सुरुङ खन्न पुनः सुरु

काठमाडौँ । निर्माणाधीन काठमाडौँ–तराई(मधेश दु्रतमार्ग (फास्ट ट्र्याक) को सुरुङ खन्ने काम पुनः सुरु भएको छ । नेपाली सेनाले काम सुचारु गर्न निर्देशन दिएपछि चिनियाँ ठेकेदार कम्पनीले काम पुनः थालेका हुन् ।
सुरुङको प्याकेज–१ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र प्याकेज–२ मा पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेका छन् ।
ठेक्का सम्झौताअनुरूप सुरुङ खन्ने काम नभएको भन्दै नेपाली सेनाले दुई हप्ताअघि ठेकेदार कम्पनीलाई काम रोक्न निर्देशन दिएको थियो ।
कामको गुणस्तर कमजोर भएको र सम्झौताअनुसारका उपकरण पनि नल्याई काम भएको पाइएपछि नेपाली सेनाले काम रोक्न निर्देशन दिएको थियो ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौताको मापदण्ड तथा सेवा सर्तअनुसार बिहीबारदेखि दुवै खण्डको सुरुङ खन्ने काम सुरु भएको जानकारी दिनुभयो । सुरुङ खन्ने काम दुई खण्डमा भइरहेको छ ।
उहाँले भन्नुभयो, “आयोजनाले नियुक्त गरेको परामर्शदाता कम्पनीले गरेको निर्माणाधीन सुरुङको निरीक्षण, कामको पुनरवलोकन तथा ठेकेदार कम्पनीसँगको छलफल र परामर्शपछि सुरुङ खन्ने काम पुनः सुरु भएको हो ।”
अहिले ठेक्का सम्झौताअनुसारको उपकरणको प्रयोग तथा गुणस्तरको काम भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।
आयोजनाले कोरियाली कम्पनी योसिन इन्जिनियरिङ कर्पोरेसन र कोरिया एक्सप्रेस–वे कर्पोरेसन एन्ड पियोङ्वा इन्जिनियरिङ कन्सल्टेन्ट (संयुक्त) लाई परामर्शदाता नियुक्त गरेको छ ।
यसअघि गरिएको निरीक्षण तथा पुनरवलोकनमा सुरुङ खन्ने क्रममा ठेक्का सम्झौता अनुसारको उपकरण प्रयोग नभएको, कामको गुणस्तर नदेखिएको लगायतका समस्या देखा परेकाले सुरुङको काम तत्काल रोक्न ठेकेदार कम्पनीलाई सेनाले निर्देशन दिएको थियो ।
त्यसैगरी सुरुङ खन्नका लागि सम्झौताअनुसारको ‘थ्री आम्र्स जम्बो’ लगायतका मेसिनको प्रयोग नगरी सामान्य रूपमा खन्न थालेकाले कामको गुणस्तर कमजोर रहेको पाइएको थियो ।
प्रवक्ता सिलवालका अनुसार अहिलेसम्म सुरुङमार्गको पहिलो प्याकेजअन्तर्गत ३० मिटर र दोस्रो प्याकेज अन्तर्गत अहिलेसम्म २० मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । आजको गोरखापत्र दैनिकबाट
३ असार २०७९, शुक्रवार ०६:२७ बजे प्रकाशित