अद्यावधिक नक्सा निशानाछापमा राख्न संविधान शंशोधन प्रस्ताव दर्ता

आर्थिक सञ्जाल
काठमाडौं । नेपालको संविधानको अनुसूचीमा हाल कायम रहेको निशानछापमा अद्यावधिक नेपालको नक्सा समावेश गर्ने उद्देश्यले सङ्घीय संसद् सचिवालयमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ दर्ता भएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको नेपालको वास्तविक सीमाअनुरुपको नक्सालाई निशानछापमा समावेश गर्न संविधान सशोधन विधेयक दर्ता गरेको हो ।
“निशानछापभित्र अङ्कित नेपालको नक्सालाई वास्तविक सीमाअनुरुप मिलाउन आवश्यक भएकाले संविधानको अनुसूची ३ मा संशोधन गर्ने प्रयोजनका लागि संशोधन विधेयक पेश गरिएको छ ” विधेयकको उद्देश्य र कारणमा भनिएको छ ।
दर्ता भएको संशोधन विधेयक पाँच दिनमा प्रतिनिधिसभाको बैठकमा पेश हुनेछ । संशोधनसम्बन्धी विभिन्न चरण पार गरेपछि दुई तिहाइ सांसदको हस्ताक्षरसहित सो विधेयक राष्ट्रियसभामा प्रवेश हुने छ । विधेयक पारित भएपछि सभामुखले प्रमाणित गर्ने र राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि लागू हुनेछ ।
मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेत समेटेर जारी गरिएको नक्सा निशाना छापमा राख्नेगरी सविधान शंशोधनको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो ।