एक लाख म्यादी प्रहरीको भर्ना खुल्यो
काठमाडौं । प्रहरी प्रधान कार्यालयले स्थानीय निकायको निर्वाचनका लागि एक लाखको संख्यामा म्यादी प्रहरी भर्नाका लागि सूचना जारी गरेको छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको प्रहरीले जनाएको छ।
सूचना अनुसार म्यादी प्रहरीका लागि चैत्र ६ गतेदेखि चैत्र ११ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । यस्तै कुनै नैतिक पतन नदेखिएको र फौजदारी अभियोग नलागेको हुनुपर्नेछ ।
१८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्ने छन्। प्रहरी जवान सरह स्वास्थ्य मापदण्ड भएकाहरुलाई भर्ना हुनका लागि योग्य मानिएको छ ।
देशभर रहेका ७७ वटै जिल्ला प्रहरी कार्यालय तथा म्यादी प्रहरीमा भर्ना हुनका लागि सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिने छ । पुर्व प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेनाका निवृत्तिभरण प्राप्त गरेका वा विगत एक वर्षमा यी तिनवटै सुरक्षा निकायमा परीक्षा दिएर शारीरिक तन्दुरूस्ती परीक्षा उत्तीर्ण गरेकाले प्रवेशपत्र सहित आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
म्यादी प्रहरीले प्रहरी जवान सरह सुविधा पाउने छन्। छनौट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी रहेको छ।


























