citizens life insurance long ad
stcnepal long ad

भौतिक पूर्वाधार विकासमा करिब १३ अर्ब

कामपाको बजेट बाँडफाँट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं महानगरपालिकाको सम्पूर्ण बजेटको ५१ प्रतिशत बजेट पूर्वाधार र भौतिक विकासमा खर्चिने भएको छ । केही दिनपछि कामपाको कार्यक्रम पास गर्नुअघि बजेट बाँडफाँट गर्दा सो क्षेत्रलाई ५१ प्रतिशत अर्थात् करिब साढे १३ अर्ब विनियोजन गरिनेछ ।

महानगरपालिकाले ५ क्षेत्र छनोट गरी बजेट बाँडफाँट गरेको हो । सबैभन्दा कम आर्थिक क्षेत्रलाई छुट्टयाएको छ । सो क्षेत्रमा २ प्रतिशत मात्र बजेट खर्च गरिने उल्लेख छ । यो साताभित्रै कार्यक्रम पारित गर्ने तयारी छ । कामपाले पाँच शीर्षकमध्येबाट विभाग, महाशाखा, शाखा र परियोजनामा खर्च गर्ने जनाएको छ ।

 

कामपाका मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोललगायतको टिमले सिलिङअनुसार बजेट तयारी गरिरहेका छन् । कामपाले सुशासन तथा अन्तरसम्बन्ध क्षेत्रमा २३, कार्यसञ्चालन र प्रशासनतर्फ १६ र सामाजिक विकासतर्फ ८ प्रतिशत बजेट विनियोजन गर्नेछ ।

महानगरपालिकाले कामपा मुख्यालय निर्माण, वागदबार रेक्ट्रोफिट, वडा कार्यालय भवन निर्माण, सम्पदा पुनर्निर्माणलगायत भौतिक विकासको क्षेत्रमा मनग्य बजेट व्यवस्था गर्ने तयारी गरेको छ ।

कामपाले आगामी आव २०७९/०८० का लागि २५ अर्ब ७६ करोड बजेट पारित गरिसकेको छ । सोही बजेट अनुसार कार्यक्रम तय गर्र्न निरन्तर बैठक जारी रहेको कामपाका अधिकारीले जनाएका छन् । करिब एक सातायता लगातार बैठक भइसकेको छ, अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन ।

महानगरले भोलि २२ गते परिषद्को बैठकले कार्यक्रम पास गर्ने तयारी गरिरहेको छ ।
महानगरले २५ अर्बभन्दा बढी खर्च गर्न नसक्ने अवस्था छ । तर, कार्यक्रम तय गर्दा करिब २९ अर्ब बराबरको कार्यक्रम तयार भएको छ ।

कुन शीर्षकमा कति कटौती गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । ठ्याक्कै बजेट पुग्ने गरी कार्यक्रम ल्याउने तयारी भइरहेको कामपाका सूचना अधिकारी महेश काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार सिलिङअनुसार व्यवस्थापन गरे कार्यक्रम पारित हुन समस्या छैन ।

‘गएको १० गते त बजेट सार्वजनिक भएको मात्रै हो, सो बजेटमाथि छलफल गरी कुन शीर्षकमा कति बजेट राख्ने भन्ने विषयमा भोलि मंगलबार निर्णय हुने सम्भावना छ’ –कामपाका अधिकारीले भने ।

तर, कार्यपालिका सदस्यले चित्त नबुझेमा फेरि छलफल गर्ने अवस्था आउन सक्ने कामपा स्रोतले बताएको छ । मेयर बालेन्द्रको सबैलाई सम्झाउने क्षमता भएकै कारण, यसअघि नीति तथा कार्यक्रम, आर्थिक अध्यादेश पारित भइसकेको छ ।

कामपाले संघ र प्रदेश सरकारबाट प्राप्त शिक्षक तलब, स्वास्थ्य, कृषि पशुपालन, सामाजिक सुरक्षा भत्तामा तोकेको रकम खर्च गर्नुपर्ने व्यवस्था छ । बजेटमा सूचना प्रविधि, शिक्षा, फोहोर व्यवस्थापन, कर प्रणाली सुधार, सीसीटिभी जडान, शहरी सौन्दर्य, जात्रापर्व व्यवस्थापनलगायत शीर्षकमा खर्च गरिनेछ ।

बजेटमा सिसडोलमा बगैंचा र हरियाली प्रवद्र्धन, ज्येष्ठ नागरिक सम्मान, पूर्वाधार एम्बुलेन्स खरिद र सञ्चालन, कमलपोखरीको दोस्रो चरणको काम शुरू गर्न बजेट व्यवस्थापन गर्न लागिएको हो । आन्तरिक आम्दानी गर्ने सामुदायिक विद्यालयहरूको आम्दानीको निश्चित प्रतिशत महानगर शिक्षा कोषमा जम्मा गर्ने व्यवस्था गरेको छ ।

पुराना हिटि तथा पोखरीको पुनःस्र्थापना, संरक्षण तथा संवद्र्धन गरिने, महानगर उज्यालो कार्यक्रमलाई निरन्तरता दिन बजेट छुट्टयाइएको छ । नीति तथा कार्यक्रममा उल्लेख भएका विषयलाई चरणबद्ध विश्लेषण गरी बजेटअनुसार कार्यक्रम तयार गरिएको कामपाको भनाइ छ ।

सबै वडामा दोब्बर बजेट

चालु आर्थिक वर्षको भन्दा दोब्बर बजेट वडाले पाउने भएका छन् । आगामी आर्थिक वर्ष २०७९÷०८० मा ठूला वडालाई १०, मझौलालाई साढे ७ र साना वडालाई ५ करोड रुपियाँ बजेट उपलब्ध गराउने भएको छ । मेयर बालेन्द्र साहले स्थानीय स्तरमा विकासलाई महसुस दिन सबै वडामा दोब्बर बजेट व्यवस्था गर्न लागेका हुन् ।

महानगरले कार्यक्रम पारित गर्नासाथ ३२ वटै वडामा बजेट विनियोजन गरिनेछ । कामपाले १५ वटालाई ठूला, १० वटा मझौला र ७ वटा साना वडामा वर्गीकरण गरेको छ । १, ३, ४, ६, ७, ९, १०, ११, १३ देखि १६ सम्म र २६, ३१ र ३२ ठूला वडा हुन् ।

मझौला वडामा २, ५, ८, १७, २२, २४, २५, २८ देखि ३० वटा छन् । त्यस्तै १२, १८ देखि २१, २३ र २७ वडा साना वडामा वर्गीकरण गरेको छ । आजको नेपाल समाचारपत्र दैनिकाबाट

IME Life
kumari