विमानस्थलका प्रहरीलाई सुधार्न तालिम !
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन गर्न त्यहाँ कार्यरत प्रहरीलाई तालिम दिन सुरु गरेको छ । विमानस्थलमा खटिने प्रहरीहरूले यात्रु र यात्रुका आफन्तहरूसँग राम्रो व्यवहार प्रदर्शन नगरेको,यात्रुलाई सहयोग नगरेको,उल्टै दुस् ख दिएर घुस खान खोजेको गुनासो बढन थालेपछिअव्यवहारिक, रूखा,ठाडा, कठोर व्यवहारका र घुस्याहा प्रहरीलाई तालिम दिन थालिएको छ।
उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ । प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार र प्रहरी जवान सहभागी भएका छन् । विमानस्थलमा आउने सेवाग्राहीलाई शिष्ट, सभ्य र नम्र व्यवहार प्रदर्शन गरी यात्रुमैत्री सेवा प्रदान गर्नका लागि गत चैत्र २२ गते मंलबारदेखि प्रशिक्षण थालिएको विमानस्थल प्रहरीले जनाएको छ ।
समस्यामा परेका यात्रुलाई आवश्यक सहयोग प्रदान गर्न र हवाई यात्रुलाई सुरक्षाको प्रत्याभूति दिलाएर सुरक्षित गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम थालिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिएका छन ।
यसबाट अन्तर्राष्ट्रिय जगत र विदेशी नागरिकमा समेत नेपाल प्रहरीको छवि उच्च हुने एसएसपी ढकालले बताए । कतिपय अवस्थामा सुरक्षाकर्मीको व्यवहार रुखो,असहयोगी,स्वार्थी,घुस्याहा हुने गरेको भनेर आलोचना खेप्दै आएका बेला उक्त कार्यक्रम फलदायी हुने विश्वास गरिएको छ ।























