stcnepal long ad
ime life insurance
national life
global ime bank long

रुसमा इन्धन संकट गहिरिँदै, पेट्रोल पम्पमा लामो लाइन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

विश्वका प्रमुख तेल उत्पादक राष्ट्रमध्ये एक रुसमा पेट्रोल र डिजेलको अभाव चुलिँदै गएको छ । राजधानी मस्कोसहित विभिन्न सहरका पेट्रोल पम्पमा सवारीसाधनको लामो लाइन देखिन थालेको छ भने धेरै स्थानमा इन्धन सकिएपछि पम्प नै बन्द भएका छन् ।

सर्वसाधारणले घण्टौँ लाइन बसेर इन्धन भर्नुपरेको अवस्था छ । कतिपय क्षेत्रमा सीमित परिमाणमा मात्र इन्धन वितरण गरिएको छ भने कन्टेनरमा इन्धन बिक्रीसमेत रोकिएको छ ।

स्थानीय बासिन्दाका अनुसार स्थिति दिनप्रतिदिन जटिल बन्दै गएको छ । मस्कोका स्थानीय पेट्रोलको मूल्य बढ्दै गएको र लामो यात्रा गर्नसमेत कठिन भएको बताएका छन् ।

युक्रेनका ड्रोन र क्षेप्यास्त्र आक्रमणले तेल प्रशोधन उद्योग प्रभावित भए पनि समस्या त्यसमा मात्र सीमित नरहेको र तयारीको कमी पनि जिम्मेवार रहेको स्थानीयले बताएका छन् ।

युक्रेनसँगको युद्ध पाँचौँ वर्षमा प्रवेश गरिसकेको अवस्थामा त्यसको प्रत्यक्ष असर अहिले रुसभित्र देखिन थालेको विश्लेषण गरिएको छ । पछिल्ला महिनाहरूमा युक्रेनी ड्रोन र क्षेप्यास्त्र आक्रमणले रुसका तेल प्रशोधन केन्द्रलाई लगातार निशाना बनाइरहेका छन् ।

यसैबीच सरकारले अन्य देशबाट इन्धन आयात बढाउने, मूल्यमा अनुदान दिने तथा कम गुणस्तरको इन्धन बिक्री गर्न अनुमति दिने निर्णय गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका आक्रमणले समस्या सिर्जना गरेको स्वीकार गरे पनि अवस्था गम्भीर नभएको दाबी गरेका छन् ।

यद्यपि आर्थिक सूचकहरूले सरकारमाथिको दबाब बढ्दै गएको संकेत गरेका छन्। स्वतन्त्र सर्वेक्षण संस्थाहरूका अनुसार राष्ट्रपति पुटिनप्रतिको जनविश्वास र लोकप्रियतामा गिरावट आएको छ भने देश सही दिशामा अघि बढिरहेको विश्वास गर्ने नागरिकको संख्या पनि घटेको छ ।

अर्थविद्हरूले इन्धन संकट लामो समयसम्म कायम रहे यसले रुसको आर्थिक वृद्धिदरमा ठूलो असर पार्ने चेतावनी दिएका छन् । तर अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइमा जनअसन्तुष्टि बढे पनि त्यसकै कारण पुटिनले युद्धसम्बन्धी आफ्नो नीति तत्काल परिवर्तन गर्ने सम्भावना भने कम देखिन्छ ।

IME Lifesidebar
kumari