stcnepal long ad
global ime bank long

देउवा सरकारका सय दिनका उपलव्धीहरू

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ । यस अवधिमा पूर्ववर्ती सरकारले छाडेर गएको अन्यौलग्रस्त विसङ्गती र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीका साथ वर्तमान सरकारले मुख्य गरी विकास, शान्ति र सुव्यवस्था तथा सुशासन कायम गरी अघि बढ्नका लागि आधारशीला खडा गरेको महसुश गरिएको छ ।

यो अवधिमा सरकारले गरेका धेरै कार्यमध्ये कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उल्लेखनीय देखिएको छ । देउवा सरकारले आफ्नो प्रमुख प्राथमिकतामा राखेर कोरोनाको रोकथाम, नियन्त्रण र उपचार गरेपछि अहिले कोरोना सङ्क्रमण लगभग नियन्त्रणको चरणमा पुगेको छ ।

पछिल्लो तथ्याङ्कले कोरोना नियन्त्रण उन्मुख भएको पुष्टिसमेत गरेको छ । एकैदिन तीन लाख मात्रासम्म खोप लगाउन सक्नुलाई पनि सफलताको मापन मान्न सकिन्छ । अहिले चलयमान नागरिकले दुबै डोज खोप लगाइ सकेका छन। खोप लगाउने कार्य जारी छ। चीनसँग भर्खरै २० लाख डोज खोप खरिद गर्ने सहमति परराष्ट्र मन्त्री डा। नारायण खडकाले गरेका छन।

प्रतिनिधिसभामा विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री देउवाले नेपाली नागरिकलाई कोभिड–१९ को प्रकोपबाट जोगाउने सरकारको पहिलो प्राथमिकता हुने उदघोष गर्नुभएको थियो ।

सरकारले आगामी चैतसम्म खोप लगाउन योग्य सबै नेपाली नागरिकलाई खोप दिइसक्ने प्रतिबद्धतासमेत जनाएको छ । सरकारले १८ वर्षमुनिका बालबालिकालाई समेत खोप दिइने सुनिश्चितता गरेको छ ।

छोटो अवधिमै वर्तमान सरकारले सफल खोप कूटनीतिमार्फत एक करोड ५० लाख खोप व्यवस्थापन गर्नुका साथै लक्षित नागरिकमध्ये ३२.६ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएको छ ।

सरकारले सन्तुलित ‘नेपाल पहिला’ परराष्ट्र नीति, लगानीमैत्री वातावरणको सिर्जना, निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम, कोभिडको मारमा परेका उद्योगी–व्यवसायीलाई राहत प्याकेज, प्रभावकारी रुपमा कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन लगायत महत्वपूर्ण काम गरेको जनाइएको छ ।

यसैगरी चुस्त सुरक्षा व्यवस्था, प्रभावकारी रुपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि, स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार, विद्युतीय लाइन विस्तार तथा विद्युतको पहुँचमा वृद्धि, सडक तथा यातायातको पहुँच विस्तार, देशभर निःशुल्क कानूनी सहायता प्रदान गर्ने कानूनी मस्यौदा तयार लगायतका कार्यमा पनि सन्तोषजनक काम भएका छन् ।

वर्तमान सरकार गठन भएको छोटो समयमै सबै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिएको, विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको, सरकारी कागजातको ‘डिजिटल अर्काइभिङ’ सुरु गरिएको, दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि ‘डिस्टेन्स लर्निङ’को प्रक्रिया सुरु गरिएको छ ।

यस्तै क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक रु। पाँच हजार भत्ता दिने निर्णय, अतिविपन्न गरिब घर परिवारलाई प्रतिघर परिवार रु। दश हजारका दरले राहत दिने घोषणा, युवा विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा, साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही रु. पाँच लाख दिने घोषणालाई पनि वर्तमान सरकारका सकारात्मक कदमका रुपमा लिन सकिन्छ ।

कोरोनाको खोपसँगै अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई तुरुन्त जोखिम भत्ता उपलब्ध गराउने कदमलाई पनि सकारात्मक रुपमा लिन सकिन्छ । यो निर्णयले मुलुकभरका स्वास्थ्यकर्मीको मनोबल उच्च गराउने काम गरेको छ ।

कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनःरुत्थान गर्न सरकारले साझा न्यूनतम कार्यक्रममार्फत विशेष प्याकेज पनि सार्वजनिक गरिसकेको छ ।

