कांग्रेस सभापतिद्वारा केन्द्रीय कार्यालय घेराउ
क्रियाशिल सदस्यता विवाद टुंगियो
काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ९ गतेदेखि हुने पार्टीको १४औं महाधिवेशन प्रयोजनको लागि देखिएको क्रियाशिल सदस्यता विवाद टुंगो लगाइएको भनिएपनि पूर्वनिर्धारित कार्यक्रम अनुसार भन्दै पार्टीका संस्थापक इतर केही जिल्ला सभापतिहरुले आज भदौं ८ गते मंगलबार बिहानदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका थिए।
पार्टी केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीले गठन गरेको क्रियाशिल सदस्यता छानबिन समितिले चार जिल्ला सहित कतिपय निर्वाचन क्षेत्रको बिबाद मिलाउने जिम्मा पार्टी केन्द्रलाई छाड्दै गत भदौ १२ गते प्रतिवेदन बुझाएको थियो ।
पार्टीमा देखिएको क्रियाशिल सदस्यता बिबादलाई टुंगो लगाउन पार्टी पदाधिकारी र शीर्ष नेताको बैठकले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक भएको कार्यदलले हिजो भदौं ७ गते सोमबार राति ९ बजे बिबाद समाधान गर्दै प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई बुझाए पनि केही जिल्ला सभापतिहरु भने मंगलबार पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिन गएका थिए।
उनीहरुले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्ने लगायत माग गरेका छन्।
कांग्रेसको संस्थापन इतर पक्षका जिल्ला सभापतिको सो धर्ना कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरु अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, रामकृष्ण यादव, कमला पन्त, गगनकुमार थापा लगायतले ऐक्यबद्धता जनाउँदै सम्बोधन गरेका थिए।
यसअघि यही भदौ ५ गते जिल्ला सभापतिका तर्फबाट काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले केन्द्रीय सभापति शेरबहादुर देउवालाई पत्र मार्फत क्रियाशिल सदस्यता बिबाद टुंगो लगाई क्रियाशिल सदस्यहरुको नाम वेभ साइडमा राख्नु पर्ने माग गरेका थिए।
सभापति देउवाले क्रियाशील सदस्यतामा हस्ताक्षर गरेलगत्तै सो प्रतिवेदन पार्टीको वेवसाइट मार्फत सार्वजनिक गरिने पार्टी कार्यालयले जनाएको छ ।
यधपी सो नामावली पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण भएपछि समितिले यही भदौ १८ गते हुने पार्टीको गाउँ र नगर वडा अधिवेशनका लागि भदौ १० गतेसम्म सबै जिल्लामा पुरयाइ सक्ने पनि समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिएका छन्।
पार्टीले गाउँ र नगर समितिको अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज ५ गते र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ।
भेलालाई संवोधन गर्दै नेता डा। शेखर कोइरालाले क्रियाशील सदस्यता वितरणमा देखिएको त्रुटि सच्याउन पनि पार्टी नेतृत्वले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न ढिलाई गर्न नहुने माग गरे।
युवा नेता गगन थापाले क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अधिकार पार्टीको सिंगो पंक्तिलाई रहेकाले पनि कांग्रेस नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाइ गर्न नहुने बताए।