कांग्रेसले मंसिर २९ गते देशब्यापी प्रदर्शन गर्ने, अविलम्ब संसद बैठक बोलाउन माग
काठमाडौ । वर्तमान नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाईको केपी शर्मा ओली सरकारले निरन्तर रुपमा दमन, भ्रष्टाचार र कोभिड–१९ को अव्यवस्थापनको पर्यायवाची बनेको छ ।
यी विषयहरुमा नेपाली कांग्रेस र नेकपा भित्रबाटै निरन्तर रुपमा सरकारलाई खबरदारी गर्दै आएको पाइन्छ । यसका वावजुद देशमा यी प्रवृत्तिहरु घट्नुको साटो बढ्दै गएको छ ।
यसै वीच नेपाली कांग्रेस एकातर्फ कम्युनिष्ट सरकारको अधिनायकवादी चिन्तन र ब्यवहारका विरुद्ध संघर्षरत छ भने अर्कातर्फ प्रतिगमनका आकांक्षाहरु र सबै खाले भ्रष्टाचार एवं बेथिति विरुद्धमा एक ढिक्का रहेर सडक देखि संसदसम्म प्रस्तुत हुन लाग्दैछ ।
बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्वर्धन नेपाली कांग्रेसकै ऐतिहासिक अभिभारा रहेकोे तथ्य नेपाली कांग्रेसले आज एक विज्ञाप्ती प्रकाशित गर्दै प्रष्ट पारेको छ ।
कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले तनहुँ जिल्लामा गत १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी ब्यवहार लगायत देशको विभिन्न भागमा पटक–पटक सरकारबाट प्रस्तुत विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड–१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचार देखि अनेकन भ्रष्टाचार काण्ड र बेथिति विरुद्ध यहि मंसिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। साथै
राष्ट्रिय रूपमा उठेका जिवन्त प्रश्नहरू संगै देश र जनताका ज्वलन्त विषयहरुमा छलफल गर्न संघीय संसदको बैठक बस्न अत्यावश्यक भएकोले संसद बैठक अविलम्ब बोलाउन सरकार र सभामुख समक्ष माग गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी वक्तव्यमा उल्लेख छ।

























