निर्वाचनका गतिविधि प्रभावकारी रुपमा सम्प्रेषण गर्न आयोगको आग्रह
काठमाडौँ– निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले वैशाख ३० गतेको आसन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ सफल बनाउन सरकारी सञ्चार माध्यमको प्रभावकारी भूमिका निर्वाहका लागि निर्देशन दिनुभएको छ ।
सरकारी सञ्चार माध्यमका प्रमुख तथा
सम्पादकहरूसँग आइतबार आयोगमा छलफल गर्नुहुँदै उहाँले सो निर्देशन दिनुभएको हो ।
मतदानको दिन आउन अब केही दिन मात्र बाँकी रहेका बेला मतदातामा सही तथा सत्यतथ्य सूचना प्रवाह गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । मतदातालाई उत्साहित गर्ने र मत बदर हुन नदिनेगरी सञ्चारमाध्यममा सूचना प्रवाह गर्न उहाँले आग्रह गर्नुभयो ।
निर्वाचनका विषयमा केही समस्या र परिमार्जन गर्नुपर्ने विषय भए आयोगलाई तत्काल जानकारी
गराउन पनि उहाँले आग्रह गर्नुभयो ।
आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनलाई सफल बनाउन सरकारी सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने बताउनुहुँदै बाँकी यस अवधिमा बढीभन्दा बढी निर्वाचनसँग सम्बन्धित समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । मतदाताका लागि सही र सत्यतथ्य समाचार प्रवाह भएमात्र मतदाताहरु लाभान्वित हुने उहाँले चर्चा गर्नुभयो ।
छलफल कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण हुने विज्ञापन मार्फत आचारसंहिता उल्लङ्घन भए नभएको बारे बोर्डले अध्ययन गरिरहेको बताउनुभयो ।
निर्वाचन सफल बनाउन निजी मिडियाको पनि ठूलो भूमिका रहने हुनाले थोरै भए पनि विज्ञापन उपलब्ध गराउन सके निजी मिडियालाई पनि राहत हुने उहाँले सुझाव दिनुभयो ।
छलफल कार्यक्रममा नेपाल टेलिभिजन, गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस) तथा निर्वाचन आयोगका प्रतिनिधिहरूको सहभागिता थियो ।


























