citizens life insurance long ad

रसुवागढी नाकाबाट नौ महिनामा १९ लाख ८५ हजार रुपैयाँको छुर्पी आयात

Nimb long ad
Prabhu Insurance Long Ad

रसुवा । रसुवागढी नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा आठ टनभन्दा बढी छुर्पी आयात भएको छ । आर्थिक वर्षको साउनदेखि चैतसम्ममा तीन सय १३ टन खाद्य सामग्री आयात भएकोमा आठ टनभन्दा धेरै चिनियाँ छुर्पी आयात भएको हो ।

नौ महिनामा १९ लाख ८५ हजार ६ सय रुपैयाँ बराबरको छुर्पी आयात भएको हो । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाका अनुसार पछिल्लो समय छुर्पीको आयात बढ्दै जान थालेको छ ।

यस अवधिमा सबैभन्दा बढी फल तथा सागपातजन्य सामग्रीको आयात बढी भएको छ । यसमा सोया सस र अचार ९२ टनभन्दा धेरै आयात भएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार फूल तथा सागपातजन्य ९२, खाद्यान्न दलहन तथा अन्य ३७, मसलाजन्य झन्डै १५, मासुुजन्य २५, दुग्धजन्य आठ, चिया तथा कफीजन्य झन्डै साढे ३८, माछाको अचार १४ टन तथा बदाम, सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेस्ट, डोमा लगायतका ७७ टनभन्दा धेरैसामग्री आयात भएको हो ।

चीनबाट सोया सस, भिनेगर, अचार, पिठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेस्ट, चामल आदि सामग्रीको आयात हुने गरेको छ । नाकाबाट खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी हुने गरेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा गएको वर्षको तुलनामा खाद्य सामग्रीको आयात बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताउनुभयो । अहिले एकद्वार प्रणाली लागू भएपछि इर्पोट पर्मिट नलिएकाहरूको प्रणालीले नै भन्सार गर्न नमिल्ने भएकाले परीक्षण गर्नेको सङ्ख्या पनि बढेको हो ।

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ । कार्यालयका अनुसार साउनदेखि चैतसम्ममा कार्यालयले दुई सय ९७ थान खाद्य सामग्रीको नुमना परीक्षण गरेको छ ।

गएको वर्ष एक वर्षमा दुई सय तीन थान सामग्रीको मात्र परीक्षण भएको थियो । कार्यालयले साउनमा ३१, भदौमा २८, असोजमा ३५, कात्तिकमा ६, मङ्सिरमा २८, पुसमा २५, माघमा ४६ र फागुनमा ७१ थान खाद्य सामग्रीको नमुना परीक्षण गरेको हो ।

आएका सामग्री सबै मापदण्ड अनुसारका छन् । ‘कार्यालय स्थापनाको समयमा मापदण्ड पूरा नभएका खाद्य सामग्रीसमेत आउँथे’, खाद्य अनुसन्धान अधिकृत देउजाले भन्नुभयो, ‘अहिले गुणस्तरहीन सामग्री आएको छैन ।’

गएको आर्थिक वर्ष २०७७/७८ मा दुई सय सात टन चिनियाँ खाद्य सामग्री आयात भएको कार्यालयको तथ्याङ्क छ । कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ ।

कोभिड–१९ भन्दा पहिले दैनिक दुई सय ५० भन्दा बढी गाडी आवतजावत गर्ने गरेका थिए । तर अहिले दैनिक १४ वटा चिनियाँ गाडी सामग्री लिएर आउने गरेका छन् ।

IME Lifesidebar
kumari