देउवालाई सभापतिको जिम्मेवारी छाडन डा. कोइरालाको आग्रह
आमन्त्रित सदस्यको राजीनामा दिने चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई पार्टी सभापतिको जिम्मेवारी छोडेर सरकार सञ्चालनमा ध्यान दिन आज केन्द्रीय समिति बैठकमा आग्रह गरेका छन् ।
कांग्रेसमा सभापति व्यस्त हुँदा कार्यवाहक सभापतिको जिम्मेवारी वरिष्ठ नेतालाई दिने परम्परा इतिहासदेखि नै कायम रहेको भन्दै प्रधानमन्त्री देउवाले पुरा समय सरकार सञ्चालनतर्फ ध्यान दिनुपर्नेमा ७५ प्रतिशत समय पार्टीकै काममा खर्च भएको उनले बताएका छन् ।
यसरी सरकार सञ्चालन प्रभावकारी रुपमा हुनै नसक्ने उनको तर्क रहेको छ । देउवा निवास बुढानीलकण्ठमा आज दोस्रो दिन पनि जारी नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति वैठकमा केन्द्रीय सदस्य डा। कोइरालाले आफ्नो मन्तव्यका क्रममा उक्त कुरा बताएका हुन् ।
मन्तव्यको शुरुमै देउवा नेतृत्वमा गठित नयाँ सरकारलाई बधाई तथा सफलताको शुभकामना दिदै नेता डा. कोइरालाले २ महिनादेखि १५ वटा मन्त्रालय नेतृत्वबिहिन भएको बताउँदै यस्तो तालले सरकारले कसरी जनहितमा काम गर्न सक्छ तथा कसरी सुशासन दिन सक्छ रु भनी प्रश्न पनि गरेका छन् ।
संख्याका हिसाबले संसदमा नेपाली कांग्रेस अल्पमतमा छ तर पनि कांग्रेस यतिबेला गठबन्धन सरकारको नेतृत्व गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै नेता कोइरालाले सरकारका सामु धेरै चुनौतीहरु रहेको बताएका छन् ।
यतिबेला अन्तर्राष्ट्रिय परिस्थिति कांग्रेसको प्रतिकुल रहेको बिश्लेषण गर्दै उनले हाम्रा दुवै छिमेकी मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने कारणले पार्टीको सम्पुर्ण शक्ति सरकारलाई सफल बनाउन केन्द्रित हुनुपर्ने बताए ।
त्यसका लागि कांग्रेसमा एकता, सदभाव र मेलमिलापको वातावरण तयार गर्नुपर्ने बताउँदै उनले सभापति देउवाले पार्टी नेतृत्व कुनै वरिष्ठ नेतालाई सुम्पेर आफ्नो पुरा समय र शक्ति सरकार सञ्चालनमा लगाउनु पर्नेमा जोड दिएका छन् ।
प्रभावशाली नेता शेखर कोइरालाले कांग्रेस केन्द्रीय समिति वैठकमा आज राखेको भनाई जस्ताको तस्तैः
आज दुःख लागेको छ । सानेपाको कार्यालय छाडेर केन्द्रिय समिति बैठक यहाँ गर्दैछौं । पार्टी कार्यलयमा धर्नामा बसेका हाम्रै साथीहरु हुन । उनीहरुको माग हामीले सुन्नु पर्छ ।
१३ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य साथीहरू नै पार्टी कार्यालयमा धर्नामा बस्नु भएको थियो तर पार्टी अफिसमै बैठक बस्यो र साथीहरूको माग सुनुवाइ भयो । मेरो बिनम्र आग्रह छ कि अबदेखि हरेक केन्द्रीय समिति बैठक पार्टी अफिसमै राखौं ।
१, महाधिवेशन बारेः संविधान र कानुन हामीले नै बनाएको हौं । यहाँ हुनुभएका धेरै साथीहरू संविधानसभामा हुनुहुन्थ्यो । त्यसमा उल्लेख भएका र लेखिएका कुराहरुलाई कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले बिर्सन मिल्दैन ।
कांग्रेस पार्टी लोकतन्त्रको पाठशाला पनि हो । पदाधिकारी र पुर्व पदाधिकारीले महाधिवेशनको टुङ्गो लगाउनुहोला भनेर केन्द्रीय सदस्यहरु कुरेर बस्यौं तर उहाँहरुमा ईच्छाशक्ति देखिएन ।
२, क्रियाशील सदस्यता बारेः(तल्लो तहबाट विधान र प्रक्रियागत ढङ्गले आएका तथा छानविन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधिविधान विपरित थपिएका क्रियाशील सदस्यता र पार्टी समायोजनका नाममा प्रक्रिया नपुर्याई वितरण गरिएका सदस्यताले जटिलता उत्पन्न गरेको हो ।
