काँग्रेस बैठक आज
काठमाडौंँ । नेपाली काँग्रेस भित्रको विवाद समाधान गर्ने क्रममा लगातार भएका छलफलबाट धेरै कुरा सहमति नजिक पुगेकाले शुक्रबार केन्द्रीय कार्य समितिको बैठक बस्ने भएको छ ।
पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले धेरै कुरामा सहमतिको वातावरण बनेको र शुक्रबार पनि छलफल गरेर सहमति भएका विषयलाई दिउँसो बस्ने केन्द्रीय समितिको बैठकमा लगेर पारित गर्ने जानकारी दिनुभयो ।
केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव लैजान पार्टीका उपसभापति विमलेन्द्र निधि र पूर्णबहादुर खड्काले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरिरहनु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको शीर्ष नेताद्वय सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल बाहेकका अन्य पदाधिकारी, पूर्व पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यको दिनभरको बैठकपछि यस्तो सहमति जुटेको हो ।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले धेरै कुरा सहमतिमा भएको बताउनुभयो । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसमिति बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ ।























