एनआरएनए टुक्रिने
अमेरिका । गैर आवासिय नेपाली संघ (एनआरएनए) विभाजन हुन सक्ने गम्भीर मोडमा पुगेको छ । औपचारिक रुपमै एनआरएनए फुट्ने अवस्था पुगेको छ, पुर्व अध्यक्षहरूले हस्तक्षेप गरि विभाजन रोकेनन भने एनआरएनए एक ढिक्का रहन्छ भन्ने कुरामा शंका व्यक्त गर्न थालिएको छ ।
विदेशमा सिकेको ज्ञान र शिप तथा आर्जेको पूँजी नेपालमा लगानी गर्ने भन्ने पवित्र उदेश्यले खोलिएको एनआरएनए अहिले आफ्नो संगठन आफै चलाउन नसक्ने अवस्थामा पुगेर परराष्ट्र मन्त्रालय र अदालत सम्म गुहार्न पुगेको छ,सामाजिक सञ्जाल भरि वर्तमान अध्यक्ष कुमार पन्त र पुर्व अध्यक्ष शेष घलेलाई एनआरएनए विभाजन गर्न खोजेको आरोप लाग्न थालेको छ ।
एकले अर्कोलाई सके सम्म खुइल्याउने अभियान चलेको छ । यी दुई पुर्व नेपालीले विदेशमा पनि नेपाली स्वभाव देखाएर झगडा गर्दै एनआरएनए फुटाउन लागेका छन। नेपाल छाडेर विदेश आएपनि यी दुबै नेपालीमूलका विदेशीले नेपाली बादरको स्वभाव देखाएका छन।
शरीर विदेशमा भएपनि यिनीहरूको मनमस्तिस्क र स्वभाव नेपाली नै रहेछ भन्ने कुरा यतिवेला पुष्टि भएको छ। के अब यिनीहरूले आफ्नो स्वभाव अनुसार विदेशी नागरिकता र व्यापार व्यावसाय त्यागेर नेपाल जान सक्लान भन्ने चर्चा पनि विदेश र नेपालतिर हुन थालेको छ।
स्थापनाको दुई दशक हुनलाग्दा एनआरएनए अभियानलाई नै धक्का लाग्ने अवस्था आउनुमा मुख्य कारणमा एउटा माथि जान लाग्यो भनेर अर्कोले खुट्टा तान्ने नेपाली प्रवृत्ति नै हो, यसमा यही व्यक्तिगत इगोले काम गरेको छ । संस्थापन पक्ष जसरी पनि पदमा टिकिरहने र नयाँ सक्षम व्याक्तिलाई नेतृत्वमा आउनै नदिन उदत्त रहेको छ । अर्को पक्ष पदमा नपुगि नछोड्ने अठोटमा रहेको देखिन्छ ।
संस्थापक तथा पूर्व अध्यक्षहरुको आआफ्नै स्वार्थ छ । बैदेशिक जीवन प्रायस् छोडेर विगत १० बर्ष देखि निरन्तर नेपालमा बस्दै आएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले एनआरएनएमा अझै पनि हस्तक्षेपकारी भूमिका खेल्दै आएका छन् ।
पूर्व अध्यक्षहरु जीवा लामिछाने र शेष घले बीच एनआरएनएमा को हावी हुने भन्ने प्रतिस्पर्धा देखिएको छ । वर्तमान अध्यक्ष कुमार पन्तको अपरिपक्क निर्णय अर्को प्रमुख कारण बनेको छ । शेष घले र डा।बद्री केसी बीच टसल देखिएको छ ।
एनआरएनए आइसीसीको विवादलाई उल्झाउनमा एनसीसी अमेरिकाको खिचातानीले पनि मलजल गरेको बताइन्छ । अमेरिकामा रहेका केही स्वघोषित नेता मध्ये को ठूलो कांग्रेस नेता भन्ने इगो र एकले अर्कोलाई देखाइदिने भन्ने होडबाजीले एनआरएनए डुव्न लागेको छ ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, पूर्व संयोजक बिष्णु सुवेदी, संस्थापक महासचिव कृष्ण लामिछाने, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री डा. यादव पण्डित, पेट्रोल पम्प व्यवसायी हरिबोल भण्डारी, डा. केशव पौडेल,प्रमोद सिटौला र गौरी जोशीहरु बीचको इगोमा अमेरिकाको एनआरएनए घनचक्करमा परेको छ । जोशी कांग्रेससँग आफु अनुकुल जोडिने गर्छन ।
