stcnepal long ad
ime life insurance
national life
global ime bank long

सर्वोच्च अदालतमा दर्ता भएको १५ महिनापछि प्रारम्भिक सुनुवाइ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सर्वोच्च अदालतमा दर्ता भएको १५ महिनापछि संवैधानिक निकायमा नियुक्त पदाधिकारीविरुद्धको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ सुरु भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । आगामी सुनुवाइ चैत ९ गते बुधबारका लागि तोकिएको छ ।

प्रधानन्यायाधीशको उपस्थितिबिना संवैधानिक इजलास गठन गर्न मिल्ने नमिल्ने विषयको विवाद यथावतै रहेका बेला कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा संवैधानिक इजलास गठन भइरहेको छ । सोही इजलासले शुक्रबारदेखि दुई चरणमा भएका ५२ जना पदाधिकारीसमेत विपक्षी रहेको मुद्दाको सुनुवाइ प्रारम्भ गरेको हो ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले मुद्दामा प्रारम्भिक सुनुवाइ भई चैत ९ गतेका लागि हेर्दाहेर्दैमा राखिएको जानकारी दिनुभयो । सर्वोच्चमा बुधबार र शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ गर्ने प्रचलन छ । शुक्रबार कामु प्रधानन्यायाधीश कार्कीसहित वरिष्ठताका आधारमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलास गठन भएको थियो ।

मौजुदा संवैधानिक परिषद्सम्बन्धी ऐनको व्यवस्था अध्यादेशबाट संशोधन गरेर पदाधिकारी नियुक्त गरिएको थियो । ऐनमा रहेको गणपूरक सङ्ख्या र निर्णयका लागि आवश्यक सङ्ख्या दुवै हेरफेर गरी तीन सदस्य उपस्थित भएमा मात्र पनि नियुक्त गर्न सक्ने व्यवस्था गरेर पदाधिकारी नियुक्त भएका थिए ।

ऐनको संशोधित व्यवस्था र सोअनुसारको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा मुद्दा दायर भएका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू ओमप्रकाश अर्याल, समृत खरेललगायतका पुरकसमेत गरी ११ निवेदन दर्ता भएका थिए । जसमा प्रधानन्यायाधीशको अनुपस्थितिमा संवैधानिक इजलास गठन हुन सक्छ वा सक्दैन भन्ने दुई विवाद पनि छन् ।

अध्यादेशबाट संशोधित ऐनको व्यवस्थाअनुसार २०७७ मङ्सिर ३० गते पहिलो चरणमा ३२ जना पदाधिकारी नियुक्त भएका थिए । यस्तै २०७८ वैशाख २६ गते पुनः २० जना नियुक्त भएका थिए । दुवै चरणको सिफारिसपछि प्रतिनिधि सभा विघटन गरिएका कारण संसदीय सुनुवाइसमेत हुन सकेको थिएन ।

नियुक्ति सम्बन्धी निर्णयमा सभामुख अग्निप्रसाद सापकोटा र तत्कालीन प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुनुहुन्थ्यो । सभामुख सापकोटाले त नियुक्तिका लागि गरिएको पत्राचार नै फिर्तासमेत गर्नुभएको थियो ।

नियुक्तिसम्बन्धी निर्णय तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा भएको थियो । हालको सत्ता गठबन्धनले प्रधानन्यायाधीश जबरा विरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्दा संवैधानिक निकायका नियुक्तिमा भागबण्डा लिएको समेत आरोप लगाएको छ ।

प्रारम्भिक सुनुवाइपछि अब रिटमा अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने निक्र्यौल हुनेछ । बुधबारको सुनुवाइमा अन्तरिम आदेश जारी भएमा नियुक्त ५२ जना पदाधिकारीले तत्काल कार्यसम्पादन गर्न पाउने छैनन् । अन्तरिम जारी नभएको अवस्थामा भने अन्तिम सुनुवाइबाट अर्को आदेश नभएसम्म कार्यसम्पादन रोकिने छैन । आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
kumari