stcnepal long ad
ime life insurance
global ime bank long

अमेरिकामा कोरोना संक्रमित संख्या १५ लाख नाघ्दा, मृतकको संख्या ९० हजार नजिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ४ गते आइतबार

(आर्थिक सञ्जाल प्रतिनिधी) गणेश थापा

क्यालिफोर्निया,  १७ मे २०२० । नोवल कोरोना भाइरसको संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेको संख्या ९० हजार नजिक पुगेको छ ।

विश्वको सुपरपावर अमेरिकामा संक्रमितको संख्यामा समेत तीब्रगतिमा बृद्धि भइरहेको छ । अफिसियल डाटा अपडेट गर्दैआएको न्युजब्रेकका अनुसार गत जनवरीमा कोभिड-१९ को संक्रमण देखिएयता अमेरिकामा अहिलेसम्म १५ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

यस अवधिमा कोरोना भाइरसको संक्रमणबाट ८९ हजार ४८६ जना अमेरिकाबासीहरूको ज्यान गएको छ । यो तथ्यांक क्यालिफोर्नियाको स्थानीय समय अनुसार शनिबार राति ३ बजे (नेपाली समय आइतबार अपरान्ह ४ बजे) सम्मको प्राप्त अपडेट हो ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट करीव ४७ लाख २० हजार मानिस संक्रमित भइसकेको विश्वभरको कूल संख्याको झण्डै ३३ प्रतिशत मानिस अमेरिकामा मात्रै संक्रमित भएका छन् ।

हिजो मात्रै १३ सय बढीको मृत्यु भएकोमा आज २४ घण्टाको अवधिमा करीव सॉढे १२ सयको हाराहारीमा मानिसहरूले ज्यान गुमाएका छन् । संसारभर अहिलेसम्म करीव ३ लाख १५ हजारको मृत्यु भइसकेको छ । यो समाचार तयार पार्दाताकासम्म सान फ्रान्सिस्को क्रोनिकल मिडियाका अनुसार न्यूयोर्कमा सवैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

त्यहॉ मृत्यु हुनेको संख्या २८ हजारको हाराहारीमा पुगेको छ । यसैगरी संक्रमितको संख्यामा समेत बृद्घि भएर सॉढे ३ लाख माथि पुगेको छ । यता क्यालिफोर्नियामा पनि मृतको संख्या ३२०८ नाघेको छ भने झण्डै ७९ हजार मानिसमा संक्रमण देखिएको छ ।

कोरोना संक्रमणका कारण दिनहुँ २ हजार बढीको मृत्यु भइरहेको अमेरिकामा केही दिनयताबाट मृतक तथा संक्रमितको संख्यामा कमी आएको छ । आज २४ घण्टाको अवधिमा करीव २४ हजार ५ सय नयॉ विरामीहरू थपिएका छन् ।

स्वास्थ्य क्षेत्रका विशेषज्ञहरूले अमेरिकामा कोभिड-१९ को संक्रमणबाट २ लाख बढीको मृत्यु एवम् दसौं लाख मानिसमा संक्रमण फैलिन सक्ने चेतावनी दिदै आएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिएयता यहॉ करीव २ लाख ६४ हजार विरामी उपचार पश्चात घर फर्किसकेका छन् । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा हालसम्म १५ जना नेपालीहरूको मृत्यु भएको छ भने संक्रमित हुने नेपालीको संख्या सयौं छ ।

अमेरिकाका ५० वटै राज्यमा फैलिएको कोरोनाबाट करीव २ करोड जनसंख्या रहेको न्युयोर्कमा मृतक तथा संक्रमित संख्या अन्यत्रभन्दा बढी छ । सो ठॉउमा नेपालीहरूको समेत बाक्लो बसोबास रहेको हुँदा त्यहॉ सवैभन्दा बढी नेपाली प्रभावित भएको बताइएको छ । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या १५ सयभन्दा बढी रहेको सामाजिक संघसंस्थाहरूले जनाएका छन् । नेपालीमूलका अमेरिकाको मेरिल्याण्डका राज्यसभा सदस्य ह्यारी भण्डारी कोरोना संक्रमितको सहयोग तथा मृतकहरूको शव व्यवस्थापनमा सक्रिय भूमिका खेल्दैआएका छन् ।

यसैबीच कोरोना भाइरसबाट प्रभावित सर्वसाधारण नागरिक, मजदुर, व्यापार व्यावसाय, स्वास्थ्य तथा आर्थिक क्षेत्र लगायत राज्य र स्थानीय सरकारलाई समेत समेट्नेगरि ल्याइएको करीव ३ ट्रिलियन डलर बराबरको विशाल आर्थिक राहत प्याकेज सम्बन्धी विधेयक शुक्रबार अमेरिकी संसदको तल्लो सदन (हाउस) बाट पारित भएको छ ।

डेमोक्रेटिक सांसदहरूको योजनामा ल्याइएको उक्त विधेयकको विपक्षमा रहेको सत्तारूढ रिपब्लिकन पार्टीको सहमतिविना माथिल्लो सदन (सिनेट) बाट पास हुने संभावना न्युन छ । सिनेटमा रिपब्लिकनको बहुमत छ । विधेयकमा प्रतिव्यक्ति पुन: १२ सय डलर तथा ५ जनासम्मको परिवारलाई ६ हजार डलर वितरण गर्नेदेखि मजदुर, विद्यार्थि लगायत विपन्न वर्गलाई समेटिएको छ ।

महामारीको रूपमा फैलिएको कोरोना संक्रमणपछि उत्पन्न परिस्थितिसंग लडिरहेको विश्वको सर्वशक्तिमान राष्ट्र अमेरिकामा अदृश्य यस भाइरसको नियन्त्रणमा लामो समय लाग्नसक्ने विज्ञहरूले बताएका छन् ।

अहिलेसम्म अमेरिकामा इतिहासमै सर्वाधिक ३ करोड ६० भन्दा बढी मानिसले वेरोजगार भत्ताका लागि फारम भरेका छन् । आफू वेरोजगार भएको पुष्टि गरेमा प्रति हप्ता झण्डै ८ सय डलरसम्म भत्ता प्राप्त गर्नेछन् ।

यता राष्ट्रपति डोनाल्ड ट्रम्प भने यसै वर्षको अन्त्यसम्ममा कोरोनाविरूद्धको भ्याक्सिन आइसक्ने, आगामी दिनमा भाइरसको संक्रमण कमहुदै जाने, प्रभावित अमेरिकी व्यापार व्यवसाय, जनजिवन र खस्किरहेको अर्थतन्त्रलाई चाडै नै पुरानै अवस्थामा फर्काउने आफ्नो आत्मविश्वासलाई देशबासीमाझ बाँडिरहेका छन । यसबीचमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसबाट प्रभावित विभिन्न राज्यहरूको भ्रमण गर्नुका साथै स्वास्थ्य सामग्री तथा आवश्यक सहयोग उपलब्ध गराउनेतर्फ केन्द्रित रहेका छन् ।

यो उनको चुनावी रणनीति पनि हुनसक्ने विश्लेषकहरू बताउछन् । अमेरिकामा आउँदो नोभेम्वरमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुदैछ ।

prabhu mahalaxmi
kumari