विप्लव समुहको भेटवार्ता तिव्र
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) र नेकपा (विप्लव समूह) का शीर्ष नेताहरुले पूर्वमाओवादीका तत्कालीन कमान्डरहरूसँगको भेटलाई तीव्रता दिएका छन् ।
विप्लव समूहका शीर्ष नेताहरूले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसँग भेटेर प्रगतिशील शक्तिहरूको एकता प्रयास गरेका छन् ।
महासचिव नेत्रविक्रम चन्द (विप्लव) को निर्देशनमा शीर्ष नेताहरूले प्रचण्ड र डा. भट्टराईसँगको भेटलाई तीव्रता दिएका हुन् । विप्लव समूहका प्रभावशाली नेता धर्मेन्द्र बास्तोलाले शनिबार माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड) सँग भेटेका छन् ।
तत्कालीन ‘सहयोद्धा’हरूबीच शनिबार प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयीक राजनीतिबारे छलफल भएको जनाइएको छ ।
प्रचण्डलाई भेट्न बास्तोलासँगै उदयबहादुर चलाउने समेत प्रचण्ड निवास पुगेका थिए । बास्तोलाले प्रचण्डसँग प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवाद लगायत विषयमा छलफल भएको जनाएका छन् ।
समसामयिक राजनीति, विघटित अवस्थामा रहेको प्रतिनिधिसभा र संसदीय व्यवस्थाको औचित्य र यसमा नेपाल कम्युनिस्ट पार्टीले समाधान दिन प्रस्ताव गरेको साथै प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवाद लगायतका विषयहरूमा प्रचण्डसँग सौहार्दपुर्ण छलफल भएको बास्तोलाले बताएका छन् ।
यसैबीच बास्तोला र चलाउनेले बुधबार डा.भट्टराईलाई पनि भेटेका थिए । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बास्तोलाको भनाइ छ । डा.भट्टराई निवास टोखामा भएको भेटमा जसपा नेता भक्तबहादुर शाह पनि सहभागी थिए ।
होला त प्रगतिशील शक्तिहरूबीच एकता ?
नेकपा विप्लव समुहका नेताहरू सुरुदेखि नै संसदको विकल्प खोज्दै आएका छन् । जनयुद्ध लड्दा प्रचण्ड र बाबुराम पनि संसदीय व्यवस्थाको विरोध गर्दै आएका थिए । तर दिल्लीमा भएको १२ बुँदे सहमति र त्यसैको जगमा भएको शान्ति सम्झौतासम्म आइपुग्दा तत्कालीन नेकपा (माओवादी) ले संसदीय व्यवस्थालाई स्वीकारेको थियो ।
संविधानसभा स्वीकार्दै ०७२ सालमा प्रचण्ड र डा. भट्टराई समेत सहभागी भएर नेपालको संविधान जारी भई सोही संविधानले अंगिकार गरेको व्यवस्था मुलुकमा लागु भइसकेको छ । यस्तो अवस्थामा विप्लव समूहले संसदीय व्यवस्था मान्दैनौं भन्नु संविधानलाई नै नमान्नु सरह भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
‘विप्लवजी संसदीय व्यवस्था नमान्ने अडानमा हुनुहुन्छ । बाबुरामजी प्रत्यक्ष कार्यकारी राष्ट्रपति र समाजवादको पक्षमा हुनुहुन्छ, त्यसैले बाबुरामजी र विप्लवजीहरूको लाइन केही मिल्न सक्छ तर यता प्रचण्डजीको खासै कुनै एजेन्डा छैन,’ एक विश्लेषकले नाम नखुलाउने शर्तमा भने, ‘पार्टीमा आफूबाहेक अरूलाई अध्यक्ष वा महासचिव मान्न नसक्ने प्रचण्डजी विप्लवजीहरूको प्रस्तावमा सहमत हुन सक्ने देखिँदैन ।’
























