संसद विघटनको निर्णय विरूद्ध प्रचण्ड–नेपाल पक्ष सर्वोच्च जाने
काठमाडौँ । प्रधानमन्त्रीले संघीय संसद विघटन गर्नु असंवैधानिक कदम रहेको भन्दै सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अदालतमा चुनौती दिने भएका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध प्रचण्ड–नेपाल पक्ष सर्वोच्च अदालत जाने तयारीमा छन् । यस समूहले नेपाल संविधानविद् एवं कानुन व्यवसायीहरूसँग परामर्श गरिरहेको र तयारी पूरा गरेर सर्वोच्चमा रिट दायर गर्ने बताइएको छ ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली विरूद्ध हिजो यस समूहका ९० सांसदले संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
तर उक्त प्रस्ताव ल्याउन लागेको थाहा पाएपछि प्रधानमन्त्रीले संसद नै भंग गर्नुभएको थियो । सोमबार प्रचण्ड–नेपाल समूह प्रधानमन्त्रीको सो कदमविरूद्ध अब कसरी अघि बढ्ने भन्नेमै छलफलमा व्यस्त रहेको छ ।























