आजदेखि भारत र चीनसंग जोडिएका सबै नाका बन्द, ढुवानी लगायत सामान आयात भने निरन्तर

आर्थिक सञ्जाल । सोमबार,१० चैत्र २०७६
काठमाडौं । सरकारले भारत र चीनसँगका सबै नाका आजदेखि पूर्णरूपमा बन्द गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले एक साताका लागि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।
उनका अनुसार नाकाबाट ढुवानीलगायत सामान आयात भने निरन्तर रहनेछ ।
भारतबाट हुलका हुल नेपाली घर फर्किन थालेपछि कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारको आलोचना भएको थियो । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै चार घण्टा बसेको मन्त्रिपरिषद् बैठकले नाका बन्दको निर्णय गरेको हो ।
‘बहुपक्षीय क्षेत्रीय सहयोग बढाउने र संक्रमण एक देशबाट अर्को देशमा नफैलियोस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय सरकारले लिएको हो’, बैठकपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले भने । यसो गर्दा छिमेकी मुलुकहरूको हितलाई पनि ध्यान दिइएको उनले बताए।
नाका भएका जिल्लालाई गृह मन्त्रालयले परिपत्र समेत गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल–भारत सीमा नाका बन्द गराउन नेपाललाई सुझाव दिँदै आएको थियो। अन्नपूर्ण पोष्ट दैनिकबाट