नक्कली सवारी चालक अनुमति पत्र बोकेर भाडाको बस चलाउने २ जना पक्राउ
काठमाडौँ । नक्कली सवारी चालक अनुमति पत्रसहित दुई जनालाई मंगलबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौँको मनमैजु बस्दै आएका २३ वर्षीय श्रीकृष्ण भुर्तेल र सिन्धुली घर भई काठमाडौँको स्वयम्भू बस्ने २७ वर्षीय भीम बहादुर स्याङतानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले आज एकान्तकुनामा बा ४ ख ३८ ५१ नम्बरको बस चेक गर्ने क्रममा श्रीकृष्ण भुर्तेलको (०१–०६–०१०४८१८५ वर्ग B,G) सवारी चालक अनुमति पत्र फेला पारी शङ्का लागेर विद्युतीय माध्यमबाट चेक गर्दा वर्ग द्य मात्र खुल्न आएको थियो ।
त्यस्तै यही वैशाख १ गते जावलाखेलमा ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीको लागि लिएको (०१–०६–००९८)७२४ वर्ग A, B, F ० सवारी चालक अनुमति पत्र लिन आएको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाटै ट्राफिक प्रहरीले भीम बहादुर स्याङतानलाई नियन्त्रणमा लिएको हो ।
उनको सवारी चालक अनुमति पत्र विद्युतीय माध्यमबाट चेक गर्दा कुनै पनि विवरण फेला नपरेकाले उनलाई नियन्त्रणमा लिइएको हो ।
बा २ क ९८ ०१ नम्बरको ट्रक चलाएको अवस्थामा स्याङतान कारबाहीमा परेका थिए । नियन्त्रणमा आएका दुबैजनालाई आवश्यक अनुसन्धानको लागि सवारी चालक अनुमति पत्र सहित प्रहरी वृत्त सिंहदरबार पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।























