन मंसिर ६ गते, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका प्रतिनिधिसभा क्षेत्रको अधिवेशन मंसिर १० गते हुनेछ । रसुवा र रौतहटमा कायम विवाद समाधान भइ नसकेका कारण यी दुई जिल्लाको अधिवेशन मिति तोकिएको छैन । मंसिर १६ र १७ गते प्रदेश अधिवेशन गर्ने विज्ञप्तिमा उल्लेख छ ।