stcnepal long ad
global ime bank long

सबैको सल्लाहमा महाधिवेशन सारिने छः नेकां सभापति देउवा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ का कारण पार्टीको १४ औं महाधिवेशन तोकिएकै समयमा गर्न कठिन देखिएकाले सबैको सल्लाहमै मिति सारिने बताउनु भएको छ । उहाँले महाधिवेशनमा स्वस्थ र निष्पक्ष प्रतिस्पर्धा गराउन आफू तयार रहेको स्पष्ट पनि पार्नुभयो ।

संविधानले तोकेको अवधिभित्रै महाधिवेशन गर्न आफू पूर्णप्रतिबद्ध रहेको बताउँदै सभापति देउवाले भन्नुभयो, ‘‘महाअधिवेशन तोकिएकै समयमा हुनुपर्छ । म त समयमै गर्ने पक्षमा छु तर कोरोनाका यत्रो महामारी छ, त्यसैले सार्नुपर्ने हुन सक्छ, त्यसलै सबैको सल्लाहमै मिति सारिने छ ।’’ कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुनमा हुने तय भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले बुधबार बी।पी। कोइरालाको १०७ औं जन्म जयन्तीको सन्दर्भ पारेर आयोजना गरेको ‘बीपी विचार समुन्नतिको मूलबाटो’ विषयका अभौतिक गोष्ठीलाई सम्बोधन गर्नु हुँदै पूर्व प्रधानमन्त्री देउवाले बीपीले देखाएको बाटो कहिल्यै नछाडेको बताउनुभयो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा सर्वसम्मत् नेतृत्वका लागि पहल गरौं, त्यसमा म तयार छु, आवश्यक आधारहरू तय गरौं र त्याग गर्नुपर्ने अवस्था आएमा सबैले तयार हुनुपर्छ भन्नुभयो । एकता न्याय, निष्पक्ष र पारदर्शी हिसाबले मूल्याङ्कनका आधारमा हुनुपर्ने जोड उहाँको छ ।

उपसभापति विमलेन्द्र निधिले पार्टीको नेतृत्वको चयन सर्वसम्मत गर्नुपर्छ भन्दै कांग्रेसले वैचारिक नीतिमा पार्टीमा एकता हुनैपर्छ भन्नुभयो । अर्का उपसभापति विजयकुमार गच्छदारले १४ औं महाधिवेशन एकताबद्ध भएर स्वस्थ प्रतिस्पर्धाका आधारमा गर्ने वातावरण सिर्जना गर्न सबै लाग्नुपर्ने विचार राख्नुभयो ।

महामन्त्री डा। शशांक कोइरालाले पार्टीमा एकजुट भएर जानुको विकल्प छैन भन्दै १४ औं महाधिवेशनपछि गुटउपगुटको अन्त्य हुनेदाबी गर्दै आफू बीपीको पथ चिह्नबाट अगाडि बढ्ने अठोट व्यक्त गर्नुभयो ।

पूर्व उपसभापति गोपालमान श्रेष्ठले भन्नुभयो, पार्टीभित्र खुट्टा तान्ने प्रवृत्तिले काँग्रेसलाई कमजोर गराएको छ, हामी सबै मिलेर कोरोनाबाट आफू र अरुलाई पनि बचाएर महाधिवेशन गर्नुको विकल्प छैन । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्र बृहत् एकता कायम गरेर सबै लोकतन्त्रवादीलाई साथमा लिएर अगाडि बढ्नु पर्ने तर्कअघि सार्नुभयो । नेता सिटौलाले कोरोनाले महाधिवेशनको पूरै कार्यक्रम प्रभावित भएको छ, केन्द्रीय कार्य समितिको बैठक राखेर त्यसमा जीवन्त छलफल गरौं, महाधिवेशनमा खेलको नियम पालना गरेर जसले जितेर आए पनि सहज हुने वातावरण सिर्जना गरौँ भन्नुभयो ।
बीपी सानो देशको ठूलो नेता
सभापति देउवाले जननेता बीपी कोइरालाले राष्ट्रियता र प्रजातन्त्रको मामिलामा आफ्नो ज्यानै बाजी लगाएर भए पनि कहिल्यै सम्झौता नगरेको चर्चा गर्दै उहाँ सानो देशको ठूलो नेता भएको बताउनुभयो । बीपी नेपालको पहिलो राष्ट्रवादी र समाजवादी नेता हो, बीपीले नै नेपालमा समावेशी सिद्धान्तलाई अप्नाएर २०१६ सालमा मन्त्रिपरिषद् गठन गरेको सन्दर्भ पनि देउवाले औंल्याउनुभयो ।

वरिष्ठ नेता पौडेलले बीपी आमूल परिवर्तनकारी, मितव्ययी नेता भएको चर्चा गर्नुभयो भने उपसभापति विमलेन्द्र निधिले नेपालको एकीकरण पृथ्वीनारायण शाहले गरे भने आधुनिक लोकतान्त्रिक राज्यको सुरुवात बीपीबाट भएको बताउनुभयो ।

उहाँले २००७ सालपछि मात्रै राज्यका तीन अङ्ग र लोकसेवा आयोग स्थापना भएको उल्लेख गर्नुभयो ।
सहमहामन्त्री डा. प्रकाशशरण महतले बीपी विचारबाटै समुन्नति सम्भव छ, उहाँले नै आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणबाट अगाडि बढ्नुपर्छ भन्ने मार्ग निर्देश गर्नुभएको बताउनुभयो ।

कांग्रेस नेताहरूले बीपीको समाजवादी विचार छाडेको भन्ने आरोप सत्य नभएको र समय अनुसार बीपीको बाटोमा कांग्रेस अगाडि बढेको दाबी गर्दै हजुरबा पुस्ता र नाति पुस्ताबीचको विकासमा फरक पर्ने मत राख्नुभयो ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले प्रविधिमैत्री अभियान सुरु गरेको र २१ वर्षपछि वेभसाइड परिवर्तन भई अब पार्टीका सबै निकायको वेभसाइड र इमेलमा एकता आउने जानकारी दिनुभयो ।
कोरोनाविरुद्ध एक भएर लडौं
सभापति देउवाले कोरोना महामारीबाट बच्न माक्स लगाउन र दूरी कायम गर्न सबैसँग आग्रह गर्दै कोरोनाबाट आफू पनि बच्न र सबै नेपालीलाई बचाउने कार्यमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘‘अहिलेको सरकारले कोरोनाको नाउमा भ्रष्टाचारबाहेक केही गर्न सकेको छैन । जनता जोगाउन लाग्नु होस्, प्रसार प्रसार गरेर उनीहरूलाई सचेत गराउने कार्यमा लाग्न म सबैसँग अपील गर्छु ।’’ यो समाचार आजको गोरखापत्र दैनिकमा नारद गौतमले लेखेका  छन।

IME Lifesidebar
kumari