नेतृत्व र क्रियाशील छानविन समितिले क्रियाशील सदस्यतामा धेरै समस्या छैन भनेर भनिसकेकोले यसमा अल्झिन आवश्यक छैन । जुन–जुन स्थानमा समस्या छ त्यहाँ १३ औं महाअधिवेशनकै क्रियाशील सदस्यहरुलाई आधार मानेर अधिवेशनमा जाऔं ।
३. निर्देशिका बारेः( गत निर्वाचनमा बिद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकको नाम क्रियाशील सदस्यता नवीकरणमा समावेश भएको हुनसक्छ ।
त्यसलाई हटाउने व्यवस्था निर्देशिकामा गरिनुपर्छ भनेर क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले कुरा राखिसक्नु भएको छ । कतिपय स्थानमा पार्टीका आधिकारिक उम्मेदवारहरुकै नवीकरण छुटेको छ ।
नवीकरण छुटेकाको हकमा १३औं महाधिवेशनको कार्ड लिएर आएमा महाधिवेशन प्रक्रियामा सहभागी हुन दिने व्यवस्था निर्देशिकामा राख्नुपर्छ ।
अहिले पनि केही पदाधिकारी एवं जिम्मेवार नेताहरुबाट विशेष महाधिवेशन अथवा यही कार्यसमितिलाई अरु डेढ दुई बर्ष समय थप्ने कुरा सुनिदैछ । कुनैपनि केन्द्रीय सदस्यले यस्तो कुरा गरेका छैनन् ।
पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन । विशेष महाधिवेशन र म्याद थप्ने कुरा कदापि मान्य हुँदैन । क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुनै सक्दैन ।
पटक–पटक हामीले कार्यतालिका बनायौं तर क्रियाशील सदस्यताको विवादले कार्यतालिका प्रभावित भयो, यो पटक त्यस्तो नहोस् । छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुङ्याएर डेढरदुई महिना भित्र महाधिवेशन सम्पन्न गरिनुपर्छ । नेपाली कांग्रेसको अधिवेशन हाम्रो नेतृत्व चयनको मात्र विषय होइन ।
यो मुलुकको भविष्य अब कता र कसरी जान्छ भनी निर्धारण गर्ने यो महाधिवेशनले नै हो । यसमा देशबासीको चासो र चिन्ता त छ नै , अन्तर्राष्ट्रिय समुदायको पनि हामीप्रति दृष्टि छ । तसर्थ कांग्रेसको १४ औं महाधिवेशनको संघारमा हामीले एकताबद्ध भएर हामीप्रति भरोसा र विश्वास गर्नेको मन जित्न सके नेपालमा लोकतन्त्रको भविष्य सुन्दर हुनेछ ।
यसैबीच नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । साउन २९ गते शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको चेतावनी दिएका छन् ।
पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै उनीहरुले सामूहिक राजीनामाको चेतावनी दिएका हुन् ।
आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलले आफूहरुका माग पुरा नभए राजीनामा दिने चेतावनी दिएका छन् ।
नेपाली कांग्रेसका केन्द्र, जिल्ला, क्षेत्रका लागि स्वतः प्रतिनिधि हुन पाउने व्यवस्था लागु गर्नुपर्यो भनेर आमन्त्रित केन्द्रीय सदस्यहरूले कुरा गरेका छन् । त्यो लागु भएन भने उनीहरूले सामुहिक राजीनामा दिने भनेका छन् ।
कांग्रेसमा नन्दनकुमार दत्त, कुमार खड्का, बालकृष्ण पाण्डेय, आनन्द गोरख विष्ट, नरेन्द्रकुमार चौधरी, हसन अन्सारी, किरणराज शर्मा पौडेल, रमा कोइराला पौडेल, कृष्णकिशोर घिमिरे, गोपालकुमार बस्नेत, सुधीरकुमार शिवाकोटी र मनोहरनारायण श्रेष्ठ आमन्त्रित केन्द्रीय सदस्य छन् ।
यस्तै ध्रुव वाग्ले , मोहनसिंह राठौर, शम्भुलाल श्रेष्ठ,अभिषेख प्रताप शाह, दयाराम पाण्डे, जनकराज कलौनी, भूमिबहादुर गुरुङ, दिलीप राई, आशाराम चौधरी र राजेन्द्रबहादुर सिंह गरी कांग्रेसमा २२ जना आमन्त्रित केन्द्रीय सदस्य छन् ।