आयोडिन नुनमा फेरि चलखेल सुरू
काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ को बजेटमा जस्तै आर्थिक वर्ष ०७९/८० को बजेटमा पनि नुनमा निजी क्षेत्रलाई प्रवेश गराउने प्रावधान नआएपछि यस वर्ष पनि आयोडिनयुक्त नुन आयात र बिक्री(वितरणमा निजी क्षेत्रलाई दिन पुनस् चलखेल सुरू भएको छ ।
चालु आ.व.को बजेट ल्याउँदा तात्कालिक केपी शर्मा ओली सरकारमा बलियो प्रभाव सहित बालुवाटारमा रहेको निजी क्षेत्रका मोती दुगडको प्रभावमा आयोडिनयुक्त नुनको कारोबारमा निजी क्षेत्र प्रवेश गर्ने प्रावधान राखिएको थियो ।
दुगड घरानाले केही समयअघि नुनको कारोबार थालेको थियो । मोती दुगड तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार तथा पूर्व वाणिज्य राज्यमन्त्री हुन। त्यसको व्यापक विरोध भएपछि उक्त प्रावधान निष्क्रिय भएको थियो ।
सरकारी र निजी साझेदारीमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयोडिनयुक्त नुनको कारोबार विगत ५५ वर्ष भन्दा अगाडि देखि गर्दै आएको छ ।
उक्त कर्पोरेसनले सरकार तथा संसदीय समितिहरूमा लबिङ गरेर उक्त प्रावधान निष्क्रिय गराएको थियो । यस वर्षको बजेटमा पनि त्यस्तै प्रावधान घुसाउन निजी क्षेत्रका केही व्यक्ति र घराना लागिपरेका थिए तर उक्त कार्य सम्भव भएको देखिएन ।
अहिले उक्त कार्य सम्भव नभए पनि अर्को पटकका लागि वातावरण मिलाउन साल्ट ट्रेडिङले आयोडिनको मात्रा बढी मिसाएको भनेर गलत प्रचार–प्रसार गराउन थालेको छ ।
आयोडिनको मात्रा केही घटाउन कर्पोरेसनले विगत एक–दुई वर्षदेखि सम्बन्धित निकायमा पत्रचार भएपनि निर्णय भएको छैन।
यस पटकको चलखेल साल्ट ट्रेडिङको शेयर हिस्सा लिने गरी अर्कै घरानाबाट भएको छ । त्यस्तो कार्य नेपालीले भान्सामा प्रयोग गर्ने नुनमा आयोडिनको मात्रा बढी रहेको भन्ने रहेको छ ।
चिकित्सा क्षेत्रभन्दा बाहिरका केही विज्ञले गरेको अध्ययनको हवाला दिएर उक्त प्रचारबाजी भइरहेको छ ।
यस वर्षको बजेटमा पनि त्यस्तै प्रावधान घुसाउन निजी क्षेत्रका केही व्यक्ति र घराना लागिपरेका थिए तर उक्त कार्य सम्भव हुन सकेन ।
एक चिकित्सकले भने– नेपालीले आयोडिनको अभाव अझै झेल्नु परेको छ । आयोनुनको कमीले स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ ।
आयोडिनको कमीले हुने सुस्त मनस्थिति तथा गलगाँडजस्ता रोगको रोकथामका लागि आयोडिनको सही सदुपयोग गर्न चिकित्सकहरूले सुझाव दिदै आएका छन । आयोडिनको कमीले स्वास्थ्यमा अनेकौं समस्या हुने तर आयोडिन बढी भएमा कुनै पनि समस्या नहुने चिकित्सकहरूले बताएका छन । नेपालीहरूले खाना पकाउदै गर्दा नुन हाल्छन। तातोमा आयोडिन उडछ। यसले पनि आयोडिनको मात्रा कम हुन्छ।
कति चाहिन्छ आयोडिन ?
