आज आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धी छलफल

आर्थिक सञ्जाल
काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धी छलफल आज हुँदै छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गर्दै सरोकारित निकायहरूलाई (शुक्रवार) दिउँसो १२ः५५ बजे सिंहदरबारस्थित मन्त्रालयको सभा हलमा बोलाएको छ ।
मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय र सङ्घीय मामिला मन्त्रालयका प्रतिनिधिलाई छलफलमा बोलाएको छ ।
त्यसै गरी निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेल, महासचिव सुबोध कुमार देवकोटा, सचिव अम्बादत्त भट्ट र कोषाध्यक्ष सिन्धु कुमारी पाण्डेसहित नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष केदार प्रसाद देवकोटा, कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेल, सङ्गठन निजामतीका अध्यक्ष हरि रावल र मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीलाई बैठकमा आमन्त्रण गरिएको छ ।
बैठकमा केही दिनमै सकिन लागेको युनियनको म्याद एक वर्ष थप्ने कि निर्वाचनमा जाने लगायत विषयमा छलफल हुने छ । त्यसै गरी कार्यवाहक अध्यक्षको विषयमासमेत थप छलफल गरिने एक कर्मचारी नेताले बताएका छन् ।