stcnepal long ad
ime life insurance
national life
global ime bank long

आजबाट श्री स्वस्थानी व्रत सुरु : कथाले नारी शक्तिको महत्त्व दर्शाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। आजदेखि श्री स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म गरी एक महिनासम्म रहन्छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ ।

स्वस्थानी कथा अनुसार स्वस्थानी व्रत सुरुमा नारायण विष्णु, त्यसपछि पार्वती, गंगा, अप्सरा, गोमा, नागनागिनी, चन्द्रावती, नवराज हुँदै सर्वसाधारणमा व्रत सुरु भएको धार्मिक मान्यता छ ।

स्वस्थानी व्रत सुरु भएको दिन आजदेखि पनौतीको सालीनदीमा मेलासमेत लाग्ने गर्दछ । सालीनदीको पानीले नुहाएमा विभिन्न रोग नष्ट हुने, रोग लागेकाको रोग निको हुने र शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहने धार्मिक आस्था र विश्वास छ ।

संस्कृतिविद् हरिराम जोशी भन्नुहुन्छ, “स्वस्थानी व्रत वा साँखु जात्रा पनौतीबाट सुरु भएको हो । व्रतकथा सत्ययुगमा पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार तपस्या गरी व्रत बसेको कथासँग जोडिएको छ ।” पार्वतीको अर्को नाम ‘अर्पणा’ पनि हो । महादेव स्वामी पाउँ भनेर व्रत राख्दा पातसमेत मुखमा नराखेको कारण उहाँलाई ‘अर्पणा’ भन्ने गरिन्छ ।

यसरी पार्वतीले एक महिनासम्म व्रतस्वरुप भगवान शिवसँग विवाह भइसकेपछि लोक कल्याणका निम्ति परम्परागतरुपमा सोही व्रतकथा चल्दै आएको मानिन्छ ।

संस्कृतिविद् जोशीका अनुसार, स्वस्थानीलाई माधव नारायण भन्नुको विभिन्न कारण छन् । १२ महिनामा नारायण विष्णु भगवानले विभिन्न रूप लिनु हुने मान्यता छ ।

जसअनुसार बैशाखमा मधुसुदन नारायण, जेठमा त्रिविक्रम नारायण, आषाढमा वामन नारायण, श्रावणमा श्रीधर नारायण, भाद्रमा ऋषिकेश नारायण, असोजमा पद्मनारायण, कार्तिकमा दामोदर नारायण, मंसिरमा केशव नारायण, पौष महिनामा नारायण, माघमा माधव नारायण, फाल्गुणमा गोविन्द नारायण र चैत्र महिनामा विष्णुरूप लिनुहुने हुँदा माघ महिनामा नारायणको नाम माधव हुने भएकाले माधव नारायणको नामले माघ महिनाभर पुज्ने परम्परा चल्दै आएको हो ।

सुस्वास्थ्य, शान्ति र शिवजस्तो स्वामी र पुत्रलाभको कामना गर्दै शालीनदीमा महिलाहरु व्रत बस्ने परम्परा पुरानो हो । पहिले पहिले नेवार समुदायका महिलामा मात्र प्रचलन रहेको यो व्रत अचेल विभिन्न समुदायका महिला र पुरुषसमेतले व्रत लिने गरेको उहाँको भनाइ छ ।

अलिनो खाना खानुपर्ने परम्परा

चिसो मौसममा दैनिकरूपमा पवित्र शालिनदीमा स्नान गरी एक महिनासम्म कथा सुनेर ब्रत बसिने स्वस्थानी वा माधव नारायणप्रति नेपालीहरुको विशेष लगाव र विश्वास छ । यहाँ बस्ने व्रतालुले एक महिनासम्म नुन खान मिल्दैन ।

दैनिकरुपमा नित्यपूजा, जप, तप, ध्यान, स्वस्थानी श्रवण गरी सूर्यपूजा, शिव पार्वतीसहित सम्पूर्ण देवीदेवताको पूजा अर्चना गरी साँखु नगरभित्र एकसय आठ स्थानमा अष्टाङ्ग प्रमाण, सहस्र जलधारा अर्पण गर्ने र बेलुकी भएपछि कोठामा गई अलिनो खाना खानुपर्ने परम्परा छ । यस व्रत अवधिमा माछा, मासु, अण्डा, दाल, लसून, प्याज, साग, नून, तेल खान र प्रयोग गर्न पाइदैन ।

