उपत्यकामा मापदण्डभन्दा बढी धुवाँ फालेर वायुप्रदूषण गराउने २७ वटा सवारीसाधनलाई कारबाहीमा
काठमाडौं । वन तथा वातावरण विभागले काठमाडौँ उपत्यकामा मापदण्डभन्दा बढी धुवाँ फालेर वायुप्रदूषण गराउने २७ वटा सवारीसाधनलाई कारबाही गरेको छ ।
काठमाडौंको बबरमहलमा वातावरण विभाग तथा ट्राफिक प्रहरीद्वारा गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा गाडीलाई जरिवानासहित कारबाही गरिएको विभागका महानिर्देशक वनराज घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार कारबाहीमा परेका गाडीमा भाडाका मिनीबस १४, पिकअप भ्यान आठ, भाडाका माइक्रोबस तीन र कार दुई छन् । वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्तरूपमा खटिएको टोलीले बबरमहलमा ५३ वटा सवारीसाधन जाँच गर्दा २७ सवारीसाधान कारबाहीमा परेका हुन् ।
गाडी मर्मतपछि तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने जनाइएको छ ।
मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी चलाउँदा वायु प्रदूषण बढ्न गई मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले सवारीसाधनको अवस्था जाँच गरी चुस्तदुरुस्त अवस्थामा राख्न चालकलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता राजेन्द्रप्रसाद भट्टले अनुरोध गर्नुभएको छ ।

























