सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दज्र्यानी चिह्न प्रदान
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पदोन्नति भएका ६ जना प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षकलाई दज्र्यानी चिह्न प्रदान गरेका छन्।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बिहीबार आयोजित एक समारोहबीच उनले पदोन्नति भएका अधिकृतलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिँदै खाली रहेका विभिन्न पदमा तत्काल बढुवा गर्ने गरी कार्य भइरहेको बताए।
उनले पदोन्नतिसँगै प्राप्त भएको दर्जाअनुरुप आ–आफ्नो जिम्मेवारी र ट्रेड अनुसारको कार्यसम्पादनमा आर्थिक अनुशासनमा रहँदै पूर्ण व्यावसायिक भई जिम्मेवारी निर्वाहमा लाग्न अधिकृतहरूलाई निर्देशन दिए।
उनले राष्ट्रसेवक सशस्त्र प्रहरीहरु सबैले फौजी अनुशासनको पालना गर्दैै इमान्दारीपूर्वक सामुहिक भावनासाथ राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा क्रियाशील रहने विश्वाससमेत व्यक्त गरे।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले पदोन्नति तथा वृत्तिविकासका लागि समयानुकूल आवश्यक तालिमसमेत व्यवस्था गर्दै मौजुदा कार्यसम्पादन मूल्यांकन प्रणालीलाई वैज्ञानिक बनाइने चर्चा गरे।
सशस्त्र प्रहरी कर्मचारीले सकारात्मक सोचसाथ अध्ययनशील रहँदै इमान्दारीपूर्वक सम्पादन गरेका कार्यबाट सांगठनिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए।
गृह मन्त्रालय सचिवस्तरको असार २८ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह सञ्चार तथा इन्जिनियरिङतर्फको ६ जना सशस्त्र प्रहरी निरीक्षक सोही समूहको सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा पदोन्नति भएका हुन्।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमलगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत सहभागी थिए।

