व्रतालुहरु विभिन्न तिथि मिलाएर खाली खुट्टा पहिला साँखुको ब्रजयोगिनी मन्दिर, पशुपति मन्दिर, फर्पिङ शेषनारायाण, पनौती  मन्दिर हुँदै अन्तिममा चाँगुनारायण मन्दिर जाने परम्परा छ ।

यस्तै, एक महिनासम्म सबै व्रतालुले माधवनारायण मूर्ती बोकेर तिथि अनुसार परदेश हिँड्नुपर्ने हुन्छ । यात्रामा सामान्य बिरामी भए शंखको पानी खाने, घाउचोट भए चन्दन घोटेर लगाउने चलन चल्दै आएको छ ।

संस्कृतिविद जोशी भन्नुहुन्छ, “स्वस्थानी व्रत बस्नुका धेरै विश्वास र आस्था छन् । स्वस्थानी कथामा पार्वती माताले स्वस्थानी व्रत बस्नाले महादेवजस्तो स्वामी पाउनुभएको र चन्द्रावती व्रत बस्नाले पूर्णवती भएको कथालाई आजको व्रत बस्ने चलनको आधार मान्न सकिन्छ ।”

व्रत अवधिभर बिहान माघस्नान गरी मध्याह्नमा श्रीमहादेवको पूजा आराधना र अघ्र्य दिने चलन छ । त्यस्तै, बेलुका प्रत्येक दिन स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार–अगस्त्य संवाद भएको श्रीस्वस्थानी व्रत कथा सुन्ने–सुनाउने चलन छ ।

संस्कृतिविद् पुरुषत्तोम श्रेष्ठ भन्नुहुन्छ “नेपाली समाज धार्मिक संस्कृति र मान्यताले अत्यन्तै प्रभावित छ । यसको सुन्दर उदाहरण हो यो स्वस्थानी व्रत वा माघी व्रत ।”

नारी शक्तिको महत्त्व दर्शाउने

उहाँका अनुसार स्वस्थानी व्रतले त्यसबखतको पुरुष प्रधान समाजलाई प्रस्तुत गर्छ । त्यो बेलाको शक्ति अर्थात् स्त्री जाती प्रधान धर्म, तन्त्र प्रधान धर्मको प्रभाव आजसम्म पनि छ । संसारका सारा नाराहरु शक्ति हुन् जसको प्रतीक पार्वती र दुर्गा भवानी हुन् ।

“स्वस्थानी आफैंमा एक शक्ति हो । स्वस्थानी व्रतको चलन मध्यकालको सुरुवातदेखि नै चल्न थालेको हो,” संस्कृतिविद् श्रेष्ठ भन्नुहुन्छ, “भक्तपुरको दत्रातय मन्दिरबाट केही पाइला अगाडि पूर्वपत्ति वाकुपति प्राचीन चाङ्गुनारायण मन्दिर छ ।

त्यो मन्दिरमा नेपाल संवत ५२८ को गरुढ स्तम्भको अभिलेखमा माघी व्रत बस्ने गुठियारहरुले गरुढध्वज स्थापना गरेको अभिलेख छ । जसले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा एक महिनामासम्म व्रत बस्ने परम्परा ५२८ देखि प्रचलनमा आएको पुष्टि गर्छ ।”

त्यस्तै, मध्यकालमा व्रत तथा शक्ति उपासनाको महत्त्व बढ्न उहाँ बताउनुहुन्छ । स्वस्थानी कथाले नारी शक्तिको महत्त्वसमेत दर्शाउने उहाँको भनाइ छ ।

श्रेष्ठ भन्नुहुन्छ, ‘‘शुद्ध मन र आस्थाले व्रत बस्नाले अज्ञानीलाई ज्ञान प्राप्त हुने, सन्तान नहुनेलाई सन्तान हुने, पुत्र नभएकालाई पुत्रलाभ हुने, धनसम्पत्ति नहुनेलाई धन प्राप्त हुने, घर परिवार वा श्रीमान्को सुस्वास्थ्य र दीर्घायुको कामनासहित धार्मिक आस्था र मान्यता रहेको छ ।’’आजको गोरखापत्र दैनिकमा समाचार छ ।

IME Lifesidebar
kumari