विश्व स्वास्थ्य सङ्गठनको न्युट्रेसन युनिटको मापदण्डअनुसार मानिसलाई कम्तीमा २५ देखि ५० पीपीएम आयोडिन अनिवार्य चाहिन्छ । त्यसका लागि एक व्यक्तिले पाँचदेखि १० ग्रामसम्म आयोडिनयुक्त नुन प्रयोग गर्नुपर्छ ।
सङ्गठनले मानवमा आयोडिनको कमी वा बढी के रहेको छ भन्ने मापनका लागि नुन वा आयोडिन रहेका अन्य तत्त्वको उपभोगलाई भन्दा मानवको पिसाब परीक्षणलाई मान्यता दिएको छ ।
त्यसै आधारमा नेपालीको पिसाब परीक्षण गर्दा आयोडिनको मात्रा कमी भएको पाइएको चिकित्सक संघको जर्नल जेएनएमए भोल्युम ५ (इस्यु २४२ अक्टोबर २०२१) मा उल्लेख गरिएको छ ।
विद्यार्थीमा गरिएको अध्ययनले विद्यालयका बालबालिकाको पिसाब परीक्षण गर्दा आयोडिनको मात्रा अपर्याप्त रहेको पाइएको थियो ।
पिसाबमा आयोडिनको मात्रा कम भएका विद्यालयका बालबालिकाबाट संकलन गरिएका ४६ नमुनामध्ये २२।२ प्रतिशत नमुनामा १५ पीपीएमभन्दा कम आयोडिन पाइएको थियो ।
जनस्वास्थ्यविद् आनन्दबल्लभ जोशीलगायतको टोलीले गरेको अनुसन्धानमा विद्यालयका बालबालिकालाई आयोडिनको कमीले समस्या हुने जोखिम रहेको सम्भावना देखाएको थियो ।
उक्त अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट स्वीकृति प्राप्त गरेपछि २०१९ अप्रिलदेखि जुलाई २०१९ सम्म पिसाबमा अनुसन्धान गरिएको थियो ।
नेपालमा ५० पीपीएम आयोडिनलाई मान्यता दिइएको छ । सङ्गठनको न्युट्रेसन युनिटको मापदण्डअनुसार मानिसले कम्तीमा २५ देखि ५० पीपीएम आयोडिन अनिवार्य चाहिन्छ ।
आयोडिन बढी हुँदा थाइराइड हुँदैन
वरिष्ठ थाइराइड विशेषज्ञ डा. ज्योति भट्टराईले आयोडिन बढी भएर भन्दा पनि कम भएर मानिसलाई असर गर्ने बताएका छन । उनले पहिले–पहिले आयोडिन कमी भएर गलगाँड र सुस्त मनस्थिति भएको बच्चा जन्मिने गरेको जानकारी दिँदै त्यो अवस्था आउन नदिनलाई आयोडिनयुक्त नुनलाई प्रश्रय दिनुपर्ने बताए ।
उनले अझै पनि कतिपय गाउँमा गलगाँड भएका मानिस रहेको भन्दै ती व्यक्तिमा आयोडिनको मात्रा नपुगेको बताए ।
नुनमा आयोडिनको मात्रा बढी देखायो भन्नुको अर्थ नुनमा आयोडिन हाल्ने कार्यक्रम भएको रहेछ भनेर बुझ्नुपर्ने उनको भनाइ छ ।
आयोडिनले खराब गरयो भन्ने सूचना बाहिर ल्याउनु गलत भएको डा. भट्टराईले बताए । “ नियमन सरकारले गर्नुपर्छ, नुनको बजारीकरण वा व्यापारले होइन,”। भट्टराईले भने– “आयोडिन पुगेन भने सुस्त मनस्थिति र गलगाँडजस्ता रोग देखापर्छन् ।” नुनमा मिसाइएको आयोडिन भण्डारण गर्दा उडेर जान्छ, पकाउँदा त्यसको मात्रा घट्ने अवस्था रहने भएकाले आयोडिनले थाइराइड गराउन सक्ने भन्दै अहिले प्रचार भएजस्तो आयोडिनको मात्रा बढी नभएको उनको भनाइ रहेको छ ।
नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले नुनमा आयोडिन थपेर राखेको हुने र खुला नुनमा आयोडिन नहुने बताए । अधिकारीले नुनको प्याकेट एक केजी बनाउनुका कारण पनि नुन खाएर छिटो सकियोस् र आयोडिनको मात्रा पुगोस् भनेर बनाइएको बताए ।
अधिकारीले आयोडिन नुनलाई छोपेर राखेको छैन भने त्यसभित्र भएको आयोडिन सकिँदै जाने र आयोडिन नपुग्ने हुन्छ ।
दैनिक पाँचदेखि १० ग्राम नुन प्रयोग गर्न सकिने उनको सुझाव छ । नुनको मात्रा बढी खाने भएकाले अलिकति धेरै नुन खाइन्छ कि भनेर सचेत गराइएको मात्र हो।
“नुनमा भएको आयोडिन बढी भयो भने यसले कुनै गलगाँड निकाल्दैन । समस्या भनेको कम आयोडिनको हो, बढी आयोडिनको समस्या हुँदै होइन ।” उनले भने।
साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले नुनमा आयोडिनको मात्रा साल्ट ट्रेडिङले मिलाउने नभई सरकारले त्यसको मापदण्ड तोकिदिने बताइन । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सरकारको मापदण्ड अनुसार नेपालको नुनमा ५० पीपीएम आयोडिनलाई मान्यता दिएको बताइन।























