citizens life insurance long ad
stcnepal long ad

कोरोनाले रोकिएका विदेशी प्राविधिक आउन थाले

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निर्माणाधीन ठूला पूर्वाधार आयोजनाहरूका लागि आवश्यक पर्ने विदेशी प्राविधिक तथा अन्य कर्मचारी नेपाल आउन थालेका छन् । सरकारले असोज १ गतेदेखि निर्माणाधीन आयोजनाका लागि आवश्यक विदेशी जनशक्ति ल्याउन औपचारिक रूपमै खुला गरेसँगै कोरोनाका कारण विदेशमै रोकिएका उनीहरू काममा फर्किन थालेका हुन् ।

राष्ट्रिय गौरवका आयोजनाहरू काठमाडौं तराई द्रुतमार्ग, गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलदेखि सुरुङमार्ग निर्माणका लागि विदेशी जनशक्ति नेपाल आउने क्रम शुरू भएको हो । अन्य आयोजनाका विदेशी कम्पनी तथा परामर्शदाताहरूले पनि आफ्ना कर्मचारीहरू ल्याउन थालेका छन् ।

सरकारको निर्णयपछि नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको दु्रतमार्गका लागि कोरियाबाट २ जना सर्वेक्षक आएका छन् । उक्त आयोजनाले कन्स्ट्रक्शन सुपरभिजन र प्रोजेक्ट डिजाइनका लागि कोरियन कम्पनी छनोट गरेपछि २ जना पहिलादेखि नै कार्यरत थिए । नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले थप जनशक्ति आएसँगै सुरुङमार्ग, पुल, सडकको रेखांकनलगायतको अध्ययनले तीव्रता लिने जानकारी दिए ।

उनका अनुसार परामर्शदाता कम्पनीले आवश्यकताअनुसार थप कर्मचारी ल्याउन सरकारी निर्णयले सहज बनाएको छ । गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल आयोजनाले पनि ५५ जना चिनियाँ प्राविधिक तथा कर्मचारीहरू ल्याउने प्रक्रिया अघि बढाएको छ ।

आयोजना प्रमुख प्रवेश अधिकारीले हाल २५ आयोजना स्थलमा कार्यरत रहेको भन्दै धावनमार्ग ९रनवे०मा बत्ती जडान गर्ने, सेन्टर एसी जडान, ट्याक्सी वे तथा टर्मिनल भवनभित्रको कामका लागि ३५ जना प्राविधिकहरू ल्याउने तयारी गरिएको बताए ।

उनले ५ दिनअघि सरकारबाट प्राविधिक ल्याउन स्वीकृत पाएको र उनीहरूले पनि भिसा आवेदन दिएको जानकारी आएको बताए ।

यस्तै सोही आयोजनामा अर्को काम गरेको कम्पनी एरोनोटिकल रेडियो अफ थाइल्यान्डबाट २० जनाको विशेषज्ञ टोली ल्याउने तयारी गरिएको छ । उनीहरू जहाज उडान पूर्वका उपकरणहरू जडान गर्ने र त्यसपछि विशेष विमान ल्याएर परीक्षण गर्ने क्रम शुरू हुन्छ ।

थाइल्यान्ड काठमाडौं डाइरेक्ट फ्लाइट नभएको हुँदा चार्टर गरेर आउने भन्ने विषयमा कुरा भएको छ । यद्यपि आउने मिति भने निश्चित भएको छैन । कूटनैतिक पहल गरिएको र नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेकाले पनि केही विलम्ब हुने सम्भावना रहेको आयोजनाको भनाइ छ ।

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा पनि १६ जना चिनियाँ कर्मचारीहरू ल्याउन जरुरी भएको र त्यसका लागि सम्बद्ध निकायमा पत्राचार गरिसकेको आयोजनाले जानकारी दिएको छ । विमानस्थलको डेकोरेशनलगायत कामका लागि ती कर्मचारी ल्याउन लागिएको हो । सो आयोजनामा अहिले १७२ जना चिनियाँ कामदार कार्यरत छन् ।

नागढुंगा नौबीसे सुरुङमार्ग निर्माणका लागि पनि थप २६ जना कर्मचारीहरू जापानबाट आउँदै छन् । यद्यपि सरकारको निर्णयअघि नै १६ जना कर्मचारी ल्याउन पहल गरिएको र उनीहरू असोज अन्तिमसम्ममा आइपुग्ने निमित्त आयोजना प्रमुख रूपक राजभण्डारीले जानकारी दिए ।

सरकारको निर्णयले विदेशबाट आउने कर्मचारीहरू ल्याउन थप सहज भएको भन्दै उनले भने, ‘यो संख्यासँगै थप १० जना ल्याउन जरुरी छ, त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाएका छौं ।’

दशैंपछि पूर्ण क्षमतामा सुरुङमार्ग निर्माणको काम अघि बढ्ने राजभण्डारीले बताए । सुरुङमार्गको प्वाल पार्ने कामका लागि विस्फोटक पदार्थ दशैंअघि आइपुग्ने र त्यसपछि पूर्ण क्षमतामा काम अघि बढाउने उनको भनाइ छ ।

यस्तै, नारायणगढ बुटवल सडक खण्डका लागि पनि ४० जना कर्मचारी ल्याउन आवश्यक देखिएकाले प्रक्रिया शुरू गरिएको आयोजनाको भनाइ छ । वर्षायाम पनि सकिन लागेकाले अब तीव्र गतिमा काम गर्न प्राविधिक कर्मचारीहरू ल्याउन शुरू गरिएको उक्त खण्डका प्रमुख सुजन अधिकारीले जानकारी दिए । आजको आर्थिक अभियान दैनिकबाट

IME Life
kumari