निर्वाचनलाई अनावश्यक खर्च नगर्न अध्यक्ष ओलीको आग्रह
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी उपनिर्वाचनमा उम्मेदवारलाई अनावश्यक खर्च नगर्न आग्रह गरेका छन् ।
काठमाडौँ–बझाङ मञ्चले आयोजना गरेको बझाङ जिल्ला प्रदेशसभा ९१० को उपनिर्वाचनको विशेष भेलामा उनले निर्वाचनलाई खर्चिलो नबनाउन आग्रह गरे ।
पार्टीको चुनाव भएकाले पार्टीका साथीहरू खट्नुपर्ने भन्दै उनले चुनावमा हरेकलाई आफ्नो तर्फबाट योगदान गर्न निर्देशन दिए ।
“मेरो निर्वाचनमा म बिहान खाना खाएर हिँड्छु र साथीहरूलाई पनि खाना आएर आउनभन्छुु”, उनले भने, “चुनावमा खुवाउन पियाउन हुँदैन । चुनाव मेरोमात्र हो र रु”
उनले यसपटकको निर्वाचनमा कसैले पनि बुथ कब्जा गर्न नसक्ने दाबी गरे । अध्यक्ष ओलीले प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ र प्रदेशसभा सदस्यका लागि बझाङ प्रदेशसभा ९१० मा हुने उपनिर्वाचनमा एमालेले जित्ने दाबी गरे ।
उनले चुनावको बेलमा कुनै पनि नेता र उम्मेदवारको आलोचना वा टिप्पणी नगर्न आग्रह गरे । केही असन्तुष्टि छन् भने चुनावपछि छलफल गरिने उल्लेख गर्दै पार्टीभित्र एकता र विरोधीसँग प्रतिस्पर्धा गर्न उनले निर्देशन दिए ।
“पार्टीभित्र असन्तुष्टि छ भने चुनावपछि छलफल गरौँला । चुनावसम्म एकअर्कामा आलोचना, टिप्पणी, उम्मेदवारको सम्बन्धमा कुनै प्रकारको टिप्पणी हुनुहुँदैन”, उनले भने ।
उनले आन्तरिक एकता गर्दै विपक्षीसँग प्रतिस्पर्धा गर्न आग्रह गरे । उनले निर्वाचनको समयमा नेता तथा कार्यकर्तालाई आचारसंहिता पालना गर्नसमेत निर्देशन दिए । बझाङको प्रदेशसभा ९१० का उम्मेदवार दमनबहादुर भण्डारीले एमालेका विरुद्ध यसपटक गठबन्धन नभएकाले जित्ने बताए ।