नेपाली जनसम्पर्क समिति अमेरिका स्थापना नै विवादित बन्दै आएको छ । जसको साइड इफेक्ट एनआरएनएमा पनि देखिएको छ । जनसम्पर्क समितिको सन् २०१४ मा टेक्सासमा सम्पन्न अधिवेशनले आनन्द विष्टलाई अध्यक्ष चुनेको थियो,त्यो बेला बिष्णु सुवेदी पराजित भएका थिए ।
त्यसपछि यी दुई समुहको गुट उपगुटकै वरिपरि अमेरिकाको एनआरएनएले चक्कर लगाइ रहेको छ । अमेरिकामा कांग्रेसीहरु आफूआफैमा मारामार गर्दा अल्पमतमा रहेका नक्कली कम्युनिस्ट विचार राख्नेहरू एक पछि अर्को खुड्किलो चड्दै गएका छन् । उनीहरू पुँजीवादी देश अमेरिकामा बसेर सबै आचरण र प्रवृत्ति पुँजीवादी बोकेर नेपाल जादा र नेपालका कम्युनिष्ट नेता यता घुम्न आउदा मात्र कम्युनिष्ट बन्छन।
लोकतान्त्रिक पार्टीको विदेश स्थित भातृ संगठनको अधिवेशन आठ बर्ष देखि हुन सकेको छैन । सन् २०१४ यता एनआरएनएले पाँच अध्यक्ष निर्वाचित गरिसक्यो तर विष्ट उत्तर कोरिया, क्युवा, चीन, कर्णेल गद्दाफी र रूसका पुटिलकै शैलीमा अध्यक्षमा अझैसम्म पदासिन छन् । जनसम्पर्क समितिको नेतृत्व ट्रयाकमा रहदै सबैलाई समेटन् सकेको भए वर्तमान परिस्थितिमा फरकपन आउदथ्यो ।
टेक्सास अधिवेशन पछि उत्साहित विष्ट समुह एनआरएनएमा पनि पकड जमाउन चाहान्थो । खगेन्द्र जिसी मार्फत विष्ट पक्षले एनआरएनए अमेरिका पनि कब्जा गर्ने प्रयास गरेको थियो। तर जिसीले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) मा एकै पटक ठूलो पद खाने लोभ राखे,जसले विष्ट पक्षको योजना तुहियो र बिष्णु सुवेदी समुह एनआरएनएमा हावी भयो । त्यसपछि जनसम्पर्क र एनआरएनए एक अर्काका दुस्मन जस्तै गरि अगाडि बढेका छन् ।
शिवकुमार राईले कोठामा खुम्चिएको एनआरएनए अमेरिकालाई खगेन्द्र जिसीले बाहिर निकालेका थिए । जिसीले दोस्रो कार्यकाल निरन्तरता दिन नमानेपछि विष्ट समुहले नागेन्द्र पौडेललाई र सुवेदी समुहले डा. केशव पौडेललाई बोक्यो ।
डा. केशव पौडेलले न्यूयोर्क वरपर रहेको एनआरएनएलाई अमेरिका भर फैलाएका थिए। तर एनआरएनए जति जति फैलिदै गयो त्यति नै विवाद थपिदै गयो । शुरुमा डा. केशव पौडेल दोस्रो कार्यकाल दोहोर्याउन चाहादैन थिए ।
उनले आफैले सल्लाहाकार बनाएका गौरी जोशीलाई अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । धनाढयलाई नेतृत्वमा ल्याउन डा. यादव पण्डित, बिष्णु सुवेदी र हरिबोल भण्डारी राजी भए । तर टेक्सासकै कृष्ण लामिछानेको कडा विरोध पछि सुवेदी समुहको योजना भताभुङ्ग भएको थियो ।
नेपाली समाज टेक्सासको निर्वाचनमा विजय भट्टराईलाई सहयोग गरेर आफुलाई हराउन खोजेको भन्दै लामिछानेले जोशीको विरोध गरेका थिए । कम्युनिष्टलाई बोक्ने जोशीलाई कांग्रेसले कसरी टिकट दिन मिल्छ रु भन्ने लामिछानेले प्रश्न गरेका थिए ।
