दातृ निकायले एअरलिफ्ट गरेर ल्याइदिएका भेन्टिलेटर अस्पतालका स्टोरमा थन्किए
काठमाडौं । दाताले ‘एअरलिफ्ट’ गरेर ल्याइदिएका धेरैजसो भेन्टिलेटर अहिले विभिन्न अस्पतालका स्टोरमा थन्किएका छन् ।कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा १४ भेन्टिलेटर छन् ।
तर, सञ्चालनमा आठ मात्रै छन् । महामारीका वेला केन्द्रबाट पठाइएका तीनमध्ये दुईवटा स्टोरमा थन्क्याएर राखिएको छ । जडान गर्ने जनशक्ति नहुँदा ती भेन्टिलेटर थन्किएका हुन् ।
कोभिड दोस्रो लहरको हटस्पट बनेको सुदूरपश्चिममा नियति अझ दर्दनाक छ । उपचार अभावमा थुप्रैले ज्यान गुमाए । तर, प्राण बचाउन सहयोगी मानिने भेन्टिलेटर थन्किएर बस्यो ।
कारण हो, जनशक्ति अभाव । संघ र प्रदेश सरकार तथा दातृ निकायबाट समेत गरी टीकापुर अस्पतालले यसै वर्ष १२ वटा भेन्टिलेटर प्राप्त गरेको छ । तर, जनशक्ति नहुँदा ती प्रयोगविहीन छन् ।
सुदूरपश्चिमका सातवटा अस्पतालमा जडान गरिएका भेन्टिलेटर जनशक्ति नहुँदा थन्किएका छन् । प्रदेश सरकारले यस वर्ष सेती र महाकाली प्रादेशिक अस्पतालमा तीन–तीन तथा टीकापुर अस्पताल र डडेल्धुराबाहेक पहाडका अन्य ६ वटा जिल्ला अस्पतालमा दुई–दुईवटा भेन्टिलेटर जडान गरेको थियो ।
संघीय सरकार र दातृ निकायले पनि केही अस्पताललाई भेन्टिलेटर दिएका थिए, तर सेती, महाकाली र डडेल्धुरा अस्पतालबाहेक अन्य अस्पतालमा जडान गरिएका भेन्टिलेटर प्रयोगविहीन छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा जिल्ला अस्पताल बझाङमा सात महिनाअघि जडान भएको भेन्टिलेटर पनि थन्किएको छ । अस्पतालले यसै वर्ष दुईपटक विज्ञापन गर्दासमेत भेन्टिलेटर चलाउने जनशक्ति पाएको छैन ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। सन्दीप ओखेडाले भेन्टिलेटर जडान गरे पनि प्रयोगविहीन रहेको बताए ।
लुम्बिनी प्रादेशिक अस्पतालमा रहेका सातमध्ये तीन भेन्टिलेटर अझै जडान हुन सकेको छैन । अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले बेड अभावमा प्राप्त भेन्टिलेटर जडान नगरिएको जानकारी दिए ।
कोरोना कहरका वेला गण्डकी प्रदेश सरकारले प्राप्त गरेका भन्टिलेटरमध्ये दुईवटा भेन्टिलेटर प्रयोगमा आउन सकेका छैनन् । प्र
देश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक खिमबहादुर खड्काका अनुसार स्याङ्जा जिल्ला अस्पतालमा पठाइएको एउटा भेन्टिलेटर र पर्वत अस्पतालमा पठाइएको भेन्टिलेटर जनशक्तिको अभावमा थन्किएका हुन् ।
दमौली अस्पतालमा संघीय सरकारबाट चारवटा भेन्टिलेटर प्राप्त भएका छन् । जनशक्ति अभावले सबै भेन्टिलेटर सञ्चालनमा समस्या रहेको मेडिकल सुपरिडेन्टेन्ट सुनील पौड्यालले बताए । ‘भेन्टिलेटर सञ्चालन गर्न विशेषज्ञ चाहिन्छ । यहाँ कसैले पनि चलाउन जानेका छैनन् ।
जनशक्ति अभावका कारण म चौबिसै घन्टा खटिनुपरेको छ,’ उनले भने, ‘एकजना एनेस्थेसिओलोजिस्ट र फिजिसियन तत्कालै आवश्यक परेको छ ।’आजको नयाँ पत्रिका दैनिकबाट

























