citizens life insurance long ad
stcnepal long ad

इतिहासमै निर्यात उच्च

आठ महिनामा एक खर्ब ४७ अर्बको निर्यात

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । चालू आर्थिक वर्ष (२०७८/७९ ) को फागुन मसान्तसम्म आयात–निर्यात दुवैले ऐतिहासिक रेकर्ड बनाएको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार चालू आवको आठ महिना (साउनदेखि फागुनसम्म) मा कुल वैदेशिक व्यापारमा ४२.१३ प्रतिशतले वृद्धि भएको छ ।

यस अवधिमा १४ खर्ब ५६ अर्ब ४८ करोड नौ लाख २२ हजार रुपियाँको व्यापार भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने १० खर्ब २४ अर्ब ७६ करोड ७१ लाख १२ हजार रुपियाँको वैदेशिक कारोबार भएको थियो । समीक्षा अवधिमा मुलुककोे व्यापार घाटा साढे ३४ प्रतिशत पुगेको छ । कुल कारोबारमा निर्यातको हिस्सा जम्मा २८.६९ प्रतिशत छ ।

समीक्षा अवधिमा नेपालबाट भएको निर्यातमा ८२.९० प्रतिशतले बढोत्तरी भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजार रुपियाँ बराबरको निर्यात भएको थियो भने चालू आवको आठ महिनामा एक खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपियाँको निर्यात भएको देखिएको छ । त्यस्तै समीक्षा अवधिमा आयातमा भने ३८।६४ प्रतिशतले बढेको छ ।

गत आवमा नौ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रुपियाँ बराबरको वस्तु तथा सामग्री आयात भएको थियो भने चालू आवको आठ महिनामा १३ खर्ब आठ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपियाँको आयात भएको छ ।

हेर्दा आठ महिनामा भएको कुल व्यापारको आयात–निर्यातको अनुपात २४.२० प्रतिशतले कमी भएको छ । पछिल्लो समयमा विदेशी मुद्राको सञ्चितिमा चाप परेका कारण कतिपय विलासिताका वस्तु आयातमा सरकारले कडाइ गरेसँगै यो अनुपातमा कमी आएको हो ।

नेपालबाट सबैभन्दा बढी निर्यात भएका वस्तुमा भटमासको तेल, पाम आयल, सनफ्लावर तेल देखिएको छ । चालू आवको आठ महिनामा ४१ अर्ब ४० करोड १७ लाख ८१ हजार रुपियाँको भटमासको कच्चा तथा प्रशोधित तेल निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखिन्छ । करिब १३ अर्बभन्दा बढीको पाम आयल निर्यात भएको छ ।

त्यस्तै ३६ अर्बभन्दा बढीको सनफ्लावर तेल निर्यात भएको छ । नेपालबाट ५३ करोड रुपियाँभन्दा बढीको अम्रिसोको कुचो पनि निर्यात भएको देखिएको छ । आजको गोरखापत्र दैनिकबाट

IME Life
kumari