जोशीले उपाध्यक्षको प्रस्ताव अस्वीकार गर्दै आफ्नै टिम बनाए । जोशीलाई विधानले अध्यक्ष बन्न दिदैन भन्ने प्रचार गरियो, लामो बहस भयो, उनी अदालत गए, लामिछानेले जोशीको उग्र विरोध गर्न छोडेनन । जोशीको व्यापारिक पोल खोलिदिने र उल्टो मुद्दा दिने धम्की दिए ।
कालन्तरमा उनै लामिछाने जोशी पक्षमा लागे र पछिल्लो पटक बुद्वि सुवेदीसँग चुनाव हारेका थिए । डा. पौडेल र जोशी बीचको दुरी बढ्दै गयो । अमेरिकामा रहेको नेपाली समाज ध्रुर्विकरण भयो । जोशी नभए एनआरएनए नै चल्दैन भन्ने समेत देखिए । विवाद सल्टाउनुको साटो चर्कदै गयो । केही झगडा मिलाएको जस लिने होडमा लागे । अर्काथरी आर्थिक लाभको हिसाबकिताब गर्न थाले ।
त्यही समयमा नक्कली कम्युनिष्ट कुमार पन्तको प्रवेश भयो । उनकै रोहवरमा सिकागो सम्झौतापछि जोशीले अदालतबाट मुद्दा फिर्ता लिए । कालन्तरमा डा. पौडेलसँगको व्यापारी साझेदारी तोडे र अलग बाटो रोझ्न पुगे । परिस्थिति यति सम्म पुग्यो कि एनआरएनए आइसीसीको नेतृत्व हाक्छु भन्नेहरु जोशी र पौडेल गुण्डागर्दीको शैलीमा सार्वजनिक कार्यक्रममै हातपातमा उत्रिए । यसको फाइदा आइसीसीले लियो । अमेरिकामा रहेका कांग्रेसीलाई फुटाउ र राज गर भन्नेमा आइसीसी नेतृत्व सफल भयो । घरको झगडामा आइसीसी गुहार्ने क्रम अझै रोकिको छैन ।
एनआरएनएमा एउटा उचाइमा पुरयाएका डा. पौडेललाई अमेरिकाको अध्यक्ष दोहोर्याउनु महङ्गो सावित भयो । पहिलो धनाढय जोशी आफ्ना स्थायी प्रतिस्पर्धी बने । अर्कोतर्फ आफ्नै उपाध्यक्ष रविना थापा र कृष्ण पोखरेल लगायतसँग चुनाव लड्नु पर्यो । उता अमेरिकाको अध्यक्ष हुन अयोग्य भनिएका जोशी अमेरिकाज क्षेत्रको संयोजक बने ।
जोशीले पौडेलका विरोधी र असन्तुष्टलाई समेट्दै आफ्नो समुह बलियो पार्न थाले । धन देख्दा महादेवको तीन नेत्र भन्ने बुझेका जोशीले आफ्ना कटु विरोधी कृष्ण लामिछानेलाई आफ्नो विश्वासप्राप्त कार्यकर्ता बनाउन सफल भए ।
सधै आपसमा शत्रुताको व्यवहार गर्दै आएका आनन्द विष्ट र बिष्णु सुवेदी समेत पछिल्लो समय जोशीको छत्र छाँयामा अटाएका छन् । आनन्द विष्टले जनसमपर्क समितिको निर्वाचन नै गराएनन । राजनीतिक भूमिकाको खोजिमा रहेका बिष्णु सुवेदीले विश्व सन्जालको अवधारणा ल्याए । त्यही क्रममा डेनमार्कको कोपेनहेगनमा विश्वभरी छरिएका कांग्रेसीहरुको भेला गराए ।
तत्कालिन उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा।शशांक कोइराला र प्रवक्ता विश्वप्रकाश शर्मा समेतको उपस्थितिमा भएको भेलामा एनआरएनए आइसीसीमा कांग्रेसी नेतृत्व ल्याउने छलफल भयो ।
एनआरएनएमा ७० प्रतिशत सदस्य कांग्रेसी रहेका छन तर नेतृत्व सदैव कम्युनिष्टहरूले हत्याउने गरेका छन,यसलाई तोड्नु पर्छ । त्यही क्रममा नेतृत्व लिने व्यक्तिको खोजि भयो । दृश्यमा आए तत्कालिन उपाध्यक्ष कुल आचार्य ।
