काठमाडौंमा नगर अधिवेशन १६ गते हुने
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति घोषणा गर्दै ६ पटकसम्म र स्थानीय तहको निर्वाचनको मिति तीन पटकसम्म सरिरहँदा आगामी मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्न चुनौति थपिएको छ। केन्द्रीय महाधिवेशन सरेर पौषमा पुग्न सक्ने भन्दै कांग्रेसका नेता( कार्यकर्ताहरूले चिन्ता गर्न थालेका छन।
पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले हिमाली क्षेत्रका २१ जिल्लामा स्थानीय तह, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिबेसन दशैं अघि नै गर्ने निर्णय गरेको छ।
बैठकले २ नम्वर प्रदेशका आठ जिल्ला र अन्य गरी १३ जिल्लामा देखिएको क्रियाशिल सदस्यता बिबाद समाधान भएपछि ति जिल्लामा अधिबेसनको मिति तोक्ने जिम्मा निर्वाचन समितिलाई दिएको छ।
बैठकले असोज ९ गते शनिबारदेखि ६४ जिल्लामा गाउँपालिका र नगरपालिकाको अधिवेशन गर्ने निर्णय गरेको छ। कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले २१ हिमाली जिल्लामा दशैं अघिनै जिल्ला अधिवेशन गर्ने वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा मात्र गाउँपालिका र नगरपालिका अधिवेशन गर्ने निर्णय गरेको बताएका छन्।
१३ जिल्लाको क्रियाशिल सदस्यता बिबाद टुंगो नलागेका कारण ति जिल्लामा भने वडा अधिवेशनको मिति समेत तोकिएको छैन। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलले क्रियाशील सदस्यता विवाद टुंग्याए पनि कार्यान्वयनमा भने सहमति नजुटेकाले क्रियाशिल सदस्यहरुको नामावली निर्वाचन आयोगमा उपलब्ध गराएको छैन।
१३ जिल्लाको सदस्यता फाइनल नभएको भन्दै पदाधिकारी बैठकमा गुनासो बढेपछि सभापति देउवाले गृह जिल्ला झापामा रहेका सिटौला र कार्यदलका अर्का सदस्य रमेश लेखकलाई काठमाडौं आउन आग्रह गरेका छन्। कार्यतालिका अनुसार अधिवेशनका कार्यक्रम नभएपछि मंसिर ९–१३ गतेका लागि निर्धारित केन्द्रीय महाधिवेशन प्रभावित हुनसक्ने आशंका कांग्रेस नेताहरुको छ ।
यसै बीच काठमाडौं जिल्लाका नगरपालिकाको अधिवेशन गर्न मतदाता नामावली तयार नभएको जनाउदै नेपाली कांग्रेस काठमाडौं जिल्ला निर्वाचन समितिले भोली असोज ९ गते तय गरिएको पालिका अधिवेशन असोज १६ गते गर्ने निर्णय गरेको छ।


























