stcnepal long ad
ime life insurance
national life
global ime bank long

अर्थतन्त्र बलियो बनाउने प्रयास भइरहेको छ :  मन्त्री शर्मा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

ललितपुर ।  दुई वर्षदेखि कोभिड–१९ ले थलिएको देशको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको अर्थमन्त्री जनार्दन शर्माले बताउनु भएको छ । अर्थमन्त्री शर्माले ललितपुर उद्योग वाणिज्य सङ्घको ५५ औँ स्थापना दिवसका अवसरमा  देशको अर्थतन्त्र बलियो बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।

बैंकको ब्याज दरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको छलफल सुरु गरिरहेको मन्त्री शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सांस्कृतिक सहर ललितपुरमा निर्माण भएका मूर्तिलगायतका साथै वास्तुकलाको समेत प्रवर्द्धन गर्ने योजना छ ।’ उहाँले कार्यक्रममा उपस्थित व्यवसायीसँग सल्लाह तथा सुझावसमेत माग्नुभयो । युक्रेन र रुसबीचको युद्धका कारण देशमा ठूलो असर परिरहेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले ३५ वर्षअघि यस क्षेत्रमा लागि पर्दा अहिलेको जस्तो अर्थतन्त्रको एकदमै नाजुक अवस्था यसअघि कहिल्यै पनि नदेखेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले देशमा तरलताको समस्या गम्भीररूपमा बढ्दै गइरहेको छ ।

समस्या समाधान नगर्ने हो भने अर्थतन्त्रमा अझै ठूलो चुनौती थपिएर व्यवसायी मात्रैलाई होइन समस्त नेपालीकै जीवनमा प्रभाव पार्ने देखिन्छ, ध्यान दिन जरुरी छ ।’ अर्थतन्त्रको जटिल अवस्था ध्यानमा राखी सरकारले नेपालमा पर्यटकलाई खुलेर स्वागत गर्नुपर्ने बेला भएको उहाँको भनाइ थियो ।

सांसद नवराज सिलवालले अर्थतन्त्रको अवस्थाबारे छलफल गर्नु आवश्यक भएको बताउनुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पाटनमा रहेको देव भीमसेन मन्दिर पुनर्निर्माणमा आफूहरूले सरकारसँग एक पैसा नलिइ सम्पन्न गर्न सफल भएकामा खुसी व्यक्त गर्दै त्यो ठाउँमा रहेका विभिन्न मूर्त तथा अमूर्त सम्पदा प्रवर्द्धनका लागि पर्यटकको बसाइँ लम्ब्याउन जरुरी भएको बताउनुभयो ।

सङ्घका पूर्वअध्यक्ष शैलेन्द्रलाल प्रधानले हरेक वर्ष देशमा पाँच खर्ब रुपैयाँको अवैधानिकरूपमा कपडा व्यापार हुने गरेको उल्लेख गर्दै त्यो नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्ने औँल्याउनुभयो । सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले ललितपुरभित्र उत्पादन भएका र हुने गरेका थुप्रै वस्तु निर्यातमा सरकारले जोड दिएर देशकै सिङ्गो अर्थतन्त्रमा टेवा पुर्‍याउनसक्ने भनाइ राख्नुभयो ।

कार्यक्रममा २५ वर्ष निरन्तर सङ्घको सदस्य भएका व्यक्तिलाई प्रशंसापत्र वितरण गरिएको थियो । यस्तै नेपालको संस्कृति र साहित्यमा योगदान पुर्‍याउने व्यक्तिलाई समेत सम्मान गरिएको थियो । रासस

IME Lifesidebar
kumari