stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

दर्जनभन्दा बढी सडक अझै अवरुद्ध

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विगत केही दिनदेखिको लगातारको भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरको सडकमा क्षति पुगेको छ । बाढी र पहिरोका कारण देशभर राष्ट्रिय राजमार्गमा मात्र दर्जनभन्दा बढी स्थानमा अझै पनि अवरोध जारी रहेको छ ।

सडक विभागका अनुसार बिहीबार साँझसम्म देशभरका विभिन्न स्थानमा राष्ट्रिय राजमार्गमा मात्र एक दर्जन बढी स्थानमा सडक अवरुद्ध छ । अवरोध सिर्जना भएको झन्डै एक सय स्थानमा भने अवरोध हटाएर एकतर्फी तथा आंशिक रूपमा सवारी आवतजावत खुलाइएको छ ।

पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिक चार किलोमा बिहीबार मध्याह्नदेखि दुईतर्फी नै गाडी चलेका छन् ।

पाँच किलोमा भने एकतर्फी मात्र गाडी चलेको छ ।पृथ्वी राजमार्गको कुरिनटारमा पनि एकतर्फी सडक खुलेको छ । सो स्थानमा बुधबार बिहानदेखि नै पहिरोले सडकमा अवरोध सिर्जना गरेको थियो ।

सडक विभागका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गतको पिपलडाँडामा सडक अवरोध जारी रहेको छ । यस्तै, कान्तिपथअन्तर्गत भालुखोला, छपेलीमा पनि सडक अवरुद्ध भएको छ ।

बेनी जोमसोम कोरोला सडक अन्तर्गत काभ्रे र रुप्सेमा सडक अवरुद्ध छ । बेंसीसहर चामे सडकअन्तर्गत घोप्टे खोलामा पनि सडक अवरुद्ध भएको छ ।

सडक विभागले साँफेबगर–मार्तडी सडकअन्तर्गत बलेना–जडंगामा बेली ब्रिजमा क्षति पु¥याउँदा सडक अवरुद्ध भएको जनाएको छ । सोही सडकखण्डको बूढीगंगास्थित आरसीसी ब्रिज पनि भत्काइदिएको छ भने बाजुरास्थित बलेनामा पनि सडक अवरुद्ध छ ।

सडक विभागले भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण क्षति पुगेर अवरुद्ध हुन पुगेका राष्ट्रिय राजमार्गअन्तर्गत ९८ स्थानमा आंशिक तथा एकतर्फी सवारी आवतजावत सुरु भएको जनाएको छ ।

विभागका प्रवक्ता शिवहरि सापकोटाले क्षति पुगेका विभिन्न ठाउँमा सडक खुलाउन पहल जारी रहेको र झन्डै सय स्थानमा आंशिक तथा एकतर्फी रूपमा सडक खुलाइएको जनाएका छन् ।

सडक विभागका अनुसार अरनिको राजमार्गअन्तर्गतको कोठे, लामोसाँघु बाह्रबिसे, खुर्सानी, सिरिसे, खग्दोलमा अवरुद्ध भएको सडक आंशिक तथा एकतर्फी रूपमा खुलाइएको छ ।

अरनिको राजमार्गअन्तर्गतकै खग्दोल, जम्बु, झ्याले, चाकु, डाकलांगस्थित तीन ठाउँ, माथिल्लो भोटेकोसी ड्याम, कोप्लुंग, घट्टेखेलामा अवरुद्ध भएको सडक पनि एकतर्फी तथा आंशिक रूपमा खुलाइएको छ ।

यसैगरी, कोसी राजमार्गअन्तर्गतको भेडेटार मूलघाट खण्ड, बेंसीसहर चामेड सडकअन्तर्गतको पुमा खोला, कान्तिपथअन्तर्गतको घट्टे पख, बाघधारा, शिलालेख र छपेलीमा अवरुद्ध भएको सडक पनि आंशिक तथा एकतर्फी रूपमा खुलाइएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत केवलकार, सिद्धिचरण राजमार्गअन्तर्गतको सिस्नेरी भीर, साल्मे भीर, चित्रेबजार क्षेत्र, लेगुवा भोजपुर सडक अन्तर्गतको ओदाने, बीपी राजमार्ग अन्तर्गतको कमेरेफाट, टुपिडाँडा, बेंसीहर चामे सडक अन्तर्गतका पुवा खोला, खरखरेभरी, तारिकुना, रामबजार, स्यांगे, श्रीचौर र राम्दीमा अवरुद्ध भएको सडक पनि आंशिक तथा एकतर्फी रूपमा खुलाइएको छ ।

यस्तै, सिद्धार्थ राजमार्ग अन्तर्गतको राम्दी, दोभान, सिद्धबाबा र पाल्पास्थित गौडे पुल, बेनी जोमसोम कोरोला सडक खण्डका एक आधा दर्जन स्थान, कान्ति लोकपथका आधा दर्जन स्थान, गल्छी त्रिशूली मैलुंग स्याफ्रुबेंसी रसुवागढी सडक खण्डका दुई स्थानमा अवरुद्ध सडक पनि खुलाइएको छ ।

अरनिको हाइवेअन्तर्गतको जुरे, दक्लांग र राप्ती राजमार्गअन्तर्गत एरही, शहीदमार्ग सडक योजनाअन्तर्गतको घर्तीगाउँ–थवाङ खण्डमा अवरुद्ध सडक पनि आंशिक तथा एकतर्फी रूपमा खुलाइएको छ ।

सडक विभागले अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा आएका सडक खुलाउने प्रयास भइरहे पनि वर्षा जारी रहेकाले समस्या भएको जनाएको छ । आजको राजधानी दैनिकबाट

prabhu mahalaxmi
kumari