कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो बस्दै छ । संसद विघटन विरुद्धको आन्दोलनबारे छलफल गर्न दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो ।
बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारीबारे पनि छलफल हुने जनाइएको छ । साथै प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा जाने कि अदालतको निर्णय पर्खिने भन्ने विषयमा पनि छलफल स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा गत पुस ५ गते संसद विघटन भएपछि कांग्रेसले विरोध गर्दै आएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायत नेताहरूआन्दोलनलाइ सशक्त पार्ने पक्षमा रहेका छन् भने सभापति देउवा लगायत नेताहरू अदालतको निर्णय कुर्ने र चुनावमा जानु परे पनि तयार रहने पक्षमा देखिएको स्रोतको भनाइ छ । यसबारे बृहत् छलफलमार्फत एउटा निष्कर्ष निकालिने जनाइएको छ ।























