stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

पाइपलाइनबाट पेट्रोल ल्याउन भण्डारण क्षमता बढाउँदै निगम

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पाइपलाइनबाट डिजेल ल्याउन थालेको १ वर्षपछि नेपाल आयल निगमले पेट्रोल पनि त्यही पाइपलाइनबाट ल्याउन भण्डारण पूर्वाधार विस्तारको तयारी थालेको छ । पाइपलाइनबाट पेट्रोल ल्याउनका लागि अहिलेको भण्डारण क्षमता अपुग भएपछि निगमले बाराको अमलेखगञ्ज–२१ मा ८२ लाख लिटर क्षमताका दुईओटा ट्यांकी बनाउने तयारी गरेको हो ।

हाल निगमसँग पेट्रोलको भण्डारण क्षमता जम्मा १८ लाख लिटर रहेको छ । त्यसैले डिजेल पाइपलाइनबाट ल्याए पनि निगमले पेट्रोलचाहिँ ट्यांकरबाटै ल्याउने गरेकोे छ । निगमले गतवर्षको साउनमा पाइपलाइनबाट डिजेल ल्याएको थियो ।

पाइपलाइनबाट डिजेल आउने बाराको अमलेखगञ्ज–२१ मा रहेको १२ बिगाहा जग्गामा ती ट्यांकी बनाइने भएको हो । निगमको अमलेखगञ्ज कार्यालयका प्रादेशिक प्रमुख भरत रेग्मीले एउटा ट्यांकीको क्षमता ४१ लाख लिटर हुने जानकारी दिए । एउटा पेट्रोल ट्यांकी भारतीय आयल कर्पोरेशन (आईओसी)ले बनाइदिन लागेको उनको भनाइ छ ।

‘दुईओटा ट्यांकी बनेपछि नेपालमा १ करोड लिटर पेट्रोल भण्डारण गर्ने आधार तयार हुनेछ,’ रेग्मीले भने, ‘भण्डारण क्षमता सीमित भएकाले पाइपलाइनबाट पेट्रोल ल्याउन असहज भएको थियो ।’ अहिले डिजेलमात्रै पाइपलाइनबाट आउने गरेको छ । नेपालमा डिजेलको भण्डारण क्षमता भने २ करोड लिटर छ । अहिले पाइपलाइनमा भारतको पटनाबाट डिजेल पम्पिङ हुन्छ भने निकट भविष्यमा मोतिहारीबाट डिजेल धकेल्न शुरू गरिनेछ ।

एउटै पाइपलाइनबाट डिजेल, पेट्रोल ल्याउनका लागि निगमले गृहकार्य थालेको हो । पाइपलाइनबाटै पेट्रोल ल्याउनका लागि डिजेल पठाइसकेपछि मट्टीतेलको प्रयोग गरिने र त्यसपछि पेट्रोल आउन शुरू गरिनेछ । एउटै पाइपबाट ल्याइने भएकाले यो कार्य अलि जटिल रहेको रेग्मीको भनाइ छ ।

अहिले डिजेल प्रतिघण्टा २ लाख लिटर आउँछ भने पेट्रोल ल्याउँदा यसको मात्रा घटाएर प्रतिघण्टा ९० हजारदेखि १ लाख लिटरसम्म ल्याउने योजना निगमको छ ।

अमलेखगञ्ज डिपोमा पाइपलाइनबाट आउने पेट्रोल भण्डार गर्ने र डिपोले मकवानपुरदेखि कोशी ब्यारेजसम्म पेट्रोलियम पदार्थ वितरण गर्नेछ । चितवनमा बन्ने पेट्रोलको डिपोबाट भैरहवा, धादिङ, काठमाडौं, पोखरा लगायत जिल्लामा पेट्रोल पु¥याइने छ ।

डिजेल र पेट्रोलको क्षमता बढेसँगै आगलागी जस्ता जोखिम हुने भन्दै निगमले पानी ट्यांकी पनि बनाउने तयारी गरेको छ । अमलेखगञ्जमै रहेको जग्गामा निगमले पानी सञ्चित गर्न दुईओटा भर्टिकल ट्यांकी बनाउने तयारी गरेको हो । ती ट्यांकीमा ६० लाख लिटर पानी अट्नेछ । एउटा ट्यांकीको क्षमता ३० लाख लिटर हुनेछ ।

निगमले अमलेखगञ्जमै अत्याधुनिक ल्याब पनि बनाउने भएको छ । भारतले पेट्रोलियम पदार्थ पठाउँदा गुणस्तर प्रमाणपत्र पनि पठाएको हुन्छ । तर, नेपालले पनि परीक्षण तथा गुणस्तर ठीक छ कि छैन भनी जाँच गर्नुपर्ने भएकाले अत्याधुनिक ल्याब बनाउने तयारी गरिएको हो । आजको आर्थिक अभियान दैनिकबाट

prabhu mahalaxmi
kumari