ससंद्को सामना गर्न नसकेर हतारमा अधिवेशन अन्त्य गरियो : कांग्रेस नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाएको आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनियन काठमाडौं शाखाले नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान दिन सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाउँदा संसद्को सामना गर्न नसकेर हतारमा अधिवेशन अन्त्य गरेको बताउनु भएको हो ।
मङ्गलवार संसद् बैठक तय भइसकेको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार दिउँसो १ बजेदेखि संसद् अधिवेशन अन्त्य गर्नुभएको छ ।
नेता सिंहले असंवैधानिक रूपमा संसद् विघटन गर्नु भएका प्रधानमन्त्री ओलीले राजनीतिक र नैतिक हैसियत गुमाएको र संसद्लाई सामना गर्न नसकेको बताउनुभयो । संसद्लाई स्थगन गर्ने कुराबाट यो सरकार कति कमजोर छ भन्ने स्पष्ट भएको पनि उहाँले बताउनुभयो ।
राजनीतिक, संवैधानिक र नैतिक हिसाबले हैसियत गुमाइसकेको ओली सरकारलाई हटाइ कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउनु पर्ने पनि नेता सिंहले बताउनुभयो ।
चुनावबाट कांग्रेसलाई प्रतिपक्षमा बस्न म्यान्डेट प्राप्त भए पनि कम्युनिस्ट सरकारले हैसियत गुमाएको अवस्थामा कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । पारदर्शी चुनाव गराउनका लागि पनि कांग्रेस नेतृत्वको सरकार चाहिने नेता सिंहको भनाइ छ ।
सरकारले कोरोना फैलिन सक्ने भन्दै नागरिक र अन्य राजनीतिक दललाई भेला हुन नदिने तर सरकार र सत्ताधारी दल आफैले ठाउँ–ठाउँमा सभा र भेला गर्दै हिँडेको उहाँले बताउनुभयो ।
ओली नेतृत्वले गरेका कुनै पनि भेला कोरोनामुक्त हुने तर अरूले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने उहाँको भनाइ छ ।





















