नेपाल टेलिकमको महाप्रबन्धकमा पौडेल नियुक्त
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । २०७८ चैत २४ गते बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकका रूपमा काम गरिरहेका पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएका हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन जनाको सुचीमा संगीता पहाडी, बुद्धि आचार्य र पौडेलको नाम सिफारिस गरेको थियो । यी नामबाट सरकारले पौडेललाई छनोट गरेको हो। टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएसँगै पौडेलले अब राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक पदबाट राजीनामा दिने छन।
करिव १९ वर्षअघि काठमाडौं इन्जिनियरिङ कलेजबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका पौडेलले सन् २००८ मा दक्षिण कोरियाबाट ग्लोबल आईटी टेक्नोलोजी प्रोग्राममा एमएससी पास गरेका थिए ।
त्यस अघि नै सन् २००४ मा उनले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कम्प्युटर इन्जिनियरको रुपमा प्रवेश गरेका थिए ।
त्यसपछि सन् २०१२ मा केन्द्रको सहायक निर्देशक बनेका उनले सन २०१७ मा उप निर्देशक हुँदै अगस्ट २०१८ देखि कार्यकारी निर्देशकको रुपमा कार्य गरेका थिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको केन्द्रको प्रमुख कार्यकारीको रुपमा ३ महिना कार्यअवधि बाँकी छँदै उनी मन्त्रालय अन्तर्गतकै नेपाल टेलिकमको प्रबन्ध निर्देशकको प्रमुखमा नियुक्त हुन सफल भएका छन् ।
