शुरुमा कुल आचार्य नेतृत्वका लागि तयार थिएनन् । अमेरिकामा रहेका कांग्रेसीको झगडाको फाइदा उठाउदै उपाध्यक्षमा निर्वाचित आचार्य पुन सोही पद दोहोर्याउने तयारीमा थिए ।
विष्ट समुहका खगेन्द्र जिसीले दोस्रो पटक उपाध्यक्षमा उम्मेदवारी दिए पछि उनलाई रोक्न सुवेदी समुहले सोनाम लामालाई कांग्रेस प्रवेश गराएर उपाध्यक्षमा भिडाएको थियो ।
अमेरिकाबाट दुई उम्मेदवार हुदाँको फाइदा आचार्यलाई भयो । त्यो बेला सम्म आचार्य जीवा लामिछाने र कुमार पन्तकै छत्रछायामा थिए । कोपेनहेगन सम्मेलनको जोड्बल पछि मात्र आचार्य कुमार पन्तसँग भिड्न राजी भएका थिए ।
जनसम्पर्कमा पराजित भएपनि बिष्णु सुवेदी एनआरएनए अमेरिकाको राजनीतिमा केन्द्रमा नै थिए । तर डा। केशव पौडेलले अमेरिकाको नेतृत्व छोड्दै गर्दा सुवेदी समुहमा विभाजन आयो । पौडेलले नै एनआरएनएमा भित्राएका भनिएका सुर्य लम्साल, सुनिल शाह प्रतिस्पर्धी बने । बामपन्थीहरुको तर्फबाट सन्जय थापा प्रतिस्पर्धामा उत्रिए ।
बरिष्ठ उपाध्यक्षको कारण सुवेदी समुह विभाजित भयो । हरिबोल भण्डारी र प्रमोद सिटौलाले अमृत सापकोटालाई उचाले । डा. पण्डित र डा.पौडेल र डा. अर्जुन बञ्जाडेको पक्षमा देखिए । ‘पण्डित राजनीतिका खेलाडी नै हुन हामीले यस पटक सकेनौ तर यसको हिसाव आइसीसीमा हुन्छ ।’ सापकोटा हारे पछि प्रमोद सिटौलाले स्टाटस लेखेर आइसीसीमा बदला नै लिएका थिए।
संयोग मान्नु पर्छ कीआइसीसी अध्यक्षमा कुल आचार्य र उपाध्यक्षमा डा. केशव पौडेल पराजित भए । बिष्णु सुवेदी, हरिबोल भण्डारी र प्रमोद सिटौलाले धोका दिएको भन्दै उनीहरुले कित्ता काट गरे । कुल आचार्य समुहको मुख्य व्यक्ति को हुने भन्ने प्रतिस्पर्धामा पण्डित, सुवेदी र भण्डारीमा मतमतान्तर बढ्दा उनीहरु एकै समुहमा रहन सकेनन । कांग्रेस भएर कांग्रसी उमेदवार हराउन लागेको भन्दै सुर्यमुखी फुलको चर्चा गरियो ।
सहकर्मीहरुले प्रमोद सिटौलालाई महाभारतको सकुनी पात्रको रुपमा चित्रण गरे । हुन पनि उनका क्रियाकलाप समुह मिलाउने भन्दा पनि भड्काउने खालको थियो । जनसम्पर्क समितिको टेक्सास अधिवेशनमा बिष्णु सुवेदी पराजित हुनुको मुख्य कारण प्रमोद सिटौलाको चलखेल थियो।
‘यस पटकको एनआरएनए निर्वाचनमा कांग्रेसले कब्जा गर्नु पर्छ’ भनेर स्टाटस लेखेका सिटौलाले अन्तमा नक्कली कम्युनिष्ट कुमार पन्तलाई भोट हालेको आरोप लाग्दै आएको छ । यस पटक पनि सिटौला माथि आन्तरिक बैठकमा डा। बद्री केसी समुहको रणनीतिकार हुने तर बाहिर रविना थापाको प्रचारमा रहेको आरोप लाग्दै आएको छ । डा. केसीलाई जिताउन रविना थापालाई डमी उम्मेदवार बनाइएको हो भन्ने चर्चा पनि छ । तर सिटौला यी दुबै आरोप मान्न तयार छैनन् ।