सरकारले सीमित स्रोत, साधन र जनशक्तिले बाढी, पहिरो तथा डुबानमा परेका जनताको उद्धार, राहत तथा पुनः निर्माणमा गरेको काम, जनताको समृद्धिका लागि सरकारको साझा न्यूनतम कार्यक्रममार्फत अघि बढाएका कार्यक्रम र योजनाको कार्यान्वयन चरण, राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति महत्वपूर्ण कार्यक्रम हुन् ।

हाम्राभन्दा पनि योग्य र राम्रा मान्छे छानेर महत्वपूर्ण निकायमा नियुक्ति प्रक्रियाको थालनी भएको छ । सरकार गठनको प्रारम्भमै भएका त्यस्ता निर्णयले विकास एवं सुशासनका लागि जनमानसमा सकारात्मक सन्देश गएको छ ।

आन्दोलनमा घाइते भई यथोचित उपचार नपाएकाको उपचार व्यवस्था, अङ्गभङ्ग भएकालाई क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारीको व्यवस्था गर्ने योजना अघि बढेको छ ।

सङ्कटग्रस्त उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात जस्ता क्षेत्र र श्रमजीवी, विपन्न, बेरोजगार आदिको उत्थानका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था गर्ने कार्यक्रमले कोभिड सङ्कटले थला परेका बेला अर्थतन्त्रले सन्तोषको सास फेर्ने वातावरण सिर्जना भएको छ । कोरोनाबाट प्रभावित पेसा÷व्यवसाय र सर्वसाधारणका लागि कार्यक्रमअनुसार बजेट विनियोजन भइसकेको छ ।

युवा विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला पहिला’ कार्यक्रमसमेत घोषणा भएको छ । यो कार्यान्वयनमा आएपछि विद्यार्थी र महिलाका लागि उद्यमशीलताको ढोका खुल्ने मात्र होइन सँगसँगै आत्मनिर्भरता पनि वृद्धि गर्नेछ । यसरी नै अफगानिस्तानमा तालिवानको पुनरोदयपछि सङ्कटमा परेका आफ्ना नागरिकलाई समयमै सकुशल उद्धार गर्न सरकार सफल भएको छ ।

खासगरी विकास निर्माण र मुलुक समृद्धिको आधार तय गर्नुका साथै पूर्ववर्ती सरकारका गतिविधिले सङ्कटमा परेको संविधान, संसद् र लोकतन्त्रलाई सही ट्रयाकमा ल्याउनु नै यस सरकारको प्रमुख उपलब्धिका रुपमा लिन सकिन्छ ।

वर्तमान सरकारले आर्थिक कूटनीतिका माध्यमबाट नेपालमा खोप भित्र्याएको मात्र नभएर वैदेशिक लगानीका लागि पनि लगानीमैत्री वातावरण निर्माणको नीति लिएको छ । उता सन्तुलित र सफल परराष्ट्र नीतिका लागि सरकार अग्रसर भएको छ ।

जस्तो कि अघिल्लो सरकारका समयमा सहज बन्न नसकेको देखिएको नेपाल भारत सम्बन्धमा सुधारका प्रयास सरकारले थालेको छ । यसका लागि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमण होस् या भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणामा हालै नेपाली कांग्रेसका सहमहामन्त्री डा। प्रकाश शरण महतको नेतृत्वको तीन सदस्यीय नेपाली कांग्रेसको टोलीले भारतको भ्रमण गरेको विषयलाई पनि लिन सकिन्छ ।

परराष्ट्र मन्त्री डा। नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यी बीच मङ्गलबार मात्र द्विपक्षीय फोन वार्ता भएको छ । त्यस क्रममा नेपाल चीन सम्बन्धका धेरै आयामका साथै व्यापार र अन्य साझेदारीका विषयमा पनि कुराकानी भएको छ ।

यस लगत्तै हिजो नै चीनले नेपाललाई अनुदान स्वरुप कोरोना विरुद्धको २० लाख डोज खोप दिने प्रतिबद्धता सार्वजनिक गरेको छ । यसरी नेपाल सरकारले भारत र चीनसँग असल छिमेकी सम्बन्धका रुपमा अघि बढ्ने नीति अख्तियार गरेको छ ।

IME Lifesidebar
kumari