क्षत्री समाजद्धारा नेपाली भूमि अतिक्रमणको विरोध

आर्थिक सञ्जाल २०७७ जेठ २ गते शुक्रबार
पोखरा । नेपाली भूमि अतिक्रमणको विरोधमा क्षत्री समाज नेपालले आपत्ति जनाएकोे छ । राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि आवाज उठाउँदै आएको क्षत्री समाजले भारतद्धारा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा अतिक्रमण प्रति आपत्ति जनाएको हो ।
समाजका केन्द्रीय अध्यक्ष डा. दिलबहादुर क्षेत्रीले अतिक्रमित जग्गाको बारेमा कूटनीतिक पहल थाल्नु पर्ने र सीमा सुरक्षामा प्रभावकारी कदम चाल्न माग सहित कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापन पत्र बुझाउनु भयो । प्रजिअ ढकालले ज्ञापन पत्र बुझ्दै सम्बन्धित निकायमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
समाजले राष्ट्रिय एकता र अखण्डताको लागि क्षत्री समाजले इतिहास देखिनै बलिदानी दिदै आएको स्मरण गर्दै भूमि अतिक्रमण वीर गोर्खालीहरुको आत्मसम्मान माथिको प्रहार भएको बताएको छ ।
भारतले सन् २००८ देखिनै सडक निर्माण शुरु गरी सम्पन्न गरेर उद्घाटन गर्नु र नेपाल सरकार बेखबर हुनु गैह््रजिम्मेवार भएको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
समाजले देशका सबै जिल्लामा पहिलो चरणमा प्रजिअलाई ज्ञापन पत्र बुझाएको समाजका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो । उहाँले सरकारबाट प्रभावकारी रुपमा कूटनीतिक पहल नभए कोरोना नियन्त्रण पछि क्षत्री समाज देशव्यापी आन्दोलनमा उत्रने बताउनुभयो ।