evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

पहिलो चरणमा लेखनाथ सवस्टेसनबाट पोखरासम्म बिजुलीको लाइन भूमिगत गरिने

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

पोखरा । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिलो चरणमा लेखनाथ सवस्टेसनबाट पोखरासम्म बिजुलीको लाइन भूमिगत गर्ने कार्य प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको भेटमा कार्यकारी निर्देशक घिसिङले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । पोखराको बिरौटामा अत्याधुनिक सवस्टेसन बन्न लागेको र त्यसमा सहजीकरण गरिदिन उहाँले प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।

 

 

अन्तका सवस्टेसनभन्दा फरक डिजाइनमा डोमभित्र सबस्टेसन निर्माण हुने र त्यसले वरिपरिको बस्तीमा केही असर नपार्ने जानकारी गराउँदै उहाँले यो सवस्टेसन बनेपछि पोखरामा झ्यापझ्याप बिजुली जाने क्रम रोकिने बताउनुभयो ।

मोदीखोलामा रहेका परियोजनाहरूबाट उत्पादित बिजुलीका लागि लाहाचोकमा सवस्टेसन बनिसकेको र त्यसको कनेक्सन लेखनाथमा भइसकेको छ ।

दाना, कुश्मा, बुटवल प्रशारण लाइनअन्तर्गत दानादेखि कुश्मासम्मको काम सम्पन्न भइसकेको र ग्रामीण भेगमा विद्युतीकरणका लागि सामान खरिद प्रक्रियामा केही समस्या आएको र त्यो समस्या छिट्टै सल्टाइने उहाँको भनाइ छ ।

निर्देशक घिसिङले सरकारी कार्यालयमा विद्युतीय गाडी प्रयोगमा जोड दिन आग्रह गर्नुभयो । प्राधिकरण पोखराको लेकसाइड, टुरिस्ट बसपार्कसहित तीन ठाउँमा स्मार्ट चार्जिङ स्टेसन बनाउन लागेको उल्लेख गर्दै उहाँले स्वदेशको विद्युत् खपत बढाउन, इन्धन आयात कम गर्न र सस्तोमा गाडी चढ्ने अवस्थाका लागि विद्युतीय गाडी प्रयोगमा जोड दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले अरु प्रदेशभन्दा गण्डकीमा धेरै विद्युत् उत्पादन हुने भए पनि कतिपय ग्रामीण भेगमा अझै पनि विद्युतीकरण हुन नसकेको स्मरण गराउनुभयो ।

गण्डकी प्रदेशको मादी करिडोर, मोदी करिडोर, मर्स्याङ्दी करिडोर र अन्य स्थानमा विद्युत् आयोजना धमाधम बनिरहेको अवस्थामा विद्युत् प्रशारण लाइन नहुँदा उल्झन सिर्जना हुन लागेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा बिजुलीको लाइन अन्डरग्राउन्ड गर्न प्रदेश सरकार, प्राधिकरण र पोखरा महानगरबीच सहकार्य हुनुपर्ने उहाँको भनाइ छ ।

ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री हरिशरण आचार्यले प्रदेश सरकारले सञ्चालन गरेको उज्यालो गण्डकी अभियान, काठेपोल विस्थापन अभियानमा भएका प्रगतिका साथमा प्राधिकरणसँग प्रदेश सरकारको अपेक्षाका बारेमा बताउनुभयो ।

गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियानमा नेपाल विद्युत् प्राधिकरणले सघाउने भएको छ । मुख्यमन्त्री निवासमा भएको भेटमा ऊर्जामन्त्री आचार्य, प्रमुख सचिव रवीलाल पन्थ सहभागी हुनुहुन्थ्यो ।

himalayan life insurance long ad
igi long