कोरोना महामारीः १४ गतेदेखि खोप अभियान थालिने

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान माघ १४ गते बिहान १० बजे सुरु गर्ने भएको छ। प्रधानमन्त्री केपी ओलीले अभियान शुभारम्भ गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सातै प्रदेशका ६२ अस्पताल र १ सय २० भन्दा बढी खोप केन्द्रबाट अभियान शुभारम्भ गरिने जानकारी दिए ।
सो समय प्रदेशमा रहेका अस्पताल तथा काठमाडौंका प्रमुख अस्पताल भर्चुअल विधिबाट प्रत्यक्ष जोडिनेछन्। करिब ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य राखी कार्य तीव्र रूपमा अघि बढाइएको मन्त्री त्रिपाठीले बताए। ७७ वटै जिल्लाका ३ सय खोप केन्द्रमार्फत माघ १८ गतेभित्र खोप प्रदान गरिने भएको छ ।
‘यो खोप निर्धक्क भएर लगाउन हुन अनुरोध गर्न चाहन्छु’, खोप अभियानबारे जानकारी दिन आइतबार आयोजित कार्यक्रममा मन्त्री त्रिपाठीले भने।उनले सरकारको अथक परिश्रम र भारत सरकारको सद्भावले प्राप्त खोप खेर जान नदिन मन्त्रालयले निर्देशनसमेत दिएको बताए। पहिलो चरणको खोप लगाउन सुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गरिनेछ।
सरकारले ७२ प्रतिशत जनसंख्यालाई खोप निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। सोही अनुसार भारतले नेपाललाई १० लाख डोज अनुदानमा उपलब्ध गराएको छ। पहिलो चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालकहरू, एम्बुलेन्स तथा शववाहन चालक तथा सहचालकहरू, प्रत्यक्ष उपचार सेवा दिने तथा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा प्रत्यक्ष खटिने व्यक्तिहरूले खोप लगाउनेछन्। त्यस्तै, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति, हेरचाह तथा व्यवस्थापनमा खटिने कर्मचारी तथा जेलमा रहेका केही कैदी तथा सुरक्षाकर्मीलाई खोप सेवामा सहभागी गराइनेछ।
लक्षित व्यक्तिको सूची प्रकाशन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। खोप केन्द्र रहेको संस्था प्रमुख र स्वास्थ्य कार्यालय प्रमुखले सोको सुनिश्चितता गर्नुपर्नेछ। यसको अनुगमन जिल्ला खोप समन्वय समितिले गर्नेछ। यस चरणको सफल कार्यान्वयनले दोस्रो चरणको खोप कार्यक्रमलाई पुग्ने अपेक्षा लिइएको मन्त्रालयले जनाएको छ।
भारतमा रहेको सेरम इन्स्टिच्युटले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेसँग मिलेर उत्पादन गरेको यो खोपले तेस्रो चरणको ट्रायलसमेत पार गरिसकेको छ। मन्त्री त्रिपाठीले जनताको जीवन जोगाउने र जनजीवन चलाउने एक मात्र प्राथमिकता रहेको उल्लेख गर्दै आगामी दिनमा पनि खोप अभियानको निरन्तरता रहने बताए।
‘कसैले शंका नगरे हुन्छ, सरकार त्यसमा प्रतिबद्ध भएर लागेको छ’, उनले भने, ‘यो प्रथम चरणको खोप सक्नुभन्दा अघि हामी नयाँ खेपको खोप अभियान सुरु गरिसक्ने विश्वास दिलाउन चाहन्छौं।’
उनले अभियान सफल पार्न नेता, कार्यकर्ता, सामाजिक अभियन्ता, सबै संघसंस्थाका अगुवा, युवा, विद्यार्थी, किसान, मजदुर, उद्योगी व्यवसायीलाई अनुरोध गरे। दक्षिण एसियाली कतिपय देश र दक्षिण अमेरिकाको कतिपय मुलुकमा पनि यही खोप अभियान जारी छ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना संक्रमणको जोखिम कायम रहेको उल्लेख गर्दै भौतिक दूरी कायम गरे र सरसफाइमा ध्यान दिए कोरानाको साथै सरुवा रोगबाट समेत जोगिन सक्ने बताए। आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट