stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

घट्यो खाने तेलको मूल्य 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बजारमा खाने तेलको मूल्यमा सस्तो भएको भनिए पनि उपभोक्ताले भने घटेको मूल्यमा तेल पाउन सकेका छैनन् । उद्योगीले खुद्रा मूल्य घटाएको भए पनि त्यो तेल बजारमा नपुगेकाले उपभोक्ताले घटेको मूल्यमा तेल नपाएका हुन् ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार हाल खाने तेलको मूल्य प्रतिलिटरमा २०/२५ रुपियाँसम्म घटेको छ तर उद्योगीले भनेजस्तो प्रतिलटरमा ४० रुपियाँ घटेको मूल्य अहिलेसम्म बजारमा आइपुगेको छैन ।

सङ्घका महासचिव आमूल तुलाधरले पछिल्लो एक महिनाको अवधिमा खाने तेलको मूल्य प्रतिलिटर २५ रुपियाँसम्म सस्तो भए पनि प्रतिलिटरमा ४० रुपियाँ घटेको तेल अहिलेसम्म बजारमा नआएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “बजारमा घटेर आउनेबित्तिकै घटेकै मूल्यमा बिक्री हुन्छ । खुद्रा व्यापारमा उद्योगीको जस्तो एकछत्र होइन, हाम्रोमा धेरै प्रतिस्पर्धा छ । घटेको मूल्यमा दिइएन भने त हाम्रो व्यापार नै चौपट हुन्छ ।”

नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अनुसार पछिल्लो केही दिनयता खाने तेल प्रतिलटरमा मूल्य ३० रुपियाँदेखि ४० रुपियाँसम्म घटेको छ ।

पछिल्लो पटक भटमास तेल प्रतिलिटरमा ४० रुपियाँ र सनफ्लावर तेल प्रतिलिटर ३० रुपियाँ सस्तिएको सङ्घले जनाएको छ । सङ्घका अनुसार नयाँ घटेको मूल्य भर्खर मात्रै थोकसम्म आउन थालेको र छिट्टै बजारमा जाने र घटेको मूल्यमा उपभोक्ता उपभोग गर्न पाउने छन् ।

थोक व्यापारीले नेपालबाट यसअघि भारतमा निर्यात हुँदै आएको खाने तेल जान छोडेपछि खपत बढाउन तेल उद्योगीले बाध्य भएर मूल्य घटाएको र अझ घट्ने दाबी गरेका छन् । यसअघि अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्य बढेको भन्दै उद्योगीले मूल्य बढाएका थिए ।

एक वर्षअघि प्रतिकार्टोन दुई हजार एक सय रुपियाँ रहेको सूर्यमुखीको तेल केही समयअघि बढेर तीन हजार पाँच सय रुपियाँसम्म पुगेको थियो भने भटमासको तेल प्रतिकार्टोन तीन हजार दुई सय रुपियाँसम्म पुगेको थियो तर एक महिनायता तेलको मूल्य बिस्तारै घट्दै पुरानै स्तरमा फर्कन थालेको थोक व्यापारी छन् ।

किराना तथा थोक व्यवसायी सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले खाने तेलको बिक्री कम भएर मौज्दात हुन थालेपछि उद्योगीले नै मूल्य घटाएर भए पनि बिक्री गर्न बाध्य भएको बताउनुभयो ।

अर्को भारतमा खाने तेलमा शून्य भन्सार दरका कारण नेपालमा चोरीपैठारीबाट तेल आउने क्रम बढेकाले पनि तेलको भाउ अझै घट्न सक्ने उहाँको भनाई छ ।

यता तेल उद्योगीले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेसँगै नेपालमा पनि मूल्य घटेको दाबी गरेका छन् ।

नेपाल घिउ तेला उत्पादन सङ्घका अनुसार नेपालमा हाल तेल घट्नुको कारण अन्तर्राष्ट्रिय बजारमा खाने तेलको कच्चा पदार्थको मूल्य घट्नु र अर्को भारतको न्यून गुणस्तरको तेल बजारमा आउनु हो ।

सङ्घका अध्यक्ष सन्दीप अग्रवालले भारत सरकारबाट खाने तेलको आयातमा शून्य प्रतिशत भन्सार छुटको नीतिले भारतबाट अनधिकृत रूपमा नेपालमा तेल भित्रिन थालेकाले यसलाई रोक्नका लागि भारतले लागू गरेको भन्सार शून्यको नीतिलाई नेपालले पनि कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा अनधिकृत रूपमा भारतबाट खाने तेल भित्रिन थालेपछि तेलका उद्योग धमाधम बन्द हुन थालेका छन्, यसमा सरकार किन गम्भीर हुन नसकेको हो र?”

prabhu mahalaxmi
kumari