Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

ऐतिहासिक दस्तावेज नष्ट हुने खतरा

civilbank long ad

ललितपुर । राष्ट्रिय किताबखाना (निजामती)मा रहेका राणाकालीन दस्तावेजको उचित संरक्षण हुन सकेको छैन ।
निजामती थमौती, सैनिक कमान्डरी सम्बन्धी मिसल, सेना सम्बन्धी पुराना इस्तिहार लगायतका सामग्री किताबखानामा छ ।

२०७२ सालको भूकम्पले हरिहर भवन भत्किएपछि त्यहाँ रहेका ऐतिहासिक दस्तावेजलाई त्यही परिसरमा प्रिफ्याबको संरचनाभित्र राखिएका छन् । तिनलाई सुरक्षित राख्न उपचार विधि प्रयोग गरिएको छैन । यसले गर्दा कतिपय दस्तावेज धुजाधुजा भइसकेको छ भने ओसले गर्दा कतिपयमा लेखिएका अक्षर मेटिन थालिसकेका छन् ।

चिस्यानले गर्दा तिनलाई मोड्न प्रयोग गरिएका छाला कुहिन थालिसकेका छन् भने धेरैका अक्षर उड्न थालेको अवस्था छ । कतिपय इस्तिहारलाई मुसाले खाएको छ । खोजकर्ताहरूका लागि त्यहाँ भएका दस्तावेज महìवपूर्ण स्रोतका रूपमा प्रयोग हुन सक्दछ ।

किताबखानाका महानिर्देशक नेत्रप्रसाद सुवेदीले ती अभिलेख संरक्षण गर्ने दायित्व आफूहरूको भएको बताउँदै भन्नुभयो, “यतिसम्म सुरक्षित राख्ने प्रयास गरेका छौँ । तैपनि चिस्यान लगायतका समस्या छन् । दीर्घकालीन रूपमा यिनलाई जोगाउन संरक्षण गर्ने निकायसँग सहकार्य जरुरी देखिएको छ । त्यसैले संरक्षण गर्ने निकायलाई हस्तान्तरण गर्न तयार छौँ ।”
वि.सं.२००२ सम्मको निजामती थमौती (कर्मचारी सिटरोल) राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ । त्यसपछिका सिटरोल किताबखानामा राखिएका छन् ।

राणाकालीन निजामती थमौती राखिएको कोठामा ०१६/१७ सालसम्मका सिटरोल राखिएका छन् । २००२ सालभन्दा अगाडिका कतिपय निजामती थमौतीका ढड्डा पनि किताबखानामा छ । सो कोठामा पुराना किताबका साथै स्थान अभावका कारण कर्मचारीहरूको सम्पत्ति विवरणका खाम पनि राखिएका छन् ।

त्यो बेलाका सैनिकका सिटरोल, सेना सम्बन्धी विभिन्न इस्तिहार, राणाकालीन कर्मचारीहरूका तस्बिर आदि पनि फेला पर्छ । केही वर्षअघि तिनलाई राष्ट्रिय अभिलेखालयमा ल्याउने लगभग तयारी भइसकेको थियो तर किताबखानाका तत्कालीन महानिर्देशकको सरुवा भएपछि सो योजना अगाडि बढ्न सकेको थिएन ।

केही वर्षअघि एक जना अन्वेषकले हरेक दिन किताबखानामा पुगेर सात दशकअघिका ती सिटरोललाई सिलसिलेवार रूपमा राखिदिएका थिए ।

अभिलेखालयका निमित्त महानिर्देशक शौभाग्य प्रधानाङ्गले किताबखानाबाट निवेदनसहित संरक्षण गरिदिन आग्रह भएमा तत्कालै तिनलाई अभिलेखालयमा ल्याइने बताउनुभयो । “हामीले पहिले पनि ती हामीलाई दिनुहोस् भनेर मागेका थियौँ । दिन तयार हुनुभएमा यहाँ ल्याएर सुरक्षितसाथ राखिदिनेछौँ” उहाँले भन्नुभयो । अभिलेखालयमा रहेका राणाकालीन निजामती थमौतीलाई २० देखि २४ डिग्री सेन्टिग्रेड र ४० देखि ४५ प्रतिशत आद्र्रतामा राख्ने गरिएको छ ।

राष्ट्रपतिको कार्यालय स्थापना गर्दा त्यहाँ रहेका ऐतिहासिक लिखतलाई राष्ट्रिय अभिलेखालयको एउटा कोठामा ल्याई राखिएको छ । बन्द कोठामा लगाइएको ताल्चाको साँचो परराष्ट्र मन्त्रालयसँग छ ।

सामान्य कोठामा राखिएका ती दस्तावेज नष्ट हुनसक्ने भएकाले अभिलेखालयले सुरक्षितसाथ राख्न आफूहरूलाई हस्तान्तरण गरिदिन माग गर्दै आएको छ । उहाँले परराष्ट्र मन्त्रालयसँग पत्राचार भइरहेको र त्यसका लागि सो मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।

राष्ट्रिय किताबखाना (निजामती)सँग हाल एक लाखभन्दा बढी कर्मचारीको व्यक्तिगत रेकर्ड पनि सुरक्षित छ । बर्सेनि सरदर तीन हजार कर्मचारी सेवानिवृत्त हुने गरेका छन् । यसबाहेक निजामती कर्मचारीले बुझाएका सम्पत्ति विवरण पनि सोही किताबखानामा राख्ने गरिएको छ ।

भूकम्पले भवन भत्काइदिएकाले ती विवरण सुरक्षितसाथ राख्न किताबखानामा स्थान अभाव हुँदै गएको छ । प्रिफ्याब बाहेक कृषि विभाग र पशु निर्देशनालयसँग मागेर केही कोठामा खुम्चिनुपरेको छ ।

श्रीमहलमा नयाँ भवन निर्माण भई किताबखानालाई पनि त्यहाँ सार्ने योजना बने पनि भवन निर्माणको कुरा अत्तोपत्तो छैन ।किताबखानाका महानिर्देशक सुवेदीले गतिलो भवन उपलब्ध हुनसके कर्मचारीका व्यक्तिगत सबै विवरणलाई सुरक्षितसाथ राख्न सकिने बताउनुभयो । आजको गोरखापत्र दैनिकबाट


७ साउन २०७८, बिहीवार ०६:३८ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad