बेदुरामले छाडे एमाले
काठमाडौ । नेकपा (एमाले) का नेता तथा राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन्।
भुसालले असार १३ गते आइतबार यसबारे जानकारी दिँदै संसद सचिवालयमा पत्र नै दर्ता गराएका छन्। संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेखेर भुसालले आफूलाई स्वतन्त्र सांसदको रुपमा ब्यबहार गर्न आग्रह गरेका छन्। भुसाल एमाले बरिष्ठ नेता माधव कुमार नेपाल समूहका प्रभावशाली नेता मानिन्छन्।
‘म तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको थिए । र त्यस पार्टीको संसदीय दलको सदस्य रहेको थिए ।
सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उमेदवार भइ निर्वाचित म सहितका जनप्रतिनिधिहरु दल विहीन अर्थात स्वतन्त्र हुन पुगेको सर्वविदितै छ’ भुसालले पत्रमा भनेका छन्,‘तत्पश्चात म नेकपा एमाले वा नेकपा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनि सभाको स्वतन्त्र सदस्यको रुपमा रहेको छु।’
भुसालले आफूले पाउने पारिश्रमिक वा सेवा सुविधाबाट लेबी वा कुनै रकम कुनै पार्टीको खातामा जम्मा नगरिदिन पनि लेखा शाखालाई अनुरोध गरेका छन्।
एमाले भित्रको विबाद उत्कर्षमा पुगेको समयमा भुसालले आफू स्वतन्त्र भूमिकामा रहने भनेर संसदमा पत्र दर्ता गराएको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
























