stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

कालापत्थर देखियो कुमारी हिमाल

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । यस वर्षको पुस गयो, माघ पनि आधा आधि जान लाग्दासमेत कुमारी हिमाल माछापुच्छ्रेले आफ्नो रूप देखाउनै सकेन। अहिले सुदूरपश्चिम र कर्णालीतिर हिउँ परे पनि माछापुच्छ्रेसम्म हिउँ आइपुगेको छैन।

बायाँ धौलागिरि र दायाँ अन्नपूर्ण च्यापेर बसेको माछापुच्छ्रेको कञ्चन हिउँ पग्लेर क्रमशः कालो पहाडमा परिवर्तन हुँदै गएको छ। पोखरा आउने पर्यटकको रोजाइमा परी क्यामरामा कैद हुने माछापुच्छ्रेसँग यतिबेला पर्यटक पनि खुसी छैनन्। क्यामराका लेन्सले खोजेको माछापुच्छ्रेले आफ्नो रूप लुकाएजस्तो देखिन्छ।

पोखरा भन्नेबित्तिकै फेवाताल र माछापुच्छ्रेकै कुरा आउँछ तर आज माछापुच्छ्रे आफैँ खुसी छैन। अन्य हिमाल आरोहण गरे पनि माछापुच्छ्रेलाई अहिलेसम्म कसैले आरोहण गर्न नसकेकाले पोखरेलीहरू यसलाई ‘कुमारी हिमाल’को नामबाट सम्बोधन गर्दछन्।

पर्यटनविद् झलक थापा भन्नुहुन्थ्यो, “माछापुच्छ्रे होइन, कुमारी हुन्।” तर अहिले कुमारी हिमाल कुमारीजस्तो हुन सकेको छैन।

आफ्नो हिउँको घुम्टो उघारेर कालो रूप देखाउने रहर त माछापुच्छ्रेलाई पनि थिएन होला। यसको पछाडिको कारण समयमै खोज्नुपर्ने स्थानीय पर्यटनविद्हरू बताउँछन्।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा आएका पर्यटकले यतिखेर सफेद, स्वच्छ, मनमोहक हिमालको सुन्दरता अघाउने गरी हेरेर आनन्द लिन नसकेको बताउनुभयो। उहाँले थप्नुभयो, “हिमालको हिउँ हराउँदै जानुको पछाडिको कारण अन्तर्राष्ट्रिय स्तरबाटै अनुसन्धान गरिनु पर्दछ।”

पश्चिमी वायुले वर्षा नगराउँदा कुमारी हिमाल माछापुच्छ्रेले सेताम्मे हिमालको रङ्ग अनुभूत गर्न पाइनन्। वातावरणविद् डा. कृष्ण केसी भन्नुहुन्छ, “समुद्रमा उत्पन्न हुने लालिनाको गतिविधि सक्रिय हुनुपर्ने थियो, अहिलेसम्म भएन।

त्यसैले पनि हिउँ परेन।” छ हजार ९९३ मिटर उचाइको माछापुच्छ्रेभन्दा ८१६७ मिटरको धौलागिरि हिमालमा केही हिउँ देखिएको छ। धौलागिरिको चौथो लहरसम्म हिउँ भए पनि माछापुच्छ्रेमा भने मट्ठै नभएको डा। केसीले बताउनुभयो।

जलवायु परिवर्तनका कारण विश्वभर नै यस्ता समस्या आइरहेका छन्। कार्बनडाइअक्साइडको उत्सर्जन माथिल्लो तहमा गएर बस्नाले पृथ्वीको तापक्रम बढ्दै गएको प्रा.डा. केसीको भनाइ छ।

पृथ्वीको तापक्रम स्वतन्त्र रूपमा वायुमण्डलमा जानुपर्ने थियो, ग्रिनहाउसको लेयरले छेक्दा उस्तो समस्या आएको उहाँको भनाइ छ।

पोखराको मौसमको कुरा गर्दा मङ्सिर १५ देखि फागुन १५ सम्म हिउँदे वर्षा हुनुपर्ने हो। अब थोरै समय मात्र बाँकी छ। लोमाङथाङ निवासी कर्म विष्ट भन्नुहुन्छ, “हिउँ नपर्दा तत्काल जाडो कम भएर सहजजस्तो लागे पनि यसले दीर्घकालीन रूपमा असर गर्छ।”

अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालयका संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जलपारिस्थितीय प्रणालीमा चुनौती थपिएको बताउनुभयो। यसले बोटबिरुवा, कृषि, खेतीपाती र जलविद्युत्मा समेत असर परेको उहाँले भन्नुभयो।

एक्यापकै ल्वाङ इलाकाका सब–इन्जिनियर रामजी आचार्यले हिमालमा हिउँ नपर्दा माथिल्लो क्षेत्रमा हिउँदे खेती प्रभावित भएको र हिउँचितुवाजस्ता लोपोन्मुख जनावर झनै सङ्कटमा परेको बताउनुभयो।

कवि तीर्थ श्रेष्ठले भन्नुभयो, “माछापुच्छ्रेको घट्दो हिउँले लेख्दालेख्दै लेखकको कलम मात्र होइन, भावना नै रोकिन पुगेको छ। यो निकै दुःखको कुरा हो।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

kumari bank
kumari
nawakantipur long