अर्को गज्जव संयोग पनि हो । डा. पण्डित र डा।पौडेलद्वयले जसलाई बोक्यो अन्ततस् उही चरम विरोधी भएर निस्किएको इतिहास छन । शुरुमा गौरी जोशीलाई डा. पौडेलले सल्लाहकार राखे, अध्यक्ष बनाउन खोजे तर अहिले बोलचाल छैन । कृष्ण लामिछाने जसको कारण जोशीसँग डा। पौडेल र डा। पण्डितहरुको सम्वन्ध विग्रियो । अहिले तिनै लामिछाने जोशी तर्फ लागेर डा।द्वयहरुको खेदो खन्दै छन् ।
अर्जुन बज्जाडेको कारण बिष्णु सुवेदी समुह फुट्यो । उनी पनि अहिले दुई डा. पौडेल र डा. पण्डितको कित्तामा छैनन । बरू अमृत सापकोटाले डा.पौडेल र पण्डितहरुको खुलेर समर्थक गरेका छन् । सुनिल शाह आफै रनभूल्लमा छन् । कृष्णजिवि पन्तलाई टिममा राखेर उपाध्यक्षमा जिताए तर केन्द्रमा कुमार पन्तको भोटर बनेर फर्किए ।
टिमलाई सन्तुलित गर्दै सबैलाई समेटन नसक्नु तथा विरोधीलाई निर्मम प्रहार गर्ने शैली डा। पौडेल र पण्डितहरुलाई धातक बन्दै गएको छ । बिष्णु सुवेदी र उनीहरु एकै समुहमा रहदा जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट र महासचिव मुनिन्द्र नेम्वाङलाई एनआरएनएको प्रतिनिधि समेत बनाएनन् ।
कुल आचार्य र डा। केशव पौडेल सहितको कांग्रेस तर्फको ठूलो समुहले प्रतिनिधि छनौटको बैधानिकतामा प्रश्न उठाएर निर्वाचन प्रक्रिया बहिस्कार गर्दै गर्दा कांग्रेस भित्रकै केही व्यक्तिले रविना थापालाई अध्यक्षको रुपमा अगाडि सारेका छन् ।
आश्चर्य कुरा के भने रविना थापाको उम्मेदवारीलाई डा. बद्री केसी समुहले उत्साजनक रुपमा प्रचार प्रसार गरेको छ । सामान्यतया चुनावमा विपक्षी उम्मेदवारलाई कमजोर देखाउने, खोट लगाउने गरिन्छ । तर केसी समुहका केही व्यक्तिहरू रविनाको प्रचारमा लागेका छन् । बद्री समुहकै रणनीतिमा रविनाको उम्मेदवारी आएको पनि चर्चा छ ।
सबै भन्दा धेरै सदस्य भएको मुलुक भएर पनि अमेरिका एनआरएनए आइसीसीमा नेतृत्व दिन चुक्दै आएको छ । अमेरिकामा रहेका कांग्रेसीहरु बीचको प्रतिशोधको शिकार यस अगाडि खगेन्द्र जिसी भइसकेका छन् । रविना थापाको उम्मेदवारी किन भन्ने रहस्य पछि खुल्न सक्छ।
तर डा।केशव पौडेल र गौरी जोशीले सहकार्य गरेको भए दुबै जना आलोपालो आइसीसी अध्यक्ष हुन सक्षम हुन र सम्भव पनि थियो । अमेरिकामा रहेको नेपाली समाज यो हद सम्म विभाजित हुने थिएन । दुर्भाग्य एकले अर्कोलाई प्रतिस्पर्धी देखेका छन ।
दुबैका लागि अबको यात्रा झन् झन् कठिन हुने देखिन्छ । उनीहरुले आपसमा पाखुरा सुर्कदा विचौलियाले खेल्ने ठाँउ प्रशस्त पाएका छन । केहीलाई कमाउने माध्यम पनि भएको छ । अमेरिकालाई फुटाएर नेतृत्वमा आउन नदिनेहरु सफल हुने भएका छन् ।
आनन्द विष्ट, डा. यादव पण्डित,बिष्णु सुवेदी र हरिबोल भण्डारीको आपसमा चर्को प्रतिस्पर्धाले को ठूलो कांग्रेस बन्ने र आफुलाई शक्ति केन्द्र कसरी देखाउने भन्ने इगोले पनि जोशी र पौडेलको टकराव बढेको छ । प्रमोद सिटौला र कृष्ण लामिछाने भष्मासुर प्रवृति यसमा अर्को कारण छदैछ ।




















